कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै बाग्लुंग जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ।

लकडाउन खुल्ने बित्तिकै परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई मध्यनजर गर्दै गाउँपालिकाले रेडियोमार्फत विद्यार्थीलाई ट्युसन कक्षा सञ्चालन गर्न थालेको हो।

तयारीमा रहेका विद्यार्थीले लामो समय बिदामा बस्दा सिकेका कुरासमेत बिर्सिने र परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत पुनर्ताजगी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए।

आइतबारदेखि बरेङमा रहेको सामुदायिक रेडियो बिहानीबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चार विषयको कक्षा सञ्चालन हुनेछन्। कक्षा सञ्चालनका लागि विषय शिक्षकले स्टुडियोबाट विद्यार्थीलाई जानकारीहरु प्रदान गर्ने र विद्यार्थीले सामाजिक सञ्जाल वा टेलिफोनमार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको थापाले बताए।

रेडियोमार्फत कक्षा सञ्चालन गर्ने शिक्षकका लागि गाउँपालिकाले प्रतिकक्षा ५०० पारिश्रमिक दिने विधि तयार गरेको छ। विद्यालय खोल्न वा ट्युसन, कोचिङ कक्षा सञ्चालन गर्न सम्भव नरहेकाले रेडियोको विकल्प खोजिएको उनले बताए।

प्रतिक्रिया दिनुस