कञ्चनपुर असार १९ ,घटनास्थल र अनुसन्धानको तादम्यता फितलो बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको घटनामा कञ्चनपुर प्रहरीले ‘घटनास्थल’ पहिचानमा केन्द्रीत भएर अनुसन्धान गरिरहेको जनाएको छ । निर्मलाको शव भेटिएको उखुवारी नै घटनास्थल हो वा अन्य ठाउँमा नै घटना भएर शव त्यहाँ फालिएको हो भन्ने बिषयमा केन्द्रीत भएर अनुसन्धान भइरहेको हो ।
दुई सिराबाट निर्मला प्रकरणको अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । दुई सिरामा केन्द्रीत भएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिनेश आचार्यले  ताए । घटनास्थलको पहिचान गर्ने अवस्थामा अनुसन्धान केन्द्रीत रहेकोे उनले बताए । ‘हामी दुई पाटाबाट अनुसन्धानमा छौँ । एउटा अपराधस्थल अथवा घटनास्थल पहिचानमा केन्द्रीत छौँ ।’ उनले भने,
‘घटना त्यही ठाउँमा भएको हो वा फरक ठाउँमा भएको हो यो कुरामा केन्द्रीत भएर अनुसन्धानमा छौँ ।’ यस्तै घटनामा शंकास्पद रहेका व्यक्तिहरुको पहिचान र खोज तथा उनिहरुमाथि अनुसन्धान केन्द्रीत भएको छ । यसअघि अनुसन्धानको दायरामा नआएका तथा त्यसबेला यहाँ नरहेकाहरुको खोजी गर्दै उनिहरुसंग सोधपुछ भइरहेको एसपी आचार्यले बताए ।
‘घटनामा संलग्न हुन सक्ने सम्भावित व्यक्तिहरुको पहिचान गर्दै सोधपुछ गर्नेतर्फ अनुसन्धान केन्द्रीत छ ।’ उनले भने, ‘यसअघि अनुसन्धानको बिचमा यहाँ नरहेका अहिले भेटिएका नयाँ मानिसहरुसंग सोधपुछ गर्ने गरिएको छ ।’ दैनिक एक÷दुई जनालाई लिएर घटनाबारे सोधपुछ गर्ने कार्य भइरहेको उनले बताए । घटनास्थल पहिचान मै प्रहरी अलमलिएको देखिन्छ ।
प्रत्यक्षदर्शीेले अनुसन्धानलाई लिड गर्दैनः एसपी आचार्य निर्मला हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी का निलम्बित डिएसपी अंगुर जिसीले सतप्रतिशत दोषि किटान गरेका भीमदत्त नगरपालिकाका दिलिप सिंह बिष्टलाई घटनाको दिन सोही बाटोमा देख्ने प्रत्यक्षदर्शी तत्काल अनुसन्धानका लागि सामान्य भएको एसपी आचार्य बताउँछन् । ‘प्रत्यक्षदर्शीको सवालमा हाम्रो अनुसन्धानलाई निष्कर्षमा पु¥याउने तरिकाको प्रमाण छ भने हामी लिन्छौ अनुसन्धानमा सहयोग गर्दैन भने लिदैनौँ ।’ उनले भने,
‘तत्कालका लागि प्रत्यक्षदर्शीलाई नै प्रमाण मानेर निष्कर्षमा पुगिहाल्ने अवस्था छैन । त्यति ठुलो प्रमाण छैन । तर सहयोगी प्रमाण बन्नसक्छ ।’ ती प्रत्यक्षदर्शीलाई भेटेर कुराकानी गरेको एसपी आचार्यले बताए । सूचनाका रुपमा सबै कुराहरुलाई लिने तर त्यसले अनुसन्धानलाई कतिसम्म लिड गर्छ त्यस तरिकाले जाने गरेको उनले बताए । यसै तरिकाले पछिल्लो समय निर्मला प्रकरणमा दिलीप सिंह विष्टलाई घटनाकै दिन सोही बाटोमा जादै गरेको देख्ने प्रत्यक्षदर्शीलाई पनि लिएको तर निष्कर्षमा पु¥याइहाल्ने लिड गर्ने खालको नभएको एसपी आचार्य बताउँछन् ।
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको एक वर्ष भन्दा बढि समय बितिसकेको छ । एक बर्षको अवधिमा निर्मलाका अपराधी पहिचान हुन सकेनन् तर यो प्रकरण सधैभरी सरकार र नेपाल प्रहरीका पेचिलो बन्यो । महेन्द्रनगरदेखि देशभर नै निर्मलाको निम्ति न्यायको माग गर्दै आन्दोलन चर्कियो । नयाँ नयाँ तथ्यहरु सतहमा आए । यद्यपि निर्मलाले न्याय माउन सकिनन् ।
२०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उनको शव उखुबारीमा भेटिएकी थिइन् । बलात्कार पछि हत्या गरिएकी बालिकाको घटना घटेको एक वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन । निर्मलाको शव भेटिएको दिन साउन ११ देखिनै अनुसन्धानमा जुटेको प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन ।
घटनाको अनुसन्धानमा संलग्न विभिन्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन् । एक वर्षको अवधीमा प्रहरीले डीएनए परीक्षण, शंकास्पदको बयान, शंकास्पद व्यक्तिहरुमाथी सूक्ष्म अनुसन्धान ग¥यो । तर प्रहरीको अनुसन्धान अहिलेसम्म पनि अपराधीको छेउछाउ पुग्न सकेको देखिँदैन ।
प्रहरीले अनुसन्धान गरिरहेको जनाए पनि अनुसन्धान कुहिरोको कागजस्तो आफैमा रुमलिइरहेको देखिन्छ । सुरुमा घटनाको अनुसन्धानमा प्रहरीले गरेको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी जस्तो बन्न पुगेको अनुसन्धान टोलीको निष्कर्ष छ । निर्मला हत्याप्रकरणमा प्रहरी प्रशासन निकै आलोचित भयो। अनुसन्धानमा उच्च छवि बनाएको सिआइबी पनि घटनाको प्रमाण लुकाउन खोजेको आरोपमा फस्यो। प्रहरी इतिहास मै पहिलो पटक सिआइबी पनि अनुसन्धानमा चुकेको छ ।
यसले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा नै प्रश्न चिन्ह लगाएको छ । प्रहरीले नै प्रमाण नष्ट गरेकोे भन्ने आरोप लागेसँगै प्रहरीले तत्कालिन एसपी डिल्लीराज बिष्ट, सिआइबीका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, दुई जना प्रहरी निरीक्षक र एक जना असर्ई निलम्बनमा परे । निर्मला हत्याका वास्तविक दोषी पहिचान हुन नसक्दा प्रहरीप्रतिको जनताको विश्वास घट्दै गएको छ । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने पन्तको बलात्कारपछि हत्याको विरोधमा उनको पक्षमा न्याय माग्दै कञ्चनपुरसहित देशैभर प्रदर्शन भयो, उनको परिवारले छोरीको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना समेत दियो ।
हत्याको विरोधमा महेन्द्रनगरबाट शुरु भएको प्रदर्शन देशभरि नै फैलिएको थियो । मुख्य अभियुक्त भनेर मानिसिक अवस्था ठीक नभएका स्थानीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा भइरहेको आन्दोलनले उग्ररुप लियो । स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले आन्दोलन दबाउनका लागि लाठी र अश्रुग्यासमात्रै प्रहार गरेन गोलीसमेत चलायो ।
प्रहरीको गोली लागि दुई दर्जन आन्दोलनकारी घाइते भए भने स्थानीय युवा सन्नी खुनाले ज्यान नै गुमाउनु प¥यो । स्थानीयको दबाव पछि एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र मेयरका भनिज आयुश विष्ट तथा दिलिप सिंह विष्ट, प्रदिप रावल र विशाल चौधरी लगायत झण्डै ७३ जनाको डीएनए परिक्षण गरियो । तर उनीहरुको डीएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसँग मेल खाएन । घटनाको प्रमाण नष्ट गरेको तथा अनुसन्धानका क्रममा यातना दिएको भन्दै तत्कालिन एसपी डिल्लीराज विष्टसँगै आठ प्रहरी विरुद्ध अदालतमा मुद्धा दर्ता समेत भयो र धरौटीमा उनीहरु रिहा भए । कञ्चनपुर बाट प्रकाशित आजको आभाष कुञ्ज दैनिक मा समाचार छ ।

प्रतिक्रिया दिनुस