बैतडीमा मौरीपालन व्यवसायबाट कृषकहरू मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा आधुनिक र परम्परागत मौरीपालन व्यवसाय गरिरहेका किसानहरूको राम्रो कमाइ हुने गरेको हो । दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका वासुदेव भट्टले २०५९ बाट मौरीपालन गर्न सुरु गरेका थिए । १ घारबाट मौरी पाल्न सुरु गरेका उनीसँग अहिले ३ सय हाराहारीमा मौरीका घार छन् । उनी महसँगै मौरीको घार पनि बेच्छन् ।

मौरीपालनबाट हुने आम्दानीमा सन्तुष्ट रहेका भट्टले भने, ‘लगानी कम लाग्ने र आम्दानी धेरै हुने व्यवसाय हो यो ।’ घर खर्च गरेर वार्षिक ८ लाख बढी बचत हुने गरेको उनले बताए । धेरै मेहनत पनि गर्न नपर्ने व्यवसायबाट यति आम्दानी हुनु भनेको आफूहरूका लागि धेरै सहज काम भएको उनको भनाइ थियो । सोही ठाउँका सुदर्शन लेखकले मौरी पालन व्यवसाय गर्न थालेको २० वर्ष भयो । यो अवधिमा धेरै राम्रो कमाइ भएको उनले बताए । सुरुमा १ घारबाटै मौरीपालन सुरु गरेका उनीसँग अहिले १ सय घार मौरी छन् । खटिएर गर्न सक्ने हो भने मौरीपालन व्यवसायमा राम्रो भएको उनको अनुभव छ । सबै खर्च काटेर वार्षिक ४ देखि ६ लाखसम्मको फाइदा हुने गरेको उनले बताए । लगानी थोरै भए पनि आम्दानी धेरै हुने भएकाले मौरीपालन व्यवसायबाट किसानहरू खुसी रहेको उनको भनाइ थियो ।

गाउँमा प्रशस्त चिउरीका रूखहरू भएकाले कृषकलाई चरनको पनि समस्या छैन । उनीहरूले मौरी चराउनकै लागि गाउॅबाट अन्त लैजानुपर्ने अवस्था छैन । कृषक भट्टले भने, ‘गाउँ छोडेर धेरै मान्छे तराई झरेपछि गाउॅमा जंगल विस्तार भएको छ । मौरीका लागि उपयुक्त बोटबिरुवाहरू गाउँमै छन् । त्यसैले चरनका लागि समस्या छैन ।’

आफूहरूले यो वर्ष ३३ सय बोट चिउरीका वृक्षरोपण गरेको पनि उनले बताए । अहिले यो व्यवसायबाट आम्दानी राम्रो भएपछि गाउँमा एक सहकारी नै दर्ता गरेर मौरीपालन व्यवसाय सुरु गरेको उनले बताए । ४ सय ६८ जना सदस्य आबद्ध रहेको सहकारीका ४ सय कृषकले मौरीपालन व्यवसाय सुरु गरेका उनले बताए । मौरीपालन गरिरहेका सबै कृषकहरूले राम्रो आम्दानी गरिरहेका कृिष ज्ञान केन्द्र बैतडीले जनाएको छ । जिल्लामा ३ हजार ७५० आधुनिक मौरी घारहरू छन् । परम्परागत मुडे र खोपे घारहरू ८ हजार जति छन् । २३ सय कृषकहरूले परम्परागत रूपले मौरीपालन व्यवसाय गरिरहेका छन् । ४ सयले आधुनिक रुपमा व्यवसाय गरिरहेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

वार्षिक ४० टन परम्परागत घारबाट र २७ टन आधुनिक घारबाट मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए । ६५ देखि ७० टनसम्म जिल्लामा एक वर्षमा मह उत्पादन हुने गरेको उनले बताए । प्रतिकेजी १ हजारको दरले मह बिक्री हुने गरेको भन्दै उनले भने, ‘मह खपतका लागि समस्या भने छैन ।

उत्पादन भएको महभन्दा माग बढी नै हुने गरेको छ । मूल्य पनि राम्रो भएकोले कृषकहरूले आम्दानी मनग्य गरिरहेका छन् ।’ जिल्लाको दशरथचन्द नगरपालिकाको सदरमुकाम आसपासको क्षेत्र, दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकाको ढुंगाड क्षेत्रमा कृषकहरूले मौरीपालन व्यवसाय बढी गरिरहेका छन् । मौरीपालन व्यवसायतर्फ किसानहरू आकर्षित पनि भएको ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुस