कञ्चनपुर, माघ, २९ कञ्चनपुर–कैलालीका आदिवासी राना थारु समुदायको बस्तीमा खुसियाली भएको छ ।कुनै समयमा पहिचान सहितको मुद्दा अघि सारेर आन्दोलनमा होमिने कञ्चनपुर–कैलालीका रानाथारु समुदाय यतिबेला हर्षले गदगद भएका छन् ।
सरकारले कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना समुदायलाई आदिवासी जनजातिको छुट्टै पहिचान दिएपछि उनीहरु हर्षित भएका हुन् । यस गत असोजमा राना समुदायको भाषा सुचिकृत गरेको सरकारले अहिले आदिवासी जनजातिको रुपमा रानालाई लगग्नै सुचीकरण गरेको थियो ।
२० माघ मन्त्रिपरिषद्को निर्णयबाट पारित निर्णयलाई सरकारले घोषणा गरेपछि कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा खुसियाली मनाईदैछ । लामो समयदेखि यहाँका राना समुदायले पहिचानको मुद्दा उठाउदै आएका थिए, सडक आन्दोलनदेखि सदनसम्म राना समुदायको भाषा र रानालाई पनि आदिवासी जनजातिमा सुचिकृतका लागि पहल गर्दै आएका थिए । पञ्चायतदेखि गणतन्त्रसम्म आईपुग्दा राना समुदायले उठाउदै आएको माग संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेर सम्बोधन भएको भन्दै राना समुदाय सरकारप्रति खुसी भएका छन् ।
बुधबार नेपाल रानाथारु समाज बेदकोटले दैजीमा राना समुदायलाई सरकारले सुचिकृत गरेपछि खुसियालीमा आयोजित बधाई, स्वागत धन्यवाद कार्यक्रम राखेको थियो ।
पुर्व संविधान सभा सदस्य कृपाराम रानाले नेकपा नेतृत्वको सरकारले राना समुदायको पहिचानलाई सुचिकरण गरिदिएको बताए । ‘हामीले राना समुदायको माग सडकदेखि सदनसम्म पु¥याएका थियौँ, ‘उनले भने, ‘यसकै बाबजुत आज राना समुदायलाई सरकारले छुट्टै आदिवासी समुदायमा सुचिकृत गरेको छ ।’
प्रतिनिधी सभा सदस्य नारदमुनी रानाले सरकारले राना थारु समुदायलाई ढिलैभएपनि छुट्टै आदिवासी जनजातिमा सुचिकृत गरेकोमा खुसी व्यक्त गरे । राना थारु समुदायलाई आदिवासीमा सुचिकृत गरेसंगै उनीहरुको अधिकार सुनिश्चित हुने बताए ।
उनले ०३९ सालतिर राजा बिरेन्द्र शाह कञ्चनपुर आएका बेला राना समुदायबाट मन्त्री बनाउँने बचन दिएका थिए, राजा बिरेन्द्रले लबरु रानालाई मन्त्री बनाएपछि राना समुदायलाई सुचिकृतको मुद्दा अघि सारिएको बताए । ‘हामीले पहिल्यैदेखि राना समुदायलाई आदिवासीमा सुचिकृत गर्न माग अघि सारेका थियौँ, ‘उनले भने, ‘आज आएर राना थारु समुदायको सपना पुरा भएको छ ।’ कञ्चनपुरका थारु बुद्धिजिवी बल बहादुर डगौराले सरकारको निर्णय स्वागतयोग्य भएको बताए । उनले आगामी दिनमा राना र चौधरी समुदाय मिलेर दुवै समुदायको हक हितका लागि हातेमालो आवश्यक रहेको औल्याए ।
कालिका माध्यामिक विद्यालयका शिक्षक राजकुमार रानाले राना समुदायका लागि फलामे ढोका फुटाएजस्तै भएको बताए । उनले राना समुदायलाई समेत सुचिकृत गरेपछि थुप्रै हक अधिकार सुनिश्चित हुने बताए । ‘विभिन्न सरकारी कोठामा हाम्रो राना समुदायबाट पदैन्थे, ‘उनले भने, ‘सरकारको निर्णयबाट थुप्रै निमुखा राना समुदायको भलो हुन्छ ।’ केही थारु बिरोधी समुहले नजानेर कैलाली कञ्चनपुरका राना समुदाय सुचिकृत गरेपछि बिरोध गरिरहेको भन्दै उनले नबुझेर गरेको बिरोध भएको टिप्पणी गरे । उनले राना समुदायको हक अधिकारका साथै संस्कृति, भाषा, कला र संस्कार संरक्षण सम्र्बृद्धन हुने बताए ।
रानाथारु समुदाय कञ्चनपुरका अगुवा युवा अमर सिह रानाले राना समुदायलाई सरकारले छुट्टै पहिचान दिएको खुसी व्यक्त गरे । उनले यस अघि आफुहरुलाई राज्यले मान्यता नदिएको जस्तो लागेर दुखित भएको बताउदै अहिले हर्षित भएको बताए । थारु कल्याणकारी सभा, नेपाल आदिवासी जनजाति समुदायले राना समुदायको छुट्टै भाषा, संस्कृति पहिचान, भेषभुसा भएकाले राना समुदायलाई अलगै पहिचान दिनुपर्ने माग अघि सारेर विभिन्न लिखित निर्णय गरेर सरकारलाई सिफारिस गरेको बताउदै उनले केही राना थारु बिरोधी समुहले सरकारले राना समुदायको भलाईका लागि गरेको निर्णयमा बिरोध गर्ने थारु बिरोधी तत्व भएको टिप्पणी गरे । लोक सेवा लगायतका आदिवासी कोटामा अब राना थारु समुदायको पहुँच बढ्ने उनले बताए । अमरले राना थारु समुदायलाई सुचिकृत गराउनका लागि कञ्चनपुर कैलालीका थारु अगुवाले स्थानीयदेखि राष्ट्रपति विद्यादेवी भण्डारी लगायत, विभिन्न राजनीति दलसम्मलाई ज्ञापन पत्र बुझाएको बताए ।
नेपाल आदिवासी जनजाति महासंघ कञ्चपुरका पुर्व अध्यक्ष एव महिला अधिकारकर्मी समेत रहेकी राना थारु समुदायकी अगुवा नेत्री प्रेमबती रानाले सरकारको निर्णयबाट राना थारु समुदाय हर्षित भएको बताउदै अब राना समुदायका विद्यार्थी सहित समुदायको बृद्धि विकास हुने जोडदिईन् ।
बेदकोट नगरका मेयर अशोक कुमार चन्दले सरकारले रानाथारु समुदायलाई छुट्टै आदिवासीमा सुचिकृत गरेसंगै राना समुदायको बृद्धि विकास हुने बताए ।
कैलाली कञ्चनपुरमा झण्डै संख्या ३ लाख ३६ हजार र भारतमा समेत करीब १ लाख ५० हजार रानाथारू रहेको राना अगुवाहरुले बताएका छन् । झण्डै १६औँ शताब्दीदेखि कैलाली कञ्चनपुरमा राना थारु समुदायको बसोबास रहेको जनाकारहरुको भनाई छ । मुख्य पेशा कृषिलाई अंगालेका राना थारु समुदाय लामो समयदेखि पश्चिम नेपाल तराईका कैलाली कञ्चनपुरमा बस्दै आएका छन् । सरकारको निर्णयबाट दुवै जिल्लामा दिपावली, खुसियाली कार्यक्रम गर्न राना थारु समुदायलाई भ्याईनभ्याई भईरहेको छ । राना समुदायले राना थारुलाई सुचिकृत गराउनु भूमिका निर्वाह गर्ने थारु अगुवा, राजनीतिक दल, सरकारप्रति आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुस