खडक ओली

कञ्चनपुर । कञ्चनपुरको पश्चिम सीमावर्ती पटराखल्ला गाँउका वाडीपीडित विद्यालयमै बसेका छन । दोधाराचाँदनी नगरपालिका ३ पटराखल्लाका वाढीपीडित अझै विद्यालयमा (आश्रय स्थल) लिएर बसेका हुन । जगबुढा नदी गाँउ उर्लिएपछि पटराखल्लाका २७ परिवार विस्थापित भएका थिए । गाँउमा वाढी गएपछि घरभित्र हिलाम्मे भएर क्षतिदेखि खेतबारी बालुवामा परिणत भएपछि उनीहरु घर गाँउ फर्किन सकेका छैनन । विस्थापित परिवार अझैपनि गाँउकै जमुना आधारभूत विद्यालयमै बसेका छन । २७ परिवार मध्ये १६ परिवार मंगलबारसम्म विद्यालयमै आश्रय लिएर बसेका हुन । भने १० परिवार आफन्तको घरमा बसेका छन । गत २३ असारमा जगबुढा नदीमा आएको वाढीले विस्थापित भएका वाढीपीडित अझै घर फर्किने अवस्था नभएपछि बाध्य भएर विद्यालयमै बस्नु परेको बताएका छन ।

पटराखल्लाका वाढीपीडित भीमसेन दमाईले बालबालिका पढाउने विद्यालयमा बस्नु परेको बताए । ‘वाढीले घरमा भएको अन्न,राशनपानी सर समान बगायो, बस्तुभाउ पनि बगाईदियो, ‘उनले भने, ‘रातीका बेला मानिसको ज्यान जोगाउनै समस्या भयो, हामीहरु जसोतसो सुरक्षित स्थानमा आयौँ, तर घरमा न बस्तुभाउ रहे, न खेतबारी रह्यो, अब खाने के ।’ उनले विस्थापित भएपछि पालिकाले विभिन्न संघ संस्थासंग समन्वय गरेर राहत दिएको बताए । वाढीपीडित रामसरा सुनारले राती जगबुढा नदी गाँउपसेपछि नालाबाला सहित जोखिम मोलेर उचो भागमा आएको बताईन । ‘निरन्तर तीनदिनदेखि पानी परिरहेको थियो, २३ असारमा दिउँसोतिर जगबुढा नदीको बहाब पनि बढेको थिएन, ‘उनले भनिन, ‘राती भएपनि नदी गाँउतिरै आए हामी मध्य रातमा घरमा सबै छाडेर यहाँ विद्यालयमा आएका छौँ, अहिलेपनि घरमा बस्ने अवस्था छैन, त्यसैले हामी बाध्य भएर विद्यालयमै बसेका छौँ ।’

उनले वाढीपीडित भएपनि पालिकाले पनि निड्स, एनएनएसब्डूएसंग समन्वय गरेर मात्रै राहत दिएको बताईन । ‘पालिका, प्रदेश र केन्द्र तीनै सरकारले अहिलेसम्म हामीलाई कुनै राहत दिएको छैन, ‘उनले भने, ‘संघ संस्थाले दिएको राहत अन्नपानी खाईसकेका छौँ ।’ दोधाराचाँदनी नगरका स्थानीय अगुवा भीम कुमालले जगबुढा नदीले पटराखल्ला सहित नगरका सुन्दरनगर, कञ्चनभोज, शान्ति टोल, १८ नम्बर सीमा बस्ती,कुतियाकबर, सुर्खेती टोल सहित दर्जनौँ गाँउबस्ती डुवान, कटान, पटानको चपेटामा परेको बताए । ‘यो पटराखल्ला जगबुढा नदीकै तटिय क्षेत्रमा रहेको छ, ‘उनले भने, ‘नदीको सतह बृद्धि भएपछि सिङ्गै नदी गाँउमा उर्लिएपछि विस्थापित भएका नागरिक अझैपनि पुर्नस्थापित हुन सकेका छैनन ।’ पटराखल्ला नदीकै सतहसंग समान उचाईमा रहेकाले हरेक बर्ष वाढीको चपेटामा पर्ने भएकाले एकीकृत नमुना बस्ती बनाएर उनीहरुको पुर्नस्थापना गर्नुपर्ने बताए ।

‘यहाँ अब नमुना बस्ती बनाउनुपर्छ, बस्ती उचो भागमा बनाउने, तल खेतमा अन्नबाली लगाउन सकुन, ‘उनले भने, ‘यसतर्फ समेत तीनै तहका सरकारले सोच्नुपर्छ ।’ कुमालले महाकाली जगबुढा दुई नदीको विचमा रहेको सिङ्गो दोधाराचाँदनी नगरपालिका कटान, डुवानको विपद्बाट जोगाउन स्थानीयदेखि प्रदेश र संघीय सरकारले योजना ल्याउनुपर्ने सुझाव दिए । दोधाराचाँदनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले पटराखल्लाका वाढी पीडितको अल्प तथा दिर्घकालिन बसोबासका लागि कार्यपालिका बैठकबाट निर्णय गरिने बताए ।

‘अहिले पटराखल्लाका वाढीपीडित विद्यालयमै बसेका छन, ‘उनले भने, ‘सो बस्तीपनि वाढीको उच्च संकटमा परेको छ, अब यसको दिर्घकालिन योजना अघि बढाउने पालिकाको योजना छ ।’ ६ महिने शिशु सहित पाँच परिवारको एकै कोठामा बास दोधराचाँदनी नगरपालिका ३ जामनभाडी जमुना आधारभूत विद्यालयको चार कोठामा अझैपनि १६ वाढीपीडित परिवार विद्यालयमै बसेका छन । चार कोठा मध्ये दक्षिणबाट दोस्रो कोठामा एक ६महिने शिशु सहित पाँच परिवारको बास १६ दिनदेखि एकै कोठामा भएको छ । वाढीबाट विस्थापित भएका रामसरा सुनारका ६ महिने शिशु सहित रामसरा सुनार, गंगादेवी सुनार, बिमला सुनार, चन्द्र सुनार र गोपाल सुनारको परिवार एकै कोठामा बसेका छन । पाँच ग्याँसचुलो सहित सुत्नका लागि खाट, घरयासी समान सहित कोचाकोच गरेर उनीहरु एकै कोठामा बस्न बाध्य भएका छन ।

सिङ्गै गाँउ डुवान भएपछि अहिले पानी सुकेपनि घरमा क्षतिदेखि हिलाम्मे भएपछि उनीहरु घर फर्किने अवस्था नहुँदा विद्यालयमै बसेका छन । ६ महिने शिशुकी आमा देवसरा सुनारले वाढीबाट ज्यान जोगाएर विद्यालयमा आएको बताईन । ‘घरमा हिलाम्मे, खेत पुरै पटान भएको छ, ‘उनले भनिन, ‘घरमा फर्किएर बस्ने अवस्था नै छैन, फेरी घरमा फर्किदा आकासमा पानी पर्दा विस्थापित हुने त्रास छ, सन्तानको सुरक्षाका लागि यही कष्टकर बसाई छ ।’ सोही कोठामा बस्दै आएकी ७० बर्षिया बृद्ध गंगादेवी सुनारले वाढीले घरभित्र भएको अन्नबाली, राशन, लत्ता कपडा नष्ट गरिदिएपछि बाध्य भएर कोचाकोच गरेर एकै कोठामा बस्नु परेको बताईन । ‘यो जगबुढा नदी पटक पटक आएर हामीलाई दुख दिदै आयो, ‘उनले भनिन, ‘अब त कि बाँध कि उचो ठाँउमा बस्ती पुर्नस्थापना गरिदिनुप¥यो ।’

उनले विद्यालयको बसाई बाँच्नका लागि भएपनि कष्टकर भएको बताईन । ‘असार २१ गतेदेखि नै पानी गरेको थियो, २३ गतेपनि दिउँसोभरी र रातीपनि पानी प¥यो, उताबाट जगबुढा नदीको भङगालो गाँउमै पुगेर गाँउ डुवान भयो, हामी छातीसम्म पानी पुगेर जसोतसो ज्यान जोगाएर उचो भागमा रहेको विद्यालयमा आए, ‘१बजे रातीतिर हामी सबै गाँउले विद्यालयमा आएका हौँ, तर अहिलेसम्म हामीहरुको घरमा पानी सुकेको छैन । घर फर्किने अवस्था छैन, तर पनि सरकारले हाम्रो पुर्नस्थापनामा चासो दिएको छैन ।’ दुई साता बढीदेखि वाढी पीडित विद्यालयमा बस्दा विद्यालय नियमित संचालनमा समेत समस्या भएको जमुना आधारभूत विद्यालयले जनाएको छ ।

