सुनौलो बिहानी न्यानो किरणसंगै
यौवन पोतिनेगर्छ सैपाल को
नाच्दै रमाउदै आइपुग्छन्
हर साझबिहान सुगन्ध छर्दै कस्तुरी
शिव पतिस्वरुप वरदानका लागि
पार्वतीले बर्षौ निराहार व्रत बस्दाको स्नानस्थल
शिवको जटाबाट उत्पत्ति गंगा महाकाली उद्गमस्थल
पवित्रस्थल ,देवस्थल, पुण्यस्थल देवभूमि
मेरी आमाको शीरमा चाँदी फुल्नेस्थल
भेडा, च्याङग्रा र चौरीगाईको चरन
यार्चा,चिराइतो र पाँचऔंलेको उर्वरभूमि
डाफेँ,मुनाल र कस्तुरीको आँगन
मलाई थाहा छ
दशकौं अगाडितिर
हजुरको यस्तै सुन्दरताले लोभिएर
गिद्दे नजर र विषालु पञ्जा गाड्न खोजेका थिए
दुश्मनहरुले हजुरका ती सुन्दर वक्षस्थलमाथि
मेरा पुर्खाले चन्द्रसूर्य साँची राखेर
गुलेली,भाला,हसियाहथौडा र खुकुरी लिएर
निस्केका थिए रणमैदानमा आमा को रक्षार्थ
काटिदिएका थिए आमाको वक्षस्थलमाथिका पञ्जाहरु
फुटालिदिएका थिए ती गिद्दे नजरहरु
ढालिदिएका थिए दुश्मनहरुका शीर
र
ससम्मान दोसल्ला ओढाएर वीरताको कदर गर्दै
फर्काइदिए दुश्मन जर्नेलको लास उस्कै घर
लेखेका थिए चिठ्ठी दुश्मनको नाममा
जहाँ अन्तमा लेखिएको थियो
जय गोर्खाली
विजयध्वजा फर्फराइरहदा
खुसीका रंगहरु रंगिदैजादा
एकसर्को कस्तुरीको सुगन्ध सर्काउदै
कोइलीको मीठो धूनसंग रमाउदै
सैपालको मुसुक्क मुस्कुराहटसंगै
लाखौं दुश्मनहरुको आलो रगतले पोतेर
अमिट एक इतिहास कोर्दै
मेरा हजुरबुबा बलभद्र कुँवरले
लेखेका थिए शिलालेख आमाको नाममा
जहाँ लेखिएको थियो
कालापानी,लिपुलेक हाम्रो हो
तत्पश्चात
नजर लगाउन समेत डराउथे
फर्किए दुश्मनहरु आफ्नै देशतिर
बरु दिएर गए वीर गोर्खालीहरुलाई बहादुरको संज्ञा
हजुरबुबाले
शीरमा चन्द्रसूर्यसंगै चाँदीको ताज लगाइदिएर
ओठमा लाली पोतीदिएर
छाँगाछहरा,झरना र सैपालको काखमुनि
ईन्द्रेणीझैं सजाएर राखे
गुन्युँचोली र पटुकामा सजाएर
शीरमा लालीगुराँश लगाएर
पाउमा पाउजु बाँधिदिएर
मुरली र मादलुको तालमा
सधैं नाच्न लगाए सैपालको आँगनमा
तिमीले मुसुक्क मुस्कुराईदिदा
पहराहरुमा तरंग फैलिन्छ
फूलहरु मगमगाउछन्
चन्द्रसूर्य झनै चम्किन्छन् झण्डामूनि
तर ,आज
निलो आकाशभरि कालो बादल मडारिएको छ
गाउन छोड्यो कोइलीले
नाच्न छाडे डाफेँ,मुनाल र कस्तुरीले
भयभीत देख्छु सैपाललाई
सुसेली हाल्ने छाँगाछहरा,पाखापखेराहरु
एकोहोरो रुपले चिच्याइरहेका छन्
उस्तै
आमाको न्यानो काखमा हुदाहुदै पनि
निस्सासिएको छु
थिचिएको छु भयले
त्रसित छु मडारिएको कालो बादलदेखि
आँखाभरि बगेरहेको छ महाकाली
भयभीत बनेको छु
कालापानी र लिपुलेकको छट्पटाहट्ले
फेरि
आज सम्झिदैछु मेरा हजुरबुबा
बलभद्र कुँवरको बीरता र साहस
तर
उहाँ हुनुहुन्न यो लोकमा
मात्रै छ बीरता र साहसको कथा
लाग्छ
फेरि एकपल्ट आमाको रक्षार्थ
हजुरबुबाले दिलाईदिएको सार्वभौमिकता बचाउन
र
वीर गोर्खालीको बहादुरीता कायम राख्न
उठ्नैपर्छ हामी बीरहरुले
जुट्नैपर्छ हामी बीरहरुले
उभिनैपर्छ सीमानाहरुमा
बचाउनुपर्छ हाम्री आमालाई
देश रहे मात्रै हामी रहन्छौं
हामीहरुले जुटे देश रहन्छ
त्यसैले
सबै उठौं जागौं
सीमाना बचाऔं । देश बचाऔं ।।
भुपी सरोवर
सिगास -३ बैतडी
हाल : सिन्धुपाल्चोक