सरकारले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो निर्देशन दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले पनि मुलुकमा उपलब्ध तथ्यांकका आधारमा ओमिक्रोनका कारण अत्यधिक बिरामी बढ्न सक्ने सम्भावना रहेकाले सबैलाई सजग रहन आग्रह गरेका छन् । बैठकले ओमिक्रोन भेरिएन्टका कारण हुन सक्ने चापलाई मध्यनजर गर्दै देशभरको स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन चुस्तदुरुस्त राख्ने निर्णय गरेको छ ।
परीक्षणलाई थप सशक्त बढाउने तथा पोजिटिभ आएकालाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने र भारतबाट प्रवेश गर्ने नाकाहरूमा अझै कडाइ, आइसोलेसन र होल्डिङ सेन्टरहरू व्यवस्थित गर्नेलगायत निर्णय भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले खोप लगाउने अभियानलाई तीव्रता दिने बताए । ‘माघ दोस्रो साताबाट खोपको बुस्टर डोज क्रमशः ज्येष्ठ नागरिक र क्वारेन्टिन हुँदै सबैका लागि अभियान सञ्चालन गर्नेछौं,’ उनले भने । कोभिड–१९ केन्द्रीय अस्पताल वीरमा भने जनशक्ति अभावमा ५ सय बेडको नयाँ सर्जिकल भवन पूर्ण रूपमा सञ्चालनमा आउन सकिरहेको छैन । अहिले १ सय ७० जना स्वास्थ्यकर्मीमात्र कार्यरत छन् । नर्समात्रै ४ सय जनाको आवश्यकता रहेको वीरका प्रमुख डा।भूपेन्द्रकुमार बस्नेतले बताए । ‘लोक सेवा आयोगबाट कर्मचारी पूर्ति गर्न पहल भइरहेको छ,’ उनले भने, ‘तत्काल नयाँ भेरिएन्ट फैलिएमा करारमा कर्मचारी लिएर भने पनि व्यवस्थापन गर्छौं ।’
मुलुकमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ भने कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल कोरोना संक्रमितले भरिसइकेको छ । नाकामा संक्रमित देखिएका सबैलाई यही अस्पतालको आइसोलेसनमा राखिएको छ । काठमाडौं उपत्यकाका अस्पतालहरूमा भने पर्याप्त ठाउँ छन् । सरकारले ओमिक्रोन भेरिएन्ट पुष्टि भएसँगै एस जिन स्क्रिनिङ ९नयाँ भेरिएन्ट परीक्षण० को सुविधा विस्तार गर्ने भएको छ ।
वीर, निजामती कर्मचारी अस्पताल ९सिभिल०, वीरेन्द्र सैनिक, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा पनि सञ्चालन गर्ने भएको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव र प्रधानसेनापतिलगायत सीसीएमसीका अधिकारीहरू सहभागी थिए ।