धन सिंह धामी

महेन्द्रनगर । नेपालको अनुकुल बातावरणमा राम्रो स्वास्थ्य र आमदानिको श्रोत बन्दै गईरहेको सञ्जीवनी सरह शितलचिनीले आम जनमानसमा आफ्नो स्थान पाउदै छ । शितलचिनी छिटो हुर्किने, सुख्खा सहन सक्ने एक अद्भुत वृक्ष हो । शितलचिनिको लाभदायिक गुण पहिले नै बैज्ञानिक÷डाक्टरहरुले पत्ता लगाई उपयोग गर्न सुझाए पनि खासै नेपालमा यसले प्राथमिकता पाउन सकेको थिएन ।

लामो समय पछि यसको महत्व बारे थाहा पाएपछि प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गईरहेका छन । बालबालिकालाई कुपोषणबाट बचाउन अनेक कार्यक्रम ल्याइन्छन्, घर वरिपरि भएका बिरुवाको वास्ता नगरेर बाहिरबाट आएका भिटामिनको नाममा अन्य खानेकुरा दिइन्छ । तर, शितलचिनी जस्तो वनस्पतिको वास्ता गरिँदैन। शितलचिनीमा मानव शरीरलाई आवश्यक पर्ने सबै किसिमका पोषण तत्व पाईन्छन ।

अंग्रेजीमा मोरिङ्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीति–निर्माताको आँखा खुल्छ कि? यो वनस्पति तराई तथा मध्यपहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिन्छ ।

तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुन,मोरिङ्गाका नामले चिनिन्छ, कतै सितलचिनी पनि भनिन्छ । कृषि विकास मन्त्रालयले नै उपलब्ध गराएको तथ्यांक अनुसार तराईका १३ जिल्लाको ६७ हेक्टरमा वार्षिक पाँच सय ५४ मेट्रिक टन शितलचिनी उत्पादन हुन्छ । यसको कलिलो कोसा बजारमा बिक्री हुन्छ र तरकारी खाइन्छ । तर, अन्य भागमा यसको उपयोगिताबारे आम उपभोक्ता जानकार छैनन् ।

शितलचिनीको फल पोषणयुक्त हुन्छ । यसमा कीरा पनि खासै लाग्दैन । व्यावसायिक उत्पादनमा धेरै सम्भावना रहेको शितलचिनी खेती गरीनु पर्दछ । शितलचिनीको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ ।

यसलाई पाउडर बनाएर, बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्या सँगै झाडा–पखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने,कुपोषण बढ्दै जाने हुदा यसको सेवनले सञ्जीवनीको काम गर्छ । शितलचिनीले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि अच्यूत औषधिको काम गर्छ ।

तर हामी धेरैलाई यसको गुण थाहा छैन । यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन्। विज्ञका अनुसार शितलचिनी जस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ ।

अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अण्डामा पाइने जत्तिकै गुणकारी हुन्छ । यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दै छ । अनुसन्धानबाट पत्ता लागेको छ कि शितलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ । अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ ।

यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ । एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो । बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन भएका महङ्गो औषधि दिनु भन्दा करेसावारिमा उत्पादन गरेर सित्तैमा पाइने शितलचिनी खान दिनु पर्छ । शितलचिनीको बीउँबाट बनाइएको तेलचाहिँ ओलिभ तेल जत्तिकै राम्रो हुन्छ भनेर अनुसन्धानले देखाएको छ ।

ओलिभ तेलको उपयोग बिशेष परिवारहरुले गर्ने हुदा शितलचिनीबाट बनाइएको तेलबारे कसैले वास्ता नै गर्दैनन । शितलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ ।

यस्तो वनस्पति पाइने हाम्रो नेपालमा यहाँका बालबालिकामा कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनु जस्तै हो । दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ ।

आयुर्वेदमा यो वनस्पतिले तिन सय जति रोगको उपचार गर्छ भनिएको छ । यसलाई कतिले त जादुको रूख पनि भन्छन । यसलाई जादुको रूख भनिनुको कारण सायद यसमा धेरै प्रोटिन, गाजरमा भन्दा बढी भिटामिन ए, केरामा भन्दा बढी पोटासियम र दूधमा भन्दा बढी क्याल्सियम भएर हो । यसमा रोगसँग लड्ने शक्ति हुन्छ, आमाको दूध बढाउने तत्व हुन्छ भनेर आयुर्वेदमा लेखिएको छ ।

केही अनुसन्धानले यसको प्रयोगबाट उच्च रक्तचाप घट्न सक्ने सम्भावना देखाएको छ । धेरै औषधिय गुण रहेको शितलचिनिको पाउडर र तरकारी बनाएर यसको महत्व बुझेका व्यक्तिहरुले खाने गरेको पाईन्छ । शितलचिनिको विरुवा घर घरमा लगाउने हो भने यसले एकातिर औषधिको रुपमा अर्को तिर तरकारीको रुपमा पनि प्रयोग हुने र व्यवसायीक खेती गरे आमदानिको श्रोत बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुस