सन्तोष पन्त

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा सञ्चालित दुई उखुमिलले जनस्वास्थ्यसँग खेलबाड गरिरहेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–२ स्थित भागेश्वर सुगरमिल र बेलौरी नगरपालिका–१० स्थित महाकाली सुगरमिलले उद्योगको फोहोरलाई व्यवस्थापन गर्न नसक्दा जनस्वास्थ्य र वातावरणसँग नै खेलबाड गरिरहेका हुन् ।

उद्योगले सही तवरले फोहर व्यवस्थापन गर्न नसक्दा जनस्वास्थ्यसँगै वातावरणमा पनि नकारात्मक प्रभाव पारिरहेको छ । उद्योगबाट निस्कने केमिकलयुक्त रसायन, धुवासँगै आउने खरानीले गर्दा उद्योग वरपरका स्थानीयले निकै सास्ती खेप्नुपरेको छ ।
बेलौरीको शिवनगरस्थित महाकाली सुगरमिल वरपरका स्थानीयहरु उद्योगबाट निस्कने खरानीले हैरान छन् भने पुनर्वासको भागेश्वर सुगरमिलले उद्योगबाट निस्कने रसायनयुक्त पानी सिमरी नदीमा मिसाउँदा पुर्नवास-५ र ७ का स्थानीयले सास्ती खेप्नुपरेको छ ।

शिवनगर वरपर उडेर आउने मिलको खरानीले स्थानीयलाई बाहिर कुनै काम गर्न नसकिने अवस्था छ । जसले गर्दा स्थानीयलाई श्वासप्रश्वासको समस्या हुने देखिन्छ । सुगरमिलले फोहर नदीमा मिसाउँदा दुर्गन्ध आउने गर्छ, पानीका जीवहरु मर्ने समस्या पनि बेलाबेला आउने गर्छ । स्थानीयहरुले खरानीले बाहिर काम गर्नै अप्ठ्यारो भएको, खरानी खाना तरकारीमा आउनुका साथै श्वासप्रश्वास, लुगाकपडा र माटोमा समेत नकारात्मक प्राभव पारिरहेको बताएका छन् ।

धुवाँ र रसायनयुक्त दुर्गन्धित पानीले अप्ठ्यारो पारेको भन्दै बेलौरी–१० का वडा अध्यक्ष सोमलाल चौधरीले व्यवस्थापनका लागि आवश्यक काम अगाडि बढाउन मिलसँग लिखित सम्झौता भएको बताए । रसायन शुद्धीकरण गरेर पानी नदीमा फाल्ने, चिम्नीबाट आउने धुवाँसँगैको खरानीको व्यवस्थापन गर्ने प्रतिबद्धता मिलले गरेको वडा अध्यक्ष चौधरीको भनाइ छ । वडा अध्यक्षका अनुसार मिलले सम्झौताअनुसार नगरे आवश्यक कानुनी कारबाही गरिने छ ।

यता, महाकाली सुगर मिलले भने रसायन नदीमा नमिसाएको बताएको छ । मिलका एडमिन कालुसिंह ठगुन्नाले मिलले कुलिङ वाटर मात्रै नदीमा मिसाउने गरेको र रसायनयुक्त पानीलाइ भित्रै पोखरी बनाएर राख्ने गरेको बताए । खरानीलाई हावामा उड्न नदिइ भुइँमा खासाल्ने मेसिन जडान भइसइकेको उनले बताए ।

त्यस्तै, मिलको रसायनले गर्दा यसै वर्ष वर्षातमा सिमरी खोलामा आएको बाढीले पुनर्वास नगरपालिका –५ वरपर करिब २ सय बिघाभन्दा बढी धान नष्ट गरेको थियो । त्यसपछि किसान राहतको आसमै बसिरहेका छन् । भागेश्वर चिनीमिलले फेरि रसायन खोलामा मिसाउन थालेको स्थानीयको आरोप छ । मिलको रसायनले गर्दा आफ्नो करिब २ बिघामा लगाएको धान नष्ट भएको पीडामा रहेका पुनर्वासका स्थानीय राजकुमार चौधरीले मिलले पुनः रसायन मिसाएको बताएका छन् ।

‘पुनर्वास–५ र ७ मा पर्ने सिमरी र निऊरा खोलामा फेरि पनि औषधियुक्त रसायन भागेश्वर चिनीमिलले छोडेको छ’, उनले भने ‘जलीय जीव मर्दैछन्, स्थानीयहरु मरेको माछा खाइरहेका छन् ।’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘यसमा कसको के भूमिका हुन्छ,आफै निभाउनुहोस् । गत सिजनको धान, उखु मरेको त थाहै होला ।’

भागेश्वर सुगरमिलका कर्मचारी डम्बर खड्कालाई सम्पर्क गर्दा उनको फोन उठेन । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले रसायन प्रशोधन केन्द्र बनाएर रसायन छुट्याउने काम नसकिएकोले नदीमा रसायनयुक्त पानी मिसाएको हुनसक्ने बताए ।

‘स्थानीयको विरोधपछि रसायन प्रशोधन गर्ने संरचना बनाउँदै छ, काम जारी नै छ’, नगरप्रमुख शर्माले भने’, काम नसकिएकोले मिसाको हुन सक्छ, त्यस्तो  नगर्न भन्छुँ ।’ नगरप्रमुख शर्माले सिमरी खोला आसपासका स्थानीयलाई मिलले प्रत्यक्ष असर पारिरहेको बताए । दुई सयभन्दा बढी बिघा जमिनमा लगाएको अन्नबाली नष्ट भएका किसानहरुको राहतको लागि पालिकाले सबै काम सकेर सम्बन्धित ठाउँमा पुर्याइसकेको र केन्द्रबाट बजेट नआउँदा किसानहरुले राहत रकम नपाएको उनले बताए ।

प्रतिक्रिया दिनुस