–मेनुका भट्ट
परम्परादेखि मानिँदै आएको तीजलाई हिन्दु महिलाहरुको सौभाग्यको प्रतीकको रुपमा लिइन्छ । तीज भन्ने बितिक्कै महिलाहरुको मन प्रफुल्लित हुन्छ । पुरातन कुरा मान्दिनँ भन्नेहरुले पनि यसलाई आफ्नो ‘पति’ प्रति श्रद्धा र प्रेम दर्शाउने पर्वका रुपमा लिन्छन् । तीज महिलाहरूको लागि खुसियाली मनाउने पर्व हो । पहिले÷पहिले बुहारीहरू वर्षैभरि घरधन्दाको व्यस्त जीवनबाट २÷४ दिनको लागि भए पनि मनको धोको खोलेर रमाइलो गर्न जाने ठाउँ हो माइती । आमा र दिदीबहिनीसँग मनका कुरा पोख्दै व्रतको अघिल्लो दिन दर खाने र भोलिपल्ट पानी समेत नखाई व्रत बस्ने चलन रहेको हामीले सुन्दै आएका हौं ।समयको वहाबअनुसार, परम्परामा पनि परिवर्तन हुँदै गएको देखिन्छ । आफ्नो स्वास्थ्यले साथ दिनेले निराहार बसे पनि नसक्नेले पानी, दूध, फलफूल खाएर व्रत बसेको देखिन थालिएको छ । स्वास्थ्यलाई ध्यानमा राख्दै यसो गर्नु मनासिव पनि देखिन्छ ।
प्रसंग ‘दर’ को
भाद्र कृष्ण तृतीयाको दिन विशेषगरी विवाहित महिलाहरूले तीजको व्रत लिने गर्छन् । अघिल्लो रात विभिन्न परिकार बनाई छोरी÷बुहारीहरुलाई खुवाउने चलन हामीले पहिलेदेखि देख्दै र सुन्दै आएका हौं ।तीजको व्रतमा दिनभरि भोकै बस्दा कतै गाह्रो हुन्छ कि भनेर अडिलो(दह्रो हुनलाई अघिल्लो दिन खाने गरिएकोले त्यसलाई ‘दर’ र त्यो दिनलाई ‘दर खाने दिन’ भनिएको हुनुपर्छ ।बढ्दै गएको फेसनले ‘एकदिनको दर खाने’ परम्परालाई तीज आउनु करिब महिना दिन अघिदेखि नै तामझामका साथ मनाउन थालिएको देखिन्छ । यसले हाम्रा नयाँ पुस्तालाई कस्तो खालको सन्देश देला ? हामी कस्तो पुस्ता बन्न खोजेका हौं ?एकले अर्कासँग प्रतिस्पर्धा जस्तो गरी एक दुई महिना अगाडि देखि नै दरको नाममा विकृति फैलिने गरी कार्यक्रमहरू गरेको पाइन्छ । यो कति राम्रो हो, हामी महिलाले गम्भीर भएर सोच्ने बेला आएको छ ।
भनिन्छ, महिलाहरू संवेदनशील हुन्छन् । दयालु हुन्छन् । सुख÷दुःखका साथी हुन्छन् । तर, विगत वर्षहरूमा मुलुक रोइरहेको बेलामा पनि हामी तीजको बहानामा छमछमी नाच्यौं महिना दिनसम्म । अनाहकमा नेपाल आमाका सन्तानको हत्या भएको महिना दिन पनि नपुग्दै हाम्रा छमछमी आवाजले तिनका शोकाकुल परिवारको मन कति रोयो होला । ती मनलाई हामीले किन पढ्न सकेनौं ? त्यस्तो बेला कहाँ थियो हाम्रो संवेदनशीलता ?
साथीभाइ सबैको आर्थिक अवस्था कहिल्यै बराबर हुँदैन । तर, एउटा सम्पन्न साथी र परिवारले दरको झकिझकाउ कार्यक्रम गरिरहँदा अर्को विपन्न साथी र परिवारलाई पर्ने मनोवैज्ञानिक असरबारे हामीले कहिल्यै गम्भीर भएर सोचेका छौं त ? सहर÷बजारमा हेर्दा समाजमा आफ्नो फुर्तिफार्ति देखाउने अवसर जस्तो बनेको देखिन्छ तीजको दर । व्यक्तिगत रुपमा फरक(फरक पार्टी आयोजना गरेर क्षणिक वाहवाही कमाएर रमाउनमै हामी व्यस्त भयौं ।
चाडपर्वको नाममा यस्तो विकृति सुरु भएको ८र१० वर्ष भए जस्तो लाग्छ । सुरुमा त हामीकहाँ जसरी जुन बाटोबाट भए पनि पैसा कमाएर परिवार र समाजमा स्थापित हुन खोज्ने प्रवृत्ति छ । यसका लागि श्रीमान्लाई जुन बाटोबाट भए पनि पैसा कमाउन दबाब दिने काम महिलाहरुबाटै भएको देखिन्छ । हुँदा÷हुँदा अब आएर तीजको दरको नाममा ठूल्ठूला पार्टी प्यालेस, होटेलमा मान्छे भेला गराउने, गरगहनाको प्रदर्शन र प्रतिस्पर्धा गरेको देखिन थालेको छ ।
त्यस्तो दर कार्यक्रम आयोजना गर्नेहरूले सुरुसुरुमा त परिवारकै सदस्यहरुबाट निकै वाहवाही पाए । फलानी त कस्तो मनकारी ! त्यत्रो मान्छेलाई खान बोलाई । लुगा समेत बाँडी । यस्तो पो हुनु श्रीमती, बुहारी, भाउजू भनेको त ! प्रशंसैप्रशंसाको पोको पाउने मान्छे दंग पर्ने भइहाले । तर, त्यसरी दर खान कसैकोमा जाँदा उपहार पाउनेहरूले पनि कहिल्यै सोचेनन् उसले त्यत्रो मान्छेलाई सामान बाँड्ने पैसा कताबाट आउँछ ? ती बाँड्ने महिलाले पनि सोचिनन्, यस्तो तडकभडक पार्टी गरे, उपहार बाँडेर मैले ठीक गरिरहेकि छु त ? श्रीमान्लाई जसरी जुनसुकै बाटोबाट पैसा कमाउन उक्साउनु ठीक हो कि होइन ?क्षणिक वाहवाहीले दूरगामी नकारात्मक असर पर्ला भनेर कहिल्यै सोचेनौं । बिस्तारै यो दर भन्ने कार्यक्रमले विकृतिको विकराल रुप लिदै गएको देखिन थालेको छ नेपालमा । प्रतिस्पर्धाको रुपमा हाम्रो समाजमा स्थापित हुन खोजिरहेको देखिन्छ । फजुल खर्चले गलत बाटोबाट भए पनि आयआर्जन गर्नैपर्ने सामाजिक दबाब बढाएको छ ।
प्रतिक्रिया दिनुस