बझाङ–चैनपुर साना सहरी खानेपानी आयोजनाको मुहान ट्यांकी नै सेतीको डुबानमा परेपछि योजनाको दिगोपनामा शंका उत्पन्न भएको छ । करिब २३ करोड लागतमा सदरमुकाम चैनपुर र आसपासका गाउँलाई खानेपानी उपलब्ध गराउन भन्दै निर्माण थालिएको खानेपानी योजनाको मुख्य संरचना सेतीले डुबाएको हो । सेती नदी छेउको भूमिगत पानीलाई तानेर चैनपुर, भोपुर र देवललगायतका ठाउँका १ हजार १ सय ६५ परिवारलाई खानेपानी सेवा दिने उद्देश्यले निर्माण थालिएको योजना सम्पन्न नहुँदै जोखिममा परेको हो ।

चैनपुरका लागी ४ लाख ५० हजार लिटर, भोपुर बस्तीका लागी ५० हजार लिटर, देवल रिठापाठाका लागी १ लाख लिटर गरी ६ लाख क्षमताका ट्यांकीबाट करिब ११ सय ६५ घरधुरीलाई पानी उपलब्ध गराउने योजनाको लक्ष्य छ । सेती नदीले धार परिर्वतन गरेपछि भोपुरस्थित सेनाको ब्यारेकनजिक निर्माण भएको मुहान ट्यांकी ९इन्टेक० सेती नदीको दुई भँगालोको बीचमा परेको छ । बाढीले इन्टेकबाट पानीलाई शुद्धीकरण गर्ने ट्यांकी (ट्रिटमेन्ट ट्यांक) सम्म र्पुयाउने १ सय २५ मिटर फलामे पाइप बगाएको योजनाका परामर्शदाता इन्टेक नेपालका मकरबहादुर स्वाँरले बताए ।

सेतीले परिवर्तन गरेको धारको कटानका कारण इन्टेकभन्दा केही माथि निर्मित खानेपानीको पम्प हाउस पनि जोखिममा परेको छ । साउन र भदौमा आएको बाढीपछि सेतीले धार परिर्वतन गर्दा मेनहोल कभरलगायत अन्य निर्माणस्थलमा रहेका सामान हराएकोले पुरिएको वा बगाएको हुन सक्ने ठेकेदार कम्पनीले जनाएको छ । उनले यसअघि नदीबाट हुने जोखिम नियन्त्रणको लागि योजनाको डीपीआरमा कुनै पनि प्रावधान नराखिएको र अहिले बाढीले क्षति भइसकेपछि ग्याविन जाली लगाएर तटबन्धन गर्ने तयारी गरिएको बताए । ‘प्रोजेक्ट रिभ्युका लागि पठाएका छौं । सपोर्ट स्ट्रक्चर (सहायता संरचना) निर्माणका लागि डीपीआर परिर्वतन गर्ने काम भइरहेको छ,’ उनले भने ।

चौथोपटक म्याद थपिँदै, लागत बढ्यो

साना सहरी खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण र ५ प्रतिशत उपभोक्ताको लगानीमा निर्माण हुन लागेको यो योजनाको समयमै काम सम्पन्न नहुँदा उपभोक्ता शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएका छन् । २०७६ वैशाखबाट निर्माण सुरु भएर १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम थालिएको यो योजना तेस्रोपटक थपिएको म्यादभित्र पनि सम्पन्न हुन सकेको छैन । कोरोना माहामारी, सेतीमा आएको बाढीले निर्माण कार्यमा अवरोध गरे पनि योजना समयमा नै सम्पन्न नहुनुमा ठेकेदार कम्पनीको ढिलासुस्ती पनि जिम्मेवार रहेको परामर्शदाता मकरबहादुर स्वाँरले बताए । ‘कोरोना र बाढीको कारण पनि योजना अवधि केही लम्बिएको हो,’ स्वाँरले भने, ‘अरू कारण जे भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती पनि यसमा जिम्मेवार छ । काम छिटो सुरु गर्नुर्पयो भनेर हामीले पटक–पटक दबाब दिइरहेका छौं । अब केही दिनमै सुरु गर्ने भनेको छ, हेरौं ।’

समयमै योजना सम्पन्न नहुँदा सदरमुकाम चैनपुरका बासिन्दालाई खानेपानीको हाहाकार छ । पानीको अभावका कारण सदरमुकामका बासिन्दाहरू सेती नदी र बाहुलीगाडको दूषित पानी पिउन बाध्य छन् । ‘बिहान सबेरैदेखि कसको धारामा पानी आयो भनेर छिमेकीका घर–घरमा पानीको खोजीमा धाउनुपर्छ,’ जयपृथ्वी नगरपालिका–१० चैनपुरको शान्तिमार्गकी कमला शाहीले भनिन्, ‘पानी आएका दिन एक गाग्री मुस्किलले भर्न पाइन्छ । नत्र सेती नदीको पानी खानुपर्छ ।’

पानी नियमित नआए पनि उपभोक्ता समितिले भने शुल्क लिन नछोडेको अर्का स्थानीय झलक ओखेडाले बताए । योजनामा उपभोक्ताको योगदान भनेर चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रतिपरिवार १६ हजार रकम उठाएको थियो । एक वर्षभित्रै घर–घरमा धारा आउने भनेर रकम उठाएको तीन वर्ष बित्न लाग्दा पनि पानी नपाएकोमा उपभोक्ता आक्रोशित छन् । ‘पानी आउँछ भनेर ऋण काढेर पैसा दियौं,’ जयपृथ्वी नगरपालिका–११, भोपुरका स्थानीय महादेव जोशीले भने, ‘अहिलेसम्म पानी आउने छाँटकाँट छैन । हामी ऋणको ब्याज तिरिरहेका छौं ।’
हालसम्म ७५ प्रतिशत मात्रै काम सम्पन्न भएकाले योजना निर्माण पूरा हुन अझै समय लाग्न सक्ने बताइएको छ । चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष लोकेन्द्र विष्टले योजना निर्माण प्रक्रिया ढिलोभएको र पटक–पटक म्याद थप गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुस