नाम दिपक नेपाली (दिप सिजन )
हो म अपाङ्ग हु
त्यसैले
ए !!
देश तिमीले चिनेनौ
मलाई
यो समाजले देखेन मलाई
र लत्याईरहन्छ बारम्बार
र आफ्नै आफन्तले पनि
पल प्रतिपल
मलाई
तिरस्कार गरिरहन्छन
किनकी म एक अपाङग हु
र हाम्रो बाँच्न पाउने अधिकार त यही समाजको कसीभित्र सिमित छ
ए देश
ए नेपाल आमा
तिमीलाई जस्तै सिमाना मिच्दै मिच्दै खुम्च्याउन चाहन्छ मलाई पनि यो समाज
तर मेरो सोचाई सधै उडिरहन्छ
रकेट बनेर
जेट बनेर
र युद्द गर्न तयार हुन्छ मन
यो समाजको
सकुचित घेरासग
दुषित बिचारहरुसग
यहाको सामाजिक भेदभावहरुसग
संस्कार र साँस्कृतिक चिन्तनहरुसग
कहिलेकाहीँ त लाग्छ
तिम्रा धेरै कपुत सन्तानहरुले
देशको सिमाना बेचेजस्तै
म पनि मेरो आत्मा बेचेर बाचौकी
र कुनै बिदेशीलाइ भनौ
ए !अमेरिका
ए ! चाईना
हे ! युरोप
तिम्रो आधुनिक प्रविधी प्रयोग गरेर मेरो शरिरका अणु अणु खोतलेर
मेरो सोचाईका प्रत्येक
कणकणबाट,
शरिरका अङ्ग अङ्ग जोडेर एउटा अणुबम बनाउ र पड्काईदेउ दुनियाँ चकित हुने गरी
मेरा शरिरका काम नलाग्ने अणु अणु र कणकण जोडेर एउटा चमत्कारी यान बनाईदेउ र उडाईदेउ अन्तरिक्ष सम्म
मसग पनि छ यो दुनियाँ परिवर्तन गर्ने ताकत
किनकी तिम्रै देशले जन्माएको हो
हेलेन केलर
अनि बनाएको हो स्टेफन हकिन्सलाई
यो दुनिया परिवर्तनको संवाहक
तर
बिडम्बना
मेरो देशले झमक र मलाई जन्मायो
तर जन्माउन सकेन समाजको फराकिलो सोच
त्यसैले ए देश बरु मलाई पनि बेचिदेउ
र
यो देशको अर्गानिक माटोमाथि न्याय गर
किनकी मलाई मान्छे भएर बाँच्न दिएनन
र मान्छे सोचेन यो समाजले
यो देशले
म अपाङ्ग हु भनेर घरीघरी बोध गराउने यो समाजको
पर्खाल नाघ्न सकिन मैले‘।
राईनास ४, तिनपिप्ले, लमजुङ