– हस्तबहादुर केसी ,
सन १८८३ मार्च १४ का दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एउटा अपुरणीय क्षतिको घटना घटित हुन पुग्यो । त्यो घटना थियो – विश्व सर्वहारा वर्गका महान् नेता तथा मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको देहावसान भएको दिन । त्यस दिन मानव समाजको , विश्व सर्वहारावर्गको सबैभन्दा शक्तिशाली मस्तिष्कले विचार गर्न छोडेर कुर्सीमा निदाएको थियोे ।
यसरी मार्क्सले यस धर्तीबाट बिदा लिएको आज १४१ वर्ष पुरा भएको छ । र विश्व सर्वहारा वर्गले आज महान् दार्शनिक कार्ल मार्क्सको १४१ आौं स्मृति दिवस भव्यताका साथ मनाउन गइरहेका छन् ।
कार्ल मार्क्स जन्म ५ मई १८१८ मा जर्मनीको ट्रियर शहरको एक वकिल परिवारमा भएको थियो । सन १८४८ फेब्रुअरी २१ का मार्क्स र एंगेल्सद्वारा कम्युनिस्ट लिगको तर्फबाट लण्डनबाट ” कम्युनिस्ट घोषणापत्र ” जारी गरियो । यो विश्वविख्यात कम्युनिस्ट घोषणापत्र नै विश्व सर्वहारावर्गको मुक्तिको सिध्दान्त बन्यो , जो मार्क्सवादका नामले स्थापित छ ।
मार्क्सवाद विश्व सर्वहारा वर्ग र सिंगो मानव जातिकै क्रान्ति र मुक्तिको विज्ञानका रुपमा स्थापित भएको छ । यद्यपि विश्वमा घटित क्रान्ति र प्रतिक्रान्तिका घटनाका कारण मार्क्सवादको वैज्ञानिकताप्रति केही आशंका पनि व्यक्त गरिँदै आएका छन् । परन्तु , अहिलेसम्म आइपुग्दा मार्क्सवादको विकल्पमा उभिन सक्षम क्रान्ति र मुक्तको कुनै विज्ञान जन्मन सकेको छैन । र , त्यो सम्भावना पनि देखिदैन ।
मार्क्सवाद जन्मने बित्तिकै यसका दुश्मनहरुले मार्क्सवादका विरुद्ध अनेकौं कुप्रचार गर्दै आएका छन् । खासगरी मार्क्सवादको भ्रष्टिकरण गर्ने र मार्क्सवादकै विरुद्ध उभिनेमा अवसरवाद ,अराजकतावाद र विभिन्न खाले प्रतिक्रियावाद देखा पर्दै आएका छन् । अवसरवाद आज संशोधनवादका विविध रुपमा प्रकट हुँदै आएको छ । त्यसैगरी अराजकतावाद पनि विभिन्न रुप र रंगमा देखा पर्दै आएको छ । यस प्रकारका प्रवृत्ति दक्षिण ,मध्य र उग्रवामपन्थका रुपमा प्रकट हुँदै आएका छन् । तिनले मार्क्सवादको संशोधन र भ्रस्टिकरण त गरे नै , तर ती अन्त्यमा मार्क्सवादको सर्वहारा वर्गीय क्रान्ति र मुक्तको सारतत्वमाथि हमला बोल्दै प्रतिक्रियावादकै शरणमा पुगेका छन् ।प्रतिक्रियावादीहरुले पनि मार्क्सवादमाथि नाना तहका आरोप लगाउँदै आएका छन् । यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने मार्क्सवादका अनुसार सर्वहारा वर्गीय राज्यसत्ताको सारतत्व भनेको सर्वहारा वर्गको अधिनायकत्व हो र ती सबै त्यस अधिनायकत्वको विरुद्ध खडा हुँदै आएका छन् । अनि ती सबैले यो वा त्यो रुपमा पुँजीपतिवर्ग वा प्रतिक्रियावादी वर्गको अधिनायकत्व पक्षपोषण गर्दै आएका छन् । यसैक्रममा नवमार्क्सवाद , उत्तर- मार्क्सवाद र उत्तर आधुनिकतावाद जन्मिएका छन् । अन्ततः संशोधनवाद , अराजकतावाद र प्रतिक्रियावाद सबैको मिलनकेन्द्र आज मूल रुपमा उत्तर आधुनिकतावाद बन्न गएको छ ।
उत्तर आधुनिकतावादले एकातिर विचारधाराको अन्त्य , क्रान्ति र मुक्तिका महान् वृतान्तहरुको , इतिहासको अन्त्य , साम्यवादको अन्त्य लगायतका अन्त्यको घोषणा गर्दै र अर्कोतिर उदारवाद , , पुँजीवाद , संसदवाद तथा साम्राज्यवादलाई चिरञ्जीवी बताउँदै आएको छ ।आज उत्तर – आधुनिकतावाद मार्क्सवादद्वारा प्रतिपादित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , वर्गसंघर्ष , सर्वहारा वर्गको अधिनायकत्व तथा साम्यवादको विरोध र पुँजीवाद , संसदवाद , नवउदारवाद , साम्राज्यवाद को पक्षमा उभिने क्रममा तिनको पुष्टि रका लागि अतर्कबुध्दिवाद , शून्यवाद , अज्ञेयवाद , बहुलवाद , सारसंग्रहवादका भुत्ते हतियारहरु भिरेर आएको छ ।साथै त्यसले विज्ञान र प्रविधिको विकास प्रक्रियालाई देखाएर तथा आफ्नो सत्ता बचाउनका लागि तिनको दुरुपयोग गरेर क्रान्ति र मुक्तिको दिशामा अग्रसर विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई तर्साउने काम गरिरहेको छ ।
वस्तुतः आज साम्राज्यवाद राजनीतिक , आर्थिक तथा साँस्कृतिक संकटको भुमरीमा फस्दै आएको छ । केही मुठ्ठीभर उत्पीडकहरुको हातमा पुँजी रको संकेन्द्रण
तथा उनीहरूको मुनाफादेखि मुनाफासम्मको यात्रा अब ध्वस्त हुँदै गएको छ । विज्ञान र प्रविधिको विकास भनेको उत्पादक शक्तिको विकास हो । त्यसले पुरानो उत्पादन सम्बन्धको ध्वंसको नारा बजाइरहेको छ । एकातिर स्वतन्त्रता तथा समानताको भ्रमपूर्ण नारा दिने र अर्कोतिर बहुसंख्यक श्रमिक जनताको आर्थिक समानताको विरुद्ध उभिई मुठ्ठीभर उत्पीडकहरुको आर्थिक हितलाई सर्वोपरि स्थान दिने कथित संसदीय लोकतन्त्रको आयु अब धेरै लामो छैन । उत्पादक शक्तिको विकास , वर्गसंघर्ष र आरोह तथा अवरोहका प्रक्रिया , साम्राज्यवादका सामु निरन्तर पैदा हुँदै आएका संकट लगायतका तथ्य र उनीहरूका शून्यवादी सिध्दान्तमा आधारित तर्कहरुबाट जतिसुकै कसरत गरे पनि मार्क्सवादको सैध्दमनणतिक खण्डन हुन सक्तैनन् ।
मार्क्सवाद गतिशील विज्ञान हो ।त्यो एउटै ठाउँमा जमेर बस्न सक्तैन । त्यो विकसित हुँदै जान्छ र त्यसको मार्क्सवाद – लेनिनवाद – माओवादका रुपमा विकास पनि भइसकेको छ ।तर अब यत्तिले पुग्दैन ।आजको वर्गसंघर्ष तथा विज्ञान एवं प्रविधिको विकासशीत हातेमालो गर्दै त्यसको अझै विकास गर्न जरुरी छ । यो अभिभारा विश्व सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र तिनको राजनीतिक प्रतिनिधित्व गर्ने विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आएको छ ।यसै ऐतिहासिक अभिभारा तथा दायित्व पुरा गर्नका लागि संघर्षरत रहनु नै मार्क्सको १४१ आौं स्मृति दिवस मनाएको सच्चा सान्दर्भिकता रहनेछ । यस अवसरमा मार्क्सवादको रक्षा , प्रयोग र विकास गर्दै सिंगो विश्व र नेपालमा समेतलाई बदल्नका लागि नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद प्राप्तिका लागि नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु ऐतिहासिक अभियानमा जुट्न जरुरी छ । किनकि मार्क्सवादको क्रान्तिकारी सारतत्व पनि यसैमा छ ।
अन्त्यमा मार्क्स अमर हुनुहुन्छ , मार्क्सका कार्यहरु उहाँका अनन्य मित्र एंगेल्सकै शब्दमा ” युगयुगान्तरसम्म जीवित रहनेछन्
प्रतिक्रिया दिनुस