भुमिका :-विद्यार्थी आन्दोलनका आरोह अबरोहका धेरै कथा ब्यथाहरु छन्। त्यो गौरवान्वित इतिहासको खोज,अनुसन्धान गरि विकास र रक्षा गर्नका लागि आजका हरेक विद्यार्थीहरुको भुमिका उत्तिकै महत्त्वपूर्ण र आवश्यक छ। यतिबेला स्ववियुको चर्चा निकै चलिरहेको छ। कतिपय बिश्वविद्यालय,क्याम्पस कलेजहरुमा अध्यनरत विद्यार्थीहरुलाई स्ववियु भनेको के हो ? स्ववियु कसका लागि हो ? किन हुँदै छ ? के का लागि गरिन्छ ? स्ववियु निर्वाचन हिजो कसरी हुन्थ्यो? कसरी हुनुपर्छ? बिगत लामो समय देखि किन भएन ? स्ववियु मा हाम्रो भुमिका के हुन्छ ? भन्ने समेत थाहा छैन,अनबिज्ञ छन्। राजनैतिक दल निकट विद्यार्थी संगठनहरु भने स्ववियु को मुखैमा मरिहत्ते गरेर क्याम्पस कलेजहरुमा आ-आफ्नो दुनो सोझ्याउनमा मस्त र ब्यस्त छन्।

त्यसैले आउनु होस् अब बहस गरौं यी सबै बिषयहरुमा के हो  स्ववियु निर्वाचन  ?
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को जन्म :-
बि.सं. २००७ सालको राणा शासन विरुद्धको संघर्षबाट प्राप्त प्रजातन्त्रको बिकास र रक्षा गर्ने राजनैतिक दलहरु माथि तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रतिबन्ध लगाएर प्रजातन्त्र समाप्त पारेर निरङ्कुश पन्चायती शासन लागु गरेका थिए। तत्कालीन राजा महेन्द्रले राजनैतिक दलहरु माथि प्रतिबन्ध गरि राजनैतिक अधिकार दमन गरेका बखत बिश्वविद्यालय,कलेज र स्कुलका विद्यार्थीहरुले संगठितरुपले आन्दोलन गर्नु,आफ्ना मागहरू पूरा गर्न बाध्य पार्नु चानचुने कुरा थिएन। सामान्य आन्दोलनका गतिविधि निरन्तर भइरहे पनि बि.सं.२०२० बैशाख २३ गते बिश्वविद्यालयमा पहिलो हडताल भएको थियो। पन्चायती शाषकहरुले राजनैतिक दल र विद्यार्थी संगठनहरुलाइ राजनैतिक गतिविधिमा रोक लगाएर कडाइ गरेपनि विद्यार्थीहरु निरङ्कुश पन्चायती शासनका विरुद्धमा ‘भुसको आगो झै’ भित्रभित्रै बिष्पोटक आन्दोलनको तयारीमा थिए। महेन्द्रको सरकार भने सरकारकै निर्देशनमा भेला सम्मेलन गर्नुपर्ने र संगठनहरुमा सचीव र कोषाध्यक्ष सरकारले नै तोक्ने निर्णय जबर्जस्त लागू गराउन थाल्यो। विद्यार्थी संगठनहरुको माग स्ववियु खोल्न पाउनु पर्छ भन्ने थियो। त्यतिबेलाका शाषकहरु त्यसो गर्न तयार थिएनन् र पो त्रिभुवन बिश्वविद्यालय आन्दोलनको केन्द्र बिन्दु बन्न पुग्यो। त्रि.बि.मा आन्दोलन शुरु भए लगत्तै देशैभरी आन्दोलनको आगो सल्कियो। यही आन्दोलनको बिचबाट शाषकहरु स्ववियु निर्वाचन गराउन बाध्य भए। बि.स.२०२० भदौ २० गते त्रि.बि.मा स्ववियु निर्वाचन भयो र प्रगतिशील पक्षले बिजय हासिल गर्‍यो। त्यसपछि नि भेला सम्मेलनहरु लुकिछिपी भए। स्ववियु स्थापना,यातायातमा भाडा छुट,विद्यार्थी एकता लगायतका ५ वटा प्रस्तावहरु पारित गरिए पनि लगत्तै पन्चायती शाषकहरुको निर्देशनमा प्रहरीले सम्मेलनमा सहभागी विद्यार्थीहरुको घर,डेरामा छापा हाने,दमन गरे,गिरफ्तार गरेर प्रस्ताव पुस्तिका समेत जफत गरेका थिए। गिरफ्तार विद्यार्थीहरुको रिहाइको लागि सरकार संग माग राख्दै जूलूस निकालियो। जूलूस माथि प्रहरी हस्तक्षेप र दमन भयो। विद्यार्थीहरु झन् आगो भएर २०२१ बैशाख १५ गते देखि सम्पुर्ण शिक्षण संस्थाहरु बन्द गरि दिए। १५ दिन सम्म सरकार र विद्यार्थीहरु बिच तनावग्रस्त आन्दोलन चलेपछि अन्ततः पन्चायत सरकार झुक्यो र पक्राउ परेका विद्यार्थीहरु रिहाई गर्न बाध्य भयो। आन्दोलनको यो सफलताले विद्यार्थीहरुमा २०२१ जेठ १ मा नयाँ जोश उमंग भरिदियो। त्यसैले हरेक बर्ष जेठ १ गते विद्यार्थी दिवसका रूपमा मनाउने र सम्झने गरेका छन्। यही जगमा स्ववियुको स्थापना भएको हो।

स्ववियुको परिचय र काम:-
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) भनेको सम्पुर्ण विद्यार्थीहरुको हक,हित,अधिकारका लागि र शिक्षा क्षेत्रको बेथिति संगै राष्ट्रियता,जनजिबीकाको लागि संघर्ष गर्ने विद्यार्थी संगठनहरुको साझा संस्था(संगठन) हो। विभिन्न समयमा विद्यार्थी आन्दोलनले गरेका उपलब्धिको रक्षा,विद्यार्थीहरुको हकहित र अधिकार सुनिश्चित गर्न,शैक्षिक नीति निर्माण र कार्यान्वयनमा विद्यार्थीहरुको प्रतिनिधित्व गर्न,पाठ्यपुस्तकको चौघेरा भन्दा बाहिर रहेर विद्यार्थीहरुको सिर्जनात्मक,रचनात्मक,बौद्धिक क्षमता संगै पठनपाठनका लागि उपयुुक्त बाताबरण बनाउन स्ववियु निर्वाचन अत्यावश्यक छ। स्ववियु निर्वाचन हरेक दुई/ दुई बर्षमा निरन्तर हुन नसके पनि २०६४ देखि नियमित रूपमा हुन सकेको छैन। अझ त्यो भन्दा पछि ०७२/७३ तिर हेर्दा देशैभरी हुन सकेको छैन। बिगत १४ बर्ष देखि निरन्तर हुन नसक्दा चैत्र ०५ गते हुने भनिएको स्ववियु निर्वाचन प्रती आशंका पैदा भएको छ।
स्ववियु को समिक्षा :-
बिगतको स्ववियु निर्वाचनको समिक्षा गर्दै गर्दा संसदीय राजनैतिक दलहरु निकट विद्यार्थी संगठनहरुले गुन्डागर्दी,दादागिरी शैलीमा पैसा,पावर र शक्तिको दुरुपयोग गर्दै स्ववियु को अस्तित्वलाई नामेट परिसकेका छन्। आज दर्जन भन्दा बढी विद्यार्थी संगठनहरु क्रियाशील भएपनि नामका मात्रै विद्यार्थी संगठनहरु भएका छन्। विद्यार्थीहरुको हक,हित र अधिकार निम्ति लड्नु भन्दा पनि