कञ्चनपुर भाद्र १६ ,कर्मचारी समायोजनले गर्दा कञ्चनपुरका स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या थपिएको छ ।समायोजनले गर्दा यहाँका स्थानीय तहमा आएका कर्मचारीहरुलाई तहगत रुपमा मिलान गर्न अफ्ठयारो भएको छ । स्थानीय तहमा कर्मचारी आवश्यकता एउटा तह र क्षेत्रको भए पनि समायोजन अन्तर्गत अर्कै तह र क्षेत्रको कर्मचारी पठाउँदा व्यवस्थापनमा समस्या भएको हो । दुई गाउँपालिका र सात नगरपालिका रहेको जिल्लाका स्थानीय तहमा समायोजन हुँदा एक तह बढुवा हुने प्रावधानले समेत तहगत रूपमा मिलान हुन नसकेको हो । हाल यहाँका स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी छैनन्, कर्मचारी भएपनि भएको दरबन्दी तहभन्दा कम र बढिका रहेका छन् । कर्मचारी समायोजन अन्तर्गत सामान्य प्रशासन मन्त्रालयबाट यहाँका स्थानीय तहका लागि खटाइएका कर्मचारीहरु दरबन्दी तहभन्दा कम र बढिका छन् । यति मात्र होइन, दरबन्दी अनुसारका कर्मचारी संख्या पनि छैनन् । कतै एक जनाको दरबन्दी रहेको स्थानमा दुई÷तीन जना छन् भने कतै रिक्त छ । कर्मचारी समायोजन अन्तर्गत यतिबेला अधिकांश स्थानीय तहमा यस्तै समस्या आएको छ । सामान्य प्रशासन मन्त्रालयबाट पठाएका कर्मचारीको व्यवस्थापन कसरी गर्ने भनेर प्रमुख प्रशासकीय अधिकृत अलमलमा परेका छन् ।

बेदकोट नगरपालिका
बेदकोट नगरपालिकामा कर्मचारी समायोजन अन्तर्गत सामान्य प्रशासन मन्त्रालयले तीन जना कर्मचारी खटाएको छ । जसमा छैटौँ तहका अधिकृत (टाइपिस्ट) को दरबन्दी छैन । तर यहाँ कर्मचारी खटाइएको छ । यस्तै बेदकोट नगरपालिकाको सहायक पाँचौँ तहको दरबन्दी रहेको स्थानमा छैटौँ तहको कर्मचारी पठाइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ सहायक पाँचौँ तहको दरबन्दी छ । यद्यपी त्यहाँ कर्मचारी भने छैटौँ तहको खटाइएको छ । धेरै स्थानीय तहमा ईन्जिनियर र ओभरसियर लगायत प्राविधिक कर्मचारी अभाव रहेको वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशीले बताए । उद्यपी यहाँ अभाव रहेको प्राविधिक कर्मचारी समायोजन भएर नआएको तर भएकै कर्मचारी वा दरबनदी नै नभएका कर्मचारी आइरहेको उनले सुनाए । उनका अनुसार मन्त्रालयबाट दरबन्दी नभए पनि हाजिर गराउन भन्ने पत्र समेत आएको छ । स्थानीय तहमा हाल पनि ईन्जिनियर र ओभरसियर नहुँदा योजनाहरुको अनुगमन तथा निरीक्षण नियमित हुन सकेको छैन ।
भीमदत्त नगरपालिका
भीमदत्त नगरपालिकामा महिला बालबालिका र ज्येष्ठ नागरिक शाखामा पाँचौं तहको कर्मचारीको दरबन्दी छ । तर छैटौं तहका कर्मचारी पठाइएको छ । यसैगरी कृषि शाखामा पनि आवश्यक दरबन्दीभन्दा बढी कर्मचारी पठाइएको छ । स्थानीय तहमा अहिले पनि इन्जिनियर र ओभरसियर नहुँदा योजनाहरूको अनुगमन तथा निरीक्षण नियमित हुन सकेको छैन् । तर समायोजनका क्रममा जथाभावी कर्मचारी पठाउँदा व्यवस्थापनसँगै स्थानीय तहमा अतिरिक्त व्ययभारसमेत बढने देखिएको छ । ‘हाजिर नगराए प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही हुने पत्र आएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्करप्रसाद भट्टले बताए । हालसम्म तीन÷चार कर्मचारी आइसकेको र आउने क्रम अझै जारी रहेको उनले बताए ।
शुक्लाफाँटा नगरपालिका
शुक्लाफाँटा नगरपालिकामा पनि फरक तह र दरबन्दी नभएका कर्मचारी आउने क्रम जारी छ । उक्त नगरपालिकामा प्रशासन अधिकृत १ जनाको दरबन्दी छ । तर समायोजनका क्रममा तीन जना आइसकेका छन् । दरबन्दी कायम गर्ने र खारेज गर्न सक्ने अधिकार पनि स्थानीय तहलाई नै छ । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसन थापाले भने, ‘प्रशासन अधिकृत स्तरका कर्मचारीलाई वडा कार्यालयमा पनि पठाउन सकिने भएकाले त्यही अनुसार गरिन्छ ।’
स्थानीय तहमा नगर प्रमुख तथा उपप्रमुखले विनाप्रतिस्पर्धा कर्मचारी भर्ना गर्ने लहड नै चलेको छ । आफन्त र कार्यकर्तालाई रोजगारी दिन विभिन्न पदमा बिनाप्रतिस्पर्धा भर्ना गर्ने क्रम जारी छ । यसले पनि स्थानीय तहमा ठूलो आर्थिक भार परेको देखिन्छ । कतिपय स्थानीय तह अहिले पनि भाडाको घरमा सञ्चालनमा छन् । जनप्रतिनिधि बस्ने ठाउँसमेत नभएका बेला जथाभावी कर्मचारी भर्ना र मन्त्रालयबाट समायोजन भई आएका कर्मचारी बस्न झनै समस्या हुने देखिन्छ । आर्थिकसँगै ठाउँ व्यवस्थापनमा समेत समस्या हुने प्रमुख प्रशासकीय अधिकृतहरू बताउँछन् । औपचारिक रूपमा कर्मचारी समायोजनको काम सकिएको छ । तर संशोधनपश्चात् अधिकांश कर्मचारीले घरपायक र तराईका स्थानीय तह रोजेका कारण यस्तो समस्या आएको अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया दिनुस