काठमाडौं, माघ १५ ,नेकपा (क्रान्तिकारी माओवादी)ले देशका चार सहरबाट आज एकसाथ अभियानको उद्घाटन गर्दैछ । अभियानको कार्यतालिका अनुसार अनुसार १ र २ नं. प्रदेशको अभियानको उद्घाटन काँकडभिट्टाबाट गरिदैछ । यो अभियानको उद्घाटन तथा अभियानको नेतृत्व पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलले गर्नेछन् ।
त्यसैगरी ७, ६ र ५ नं. प्रदेशको अभियान सुदूरपश्चिमको महेन्द्रनगरबाट सुरु हुनेछ । यो अभियानको उद्घाटन तथा अभियानको नेतृत्व पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले गर्नेछन् ।
त्यस्तै काठमाडौंबाट सुरु हुने ३ नं. प्रदेशको अभियानको उद्घाटन काठमाडौंमा पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले गर्दैछन् । अभियानको नेतृत्व पनि नेता गजुरेलले नै गर्नेछन् ।

त्यसैगरी ४ नं प्रदेशको पोखराबाट सुरु हुने अभियानको उद्घाटन पार्टीका स्थायी समिति सदस्य परि थापाले गर्नेछन् । चार महिनासम्म चल्ने अभियानको नेतृत्व पनि नेता थापाको नै रहनेछ ।
अभियान सञ्चालनका लागि क्रान्तिकारी माओवादीले ‘अभियान निर्देशिका’ नै निर्माण गरी सम्बन्धित पार्टी च्यानलमा सर्कुलर समेत गरिसकेको छ । निर्देशिका अनुसार सम्बन्धित ब्युरो तथा प्रदेशहरुले पहाड, उपत्यका, भित्री मधेश र मधेश तराईका सबै जिल्लाहरुमा अभियान सञ्चालन गर्नु पर्नेछ र उक्त अभियानहरुलाई सञ्चालन तथा परिचालन गर्नका लागि सम्बन्धित केन्द्रीय ब्युरो, प्रदेश तथा जिल्लाहरुका बीच आवश्यक तालमेल मिलाउनु पर्नेछ । अभियानहरुको सञ्चालन र परिचालनको नेतृत्व सम्बन्धित व्युरो इञ्चार्ज, प्रदेश इञ्चार्ज तथा प्रदेश सेक्रेटरीहरु र जिल्ला इञ्चार्ज तथा जिल्ला सेक्रेटरीहरुद्वारा गरिने छ ।

परिस्थिति अनुसार उक्त अभियान र सङ्घर्षका कार्यक्रमहरुलाई परिमार्जित तथा हेरफेर गर्न सकिने प्रावधान पनि निर्देशिकामा राखिएको छ ।निर्देशिका अनुसार चार महिनासम्म चल्ने अभियानको नाम ‘राष्ट्रिय स्वाधीनताको रक्षा र सङ्गठन विस्तार अभियान’ राखिएको छ र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका लागि सङ्घर्ष र सङ्गठन विस्तार यो अभियानको महत्वपूर्ण कार्यभार रहेको छ ।

यस्ता छन् अभियानका उद्देश्यहरु
क्रान्तिकारी माओवादीको स्थायी समितिले तयार पारेको निर्देशिकामा पाँचवटा बुँदामा अभियानका उद्देश्यहरुलाई सुत्रबद्ध गरिएको छ ।
जस अनुसार, १. राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु, भारतद्वारा लिम्पियाधुरा सहित कालापानी क्षेत्रलाई गाभी बनाइएको नयाँ नक्साको विरोध र लिम्पियाधुरा, कालापानी, लिपुलेक सहित अखण्ड नेपालको नक्सालाई स्थापित तुल्याउनु,
२. कालापानी–सुस्ता–महेशपुर सहित समस्त सीमा अतिक्रमण, जनसंख्या अतिक्रमण, अर्थतन्त्र, राजनीति र संस्कृतिको क्षेत्रमा हुँदै आएको भारतीय हस्तक्षेपको विरोध गर्नु ।
३. मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग र जनसमुदायका हक, हित तथा अधिकारको पक्षमा सङ्घर्ष विकसित गर्नु ।
४। जनजीविकाका समस्यालाई जोडदार रुपमा उठाउनु, आर्थिक असमानता, महङ्गी, भ्रष्टाचार, कमिशनखोरी आदिका विरुद्ध आन्दोलन विकसित गर्नु ।
५. नयाँ जनवादी क्रान्तिको तयारी गर्नु ।
६. माक्र्सवाद–लेनिनवाद–माओवाद, समाजवाद तथा साम्यवादको पक्ष र साम्राज्यवाद, विस्तारवाद, वर्तमान सत्ता तथा संसदीय व्यवस्था र पश्चगामी सरकारको विरोधमा जनतालाई जागृत तुल्याउनु । आदि रहेका छन् ।
मुलबाटो बाट

प्रतिक्रिया दिनुस