ब्यक्तिगत,पार्टीगत र सांगठनिक स्वार्थका कारण आज स्ववियुको गरिमा माथि प्रश्न उठेको छ र पो स्ववियुको महत्त्व घटेको छ। शिक्षा क्षेत्रमा केही गर्छु विद्यार्थी हकहित, राष्ट्रियता र जनजिबीका लागि लड्छु भन्ने वास्तविक क्रान्तिकारी विद्यार्थी संगठनलाई संसदवादी विद्यार्थी संगठनहरुले ओझेलमा पारेका छन्। त्यसैले आज बिश्वविद्यालय र क्याम्पस,कलेज भित्र राजनैतिक भागबन्डाका आधारमा भि सि,रजिस्ट्रार,डीनहरु,प्रोफेसर,प्राध्यापकहरु राख्ने प्रवृत्ति हाबी हुदा स्वच्छ खुला प्रतिस्पर्धा द्वारा शैक्षिक योग्यता,दक्षता,सीप,अनुभव र बरिस्ठता का अधारमा नियुक्त गरिने पद्धतिको अन्त्य भएको छ। जसको कारण आज बिश्वविद्यालय र क्याम्पस कलेजहरु बेरोजगार उत्पादन गर्ने भट्टी र पैसा कमाउने ब्यापारीक केन्द्रको थलो बन्न पुगेका छन्। बिश्वविद्यालय र क्याम्पसहरुमा बार्षिक कार्यतालिका बमोजिम काम कारबाही र गतिविधि भइरहेका छैनन्। समयसीमा भित्र पाठ्यपुस्तक,भर्ना,पठनपाठन,परिक्षा,परिक्षाफल प्रकाशन भइरहेको छैन।

राज्य शिक्षाक्षेत्रको जिम्मेवारी बहन गर्नु को सट्टा पन्छिरहेको छ। असमान शिक्षा प्रणाली लागू भएको छ। हाम्रा अभिभावकहरुको रगत पसिनाले बनेका क्याम्पस र विद्यालयहरुको सम्पत्ति मुठ्ठीभरका शाषक र क्याम्पस विद्यालय प्रशासनको मिलोमतोमा दुरुपयोग भइरहेको छ।त्यसैले नेपालको माटो परिबेश अनुसार सुहाउँदो सिर्जनशील,आत्मनिर्भर,उद्यमशील,बैज्ञानिक,ब्याबसायिक,प्राबिधिक शिक्षामा जोड दिदै शिक्षा क्षेत्रमा भइरहेको निजीकरण,ब्यापारीकरण,माफियाकरण का विरुद्धमा संघर्ष गर्नु हरेक शिक्षासंग सरोकार राख्ने ब्यक्तित्वहरु,विद्यार्थी र विद्यार्थी संगठनहरुको आबश्यकता बन्न पुगेको छ।
बर्तमान परिपाटी :-
यतिबेला राज्य र बिश्वविद्यालयहरुको स्ववियु निर्वाचन गराउने भित्री चाहना त पक्कै पनि होइन तैपनि क्रान्तिकारी विद्यार्थी संगठनहरुको दबाबमा बाध्य भएर विद्यार्थीहरुलाइ जिस्काउने नाटक मन्चन मात्रै गरिरहेको छ। यदि स्ववियु निर्वाचन भइहाल्यो भनेनि संसदीय निर्वाचन जस्तै दुरुस्तै हुन्छ त्यो भन्दा फरक हुनेवाला छैन। वास्तविक र नियमित विद्यार्थीहरु र क्रान्तिकारी विद्यार्थी संगठनलाई ओझेलमा पारेर संसदीय चुनाव झै विद्यार्थीहरुलाई पैसाको प्रलोभनमा पारी भर्ना गरि दिन्छौ,माशिक शुल्क मिलाइ दिन्छौ,परिक्षामा सघाइ दिन्छौ,रुम भाडा मिलाइ दिन्छौ जस्ता भ्रम सिर्जना गर्छन् त्यो नभए विद्यार्थी र क्याम्पस प्रशासनलाई शक्ति र सत्ताको धम्की देखाउदै दादागिरी शैलीमा स्ववियु भाड्ने र लड्ने जस्ता हर्कत देखाउछन जसको कारण स्वच्छ र खुला प्रतिस्पर्धाबाट पुर्ण समानुपातिक स्ववियु निर्वाचन हुन असम्भव छ। यदि यसरी स्ववियु निर्वाचन भइ हाल्यो भनेनी यसको औचित्य नै हुँदैन। स्ववियुलाई कार्यतालिका बमोजिम कार्यान्वयन गराउन,स्वच्छ,खुल्ला,स्वतन्त्र,भयरहित,गुण्डागर्दी रहित,दादागिरी रहित बाताबरणमा निर्वाचन गराउन हामी हरेक विद्यार्थीहरु एकजुट हुन जरुरी छ।
क्रान्तिकारीको सपना:-
समय अनुकूल स्ववियु निर्वाचन नहुँदा विद्यार्थी जिबनमै शिक्षा क्षेत्र र विद्यार्थीहरुका लागि केही गर्छु भन्ने सपना बोकेका अनि विद्यार्थी आन्दोलनमै जेलनेल र हिरासतका पीडा भोगेका विद्यार्थीहरुको यतिबेला उमेर हदबन्दीले स्ववियु लड्न नपाएकोमा एकातिर सपना मरेको छ भने अर्को तिर ढिलै भएनी स्ववियु निर्वाचनले निरन्तरता पाई राखोस भन्ने अपेक्षा गरेको छ। विद्यार्थी आन्दोलनमा सहभागी हरेक पुस्ताको चाहना राणा शासनको अन्त्य,पन्चायत शासनको अन्त्य,राजतन्त्रको अन्त्य जनवादी तथा समाजवादी ब्यबस्थाको स्थापना,नयाँ संबिधान,समाबेशी प्रतिनिधित्व,पुर्ण समानुपातिक निर्वाचन प्रणाली लगायत शिक्षा,स्वास्थ्य,रोजगारमा जनताको मौलिक अधिकार सुनिश्चित भएको हेर्ने आदि थियो। यी सबै क्षेत्रमा आमूल परिवर्तनका नया क्षितिजहरु देखापर्ने छन् भन्ने सपनाहरू हरेक आन्दोलनकारीको मन मस्तिष्कमा भएपनि पछिल्लो चरणको महान जनयुद्ध सम्म पुग्दा राजतन्त्रको अन्त्य त भयो,केही हदसम्म बोल्न नसक्ने,पीडित उत्पीडित महिला,किसान,दलित,आदिवासी,जनजातिहरुले राहत पाएपनी पुर्ण अधिकार अझै पाउन सकेका छैनन्। नेपालको राजनैतिक आन्दोलनमा विद्यार्थीहरुको त्याग,बलिदान र संघर्षले सत्ता र शक्ति(दल)हरु स्थापित भएपनि विद्यार्थी आन्दोलनका महान सहिद तथा बेपत्ता पारिएका योद्धाहरुले देखाएको बाटोमा निरन्तर संघर्ष गर्नु र शिक्षा क्षेत्रमा आमूल रुपान्तरण ल्याउनु परिवर्तनकारी आम युबा विद्यार्थीहरुको भुमिका हो। हामीले इतिहासलाई फर्केर हेर्‍यौ भने धेरै गुमाएका र थोरै उपलब्धि प्राप्त गरेका छौ। प्राप्त उपलब्धिको रक्षा गर्दै आजको बिज्ञानको युगमा बैज्ञानिक समाजवादी ब्यबस्था बाट मात्रै बैज्ञानिक समाजवादी शिक्षा प्राप्त हुने भएकोले सबैले आ-आफ्नो क्षेत्रबाट आन्दोलनको आधिबेहोरी सिर्जना गर्नुपर्ने आवश्यकता बन्न पुगेको छ।
✍️ सुरेन्द्र धानुक
अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा
सुदूरपश्चिम प्रदेश इन्चार्ज
नेकपा (बहुमत) निकट विद्यार्थी संगठन

प्रतिक्रिया दिनुस