कञ्चनपुर, फागुन २३ , भीमदत्त नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गरी ब्रह्मदेब र झोलुङ्गे पुलमा स्वास्थ्य जाँचका लागि हेल्प डेस्क राख्ने तयारी गरेको छ । भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले ब्रह्मदेब र झोलुङ्गे पुलमा डेस्क राख्ने निर्णय गरेको हो । कारोना संक्रमण फैलिएपछि पश्चिमी सीमा नाका गड्डाचौकीमा यस अघि नै स्वास्थ्य जाँच सुरु गरिएको छ ।

गड्डाचौकीस्थित हेल्प डेस्कले भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँच गर्दै आएको छ । गड्डाचौकीमा दुई वर्षदेखि हेल्प डेस्क सञ्चालन हुँदै आएको छ । विपद् व्यवस्थापन समितिले गड्डाचौकी बाहेक ब्रह्मदेब र झोलुङ्गे पुल भएर पनि भारतबाट आउने भएकाले हेल्प डेस्क राख्ने तयारी गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।

‘कोरोना संक्रमण अहिलेको विश्वव्यापी समस्या हो, त्यसबाट जोगिन प्रचारप्रसार र सचेतनाका कार्यक्रम आवश्यक छन्’ नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यसका लागि भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचका लागि गड्डाचौकीमा स्वास्थ्य जाँच भई रहेको छ, त्यस बाहेक ब्रह्मदेब र झोलुङ्गे पुलबाट आउने व्यक्तिहरुका लागि पनि हेल्प डेस्क राख्ने तयारी गरिएको छ ।’

नगर प्रमुख विष्टले शुक्रबार बिहान गड्डाचौकीस्थित हेल्प डेस्कमा पुगेर स्वास्थ्य जाँचको अवस्थाबारे जानकारी लिनु भएको छ । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख नरेन्द्रराज जोशी लगायतका स्वास्थ्यकर्मीले नगर प्रमुख विष्टलाई जानकारी गराउनु भएको छ ।
नगर प्रमुख विष्टसंगै भीनपा ८ का अध्यक्ष ध्वज बहादुर विष्ट र भीनपा १८ का सदस्य प्रशान्त भट्ट सहभागी हुनु भएको छ ।

गड्डाचौकीस्थित हेल्प डेस्कलाई स्वास्थ्य जाँचका लागि बिहीबार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले दुई थर्मामिटर दिएको छ । ती थर्मामिटरबाट स्वास्थ्य जाँच भई रहेको छ । भीमदत्त नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा जनप्रतिनिधि सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएका छन् । नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकमा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम प्रसाद जैसी लगायतका सहभागी हुनु भएको छ ।

यसैबीच भमिदत्त नगरपालिकाका नगर प्रमुख विष्टले विश्वव्यापी चुनौतीका रुपमा देखिएको कोरोना संक्रमबाट जोगिन पूर्व तयारी र सावधानी अपनाउन सबै नगर वासिन्दामा अपिल गर्नु भएको छ ।

प्रतिक्रिया दिनुस