जमुना आधारभूत विद्यालयलका प्रद्यानाध्यापक महादेव भट्टले बर्षे विदा लगत्तै विद्यालय खुलेपनि अफिस बाहेक सबै कक्षाकोठाहरुमा वाढी पीडित बसेका हुँदा विद्यालय संचालनमा समस्या भएको बताए । ‘दोधाराचाँदनी नगरपालिकामा २ असारदेखि २१ सम्म बर्षे विदा थियो । चालु शैक्षिक सत्र ०८१ मा बैशाख–जेठमा गर्मीविदा पनि भयो, बर्खे विदा लगत्तै वाढी गयो, त्यसदेखि यता नियमित विद्यालय संचालनमा समस्या भयो ।’ गत शुक्रबारदेखि केही परिवार आफन्तका घरमा फर्किएपनि अहिलेपनि चार कोठामा वाढीपीडित बसेकाले कक्षा संचालनमा समस्या भएको बताए ।

९७ विद्यार्थी रहेको उक्त विद्यालयमा ९० वाढीपीडितको बसोबास उनीहरुका बस्तुभाउपनि विद्यालयमै ल्याउँदा शैक्षिक वातावरण कायम हुन नसकेको बताए । ‘एकै कोठामा दुई÷दुई कक्षा संचालन गरेर अहिले जेनतेन पढाईरहेका छौँ, ‘प्रअ भट्टले भने, ‘यही अवस्था लम्बिए आगामी दिनमा झन समस्या हुनेछ ।’ अन्नफल्ने पटराखल्लाको खेतबारी बालुवामा परिणत जगबुढा नदी गाँउ उर्लिएसंगै पटराखल्लाको अन्नफल्ने खेतबारी बालुवामा परिणत भएको छ । यस बर्ष स्थानीयले गरेको खानखेती सहित सिङ्गै गाँउको खेतबारी बालुवामा परिणत भएको हो । वाढीले २६ परिवारकोे खेतबारी बालुवामा परिणत भएपछि उनीहरु समस्यामा परेका छन ।

पटराखल्लाका स्थानीय गगने कामीले वाढीले एकातिर विस्थापित अर्कातिर घरमा भएको अन्नबाली, भौतिक क्षतिदेखि बर्षभरी खाने अन्नबाली(धान)खेती नष्ट भएको बताए । उनले नदी गाँउ पसेर पटान गरेको बताए । ‘नदीले वालुवासंगै बगाएर हामीहरुको पुरै खेत बालुवामा परिणत गरिदिएको छ, ‘उनले भने, ‘धानखेती गरेका थियौँ, पुरै धानबालीमाथि बालुवा भरिभराउ भएको छ ।’ स्थानीय श्याम सुनारले पटराखल्लामा पटक पटक वाढी गएको बताए ।

०५६ साल, ०७८ साल र ०८१ सालमा वाढी गएको बताए । ‘विगत ०५६ सालमा बडुवालटोल क्षेत्रको पुछारमा रहेको बस्ती उतिबेला पनि वाढीबाट विस्थापित भएर यही पटराखल्लामा सबेको थियो, ०५० सालमा तटबन्ध बाँधेपछि उनीहरु यहाँ बसेका हुन, अहिले फेरी वाढीको चपेटामा परेका छन ।’ उनले हरेक बर्ष पटराखल्ला वाढीको प्रभाव परेको भन्दै दिर्घकालिन बस्ती व्यवस्थापनमा जोडदिनुपर्ने बताए ।

दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पटराखल्लाको बस्तीको दिर्घकालिन व्यवस्थापनदेखि वाढीबाट भएको क्षतिको सरचना पुर्ननिर्माण राहतका कार्यक्रम अघि बढाउने बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले पटराखल्ला बाहेक जिल्लाभरीका वाढीपीडित घर फर्किएको बताए । प्रजिअ सापकोटाले स्थानीय स्तरमा पालिका सहितले वाढीपीडितलाई राहतको व्यवस्थापन गरेको बताए । प्रजिअ सापकोटाले नेपाल सरकारबाट सय थान त्रिपाल आएरपनि वितरण गरिएको बताए । ‘हामीले जिल्लाभरीप् वाढीबाट भएको क्षतिको विवरण राहत, पुर्नस्थापनका लागि निर्णय गरेर माथिल्लो निकायमा माग गरेर पठाएका छौँ, ‘प्रजिअ सापकोटाले भने, ‘पटराखल्लाका वाढीपीडितको व्यवस्थापनका लागि पनि निर्णय गरेर पठाएका छौँ, अब माथिमाथि के निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुस