पहिलाद राना, कञ्चनपुर

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १९ वर्षिय करन रानाले २०६५ सालमा विद्यालय छोड्नुप¥यो । त्यसबेला उनी कक्षा ३ मा पढ्दै थिए । घरमा बोल्ने र विद्यालयमा पठनपाठन हुने भाषा अलग भएपछि उनलाई पढ्न निकै कठिन भयो । उनको घरपरिवारमा बोलिने भाषा राना थियो । विद्यालयमा भने नेपाली भाषामा पढाई हुने भएकाले आफूलाई पढाएको कुरा बुझ्न गाह्रो भएर विद्यालय छोडेको उनी बताउँछन् । “मैले ६५ सालमा विद्यालय छाडेको हुँ,” उनले भने, “घरमा आफ्नै भाषामा कुराकानी हुने, अनि विद्यालयमा नेपाली भाषा नजानेर दिक्क लागेर विद्यालय छोडें, अहिले लेबरी गर्दैछु ।”
बेलडाँडी गाँउपालिकामा मातृभाषामा पढाई हुने विद्यालय छैनन् । जिल्लामा कुल २ सय ६१ सामुदायिक विद्यालयमध्ये ५ विद्यालयमा मात्रै मातृभाषामा पढाई हुन्छ । अन्य स्थानीय तहका ग्रामीण भेगका विद्यालयमा अध्ययन गर्ने रानाथारु समुदायका विद्यार्थीहरुले भाषिक कठिनाई झेल्दै आएका छन् ।

मातृ भाषाका माध्यमबाट पढाई हुने सामुदायिक विद्यालयहरु पनि संकटमा परेका छन् । कैलाली र कञ्चनपुरका रानाथारु समुदायका बालबालिकालाई पढाईप्रति अभिरुची बढाउनका लागि स्थापना भएका ति सामुदायिक विद्यालयहरु विभिन्न कारणले गर्दा संकटमा पर्न थालेका हुन् ।
कञ्चनपुरको लालझाडी गाँउपालिकामा चार र भिमदत्त नगरपालिकामा एउटा विद्यालयमा मातृभाषामा पठनपाठन हुने गरेको छ । लालझाडीका देखतभूलीमा रहेको राष्ट्रिय आधारभूत बहुभाषिक विद्यालय,, डाँडाजाईमा रहेको बैजनाथ आधारभूत विद्यालय, पर्सियामा रहेको स्वतन्त्र माध्यामिक विद्यालय र कसवामा रहेको शिव शंकर आधारभूत विद्यालय तथा भीमदत्त नगरपालिका–१९ बाँगफाँटामा रहेको पञ्चकृति माध्यामिक विद्यालयमा मातृभाषाका माध्यमबाट पठनपाठन हुँदै आएको छ । ति विद्यालयहरुमा शिशु बालविकास देखि ३ कक्षासम्म मात्रै मातृभाषामा पढाई हुने गरेको छ ।
राना समुदायको भाषासँग मिल्दोजुल्दो पाठ्यक्रम निर्माण नहुँदा मातृभाषाको पठनपाठनमा समेत विद्यार्थीको रुची घट्दै गएको शिक्षकहरु बताउँछन् । राना समूदायबाटै पर्याप्त शिक्षक नभएका कारण पनि विद्यार्थीहरुलाई बुझ्न कठिनाई हुने गरेको स्थानियको गुनासो छ । कतिपय विद्यालयमा अहिले रानाभाषा राम्रोसँग नआउने पहाडी समुदायका शिक्षकहरुले पढाउने गरेको स्थानिय बताउँछन् ।

मातृभाषामा पठनपाठन हुने विद्यालयको अवस्था कसरी यस्तो भयो त ? यो प्रश्न लिएर म जिल्लास्थित शिक्षा विकास तथा समन्वय ईकाई पुगें । ईकाईका शाखा अधिकृत राजेन्द्र प्रशाद भट्टले मातृ भाषाका विद्यालयको ब्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी स्थानिय तहको रहेको बताए । आफूहरुको जिम्मेवारी समन्वय र अनुगमन गर्ने मात्रै भएको उनले सुनाए । “अहिले आधारभूत विद्यालय स्थानीय तहको जिम्मामा छन,” उनले भने, “हाम्रो काम अनुगमन गर्ने, तथ्याङ्ग संकनलन गर्ने मात्रै हो ।” विद्यालयको व्यवस्थापन एवं ऐन कार्यान्वयन गर्ने अधिकार स्थानीय तहको रहेकाले त्यहिंबाट समस्या समाधान हुने उनले बताए ।
भट्टका अनुसार विगतको तुलनामा सामूदायिक विद्यालयमा आधारभूत तहमा भर्ना हुने विद्यार्थीको संख्या झण्डै ५० प्रतिशतले घटेको छ । ०७२ सालमा ४९ हजार विद्यार्थी आधारभूत तहमा भर्ना भएका थिए भने हाल २६ हजार मात्र भर्ना भएका छन् । गाँउगाँउमा निजी विद्यालयहरु खुलेको र पैसा हुनेले आफ्ना सन्तान निजीमा पढाउँदा मातृभाषाका विद्यालयमा विद्यार्थी अभाव रहेको उनले बताए ।

कञ्चनपुरको लालझाडी गाँउपालिका–५ देखतभूलीमा २०१४ सालमा स्थापना भएको राष्ट्रिय आधारभूत बहुभाषिक विद्यालयमा २०६४ सालदेखि रानाथारु भाषामा पढाई सुरु भएको थियो । विद्यालयले राना भाषाको सुरुवात गर्दा सरकारले त्यसको पाठ्यक्रम समेत तयार पारेको थिएन । हाल विद्यालयमा ३ सय जना विद्यार्थी अध्ययनरत छन् । रानाथारु भाषामा पढाउन शुरु गरेर नमुना बनेको उक्त विद्यालय अहिले संकटमा पर्न थालेको छ । विद्यार्थीको रुची आफ्नै भाषामा भए पनि आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन नहुँदा विद्यार्थीलाई समस्या हुने गरेको विद्यालयका शिक्षकहरु बताउँछन् । प्रधानाध्यापक राजेश रानाले पाठ्यपुस्तक र राना भाषाका शिक्षक पर्याप्त नहुँदा विद्यार्थीको रुची घट्दै गएको बताए ।
अभिभावकहरुले पाठ्यपुस्तक परिमार्जन तथा माथिल्लो कक्षासम्म मातृभाषामा पठनपाठन हुनुपर्ने माग गर्दै आएका छन् । “कम्तिमा ५ कक्षासम्म मातृभाषामा पढाई हुनुपर्छ,” अभिभावक नरेश राना भन्छन्, “मातृभाषाको संरक्षणका लागि पाठ्यक्रममै राखेर लिखित रुपमा पठनपाठन गराउनुपर्छ ।”
राष्ट्रिय आधारभूत बहुभाषिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष झेली रानाले मातृभाषा पढाई हुने विद्यालयमा भाषिक समस्या भएका कारण पनि बालबालिकाहरुको आकर्षण निजी विद्यालयतिर जान बाध्य भएको बताए । अध्यक्ष रानाका अनुसार, यस बर्ष कोरोना महामारीका कारण निजि विद्यालयमा पैसा तिर्न नसक्दा सामूदायिक विद्यालयमा विद्यार्थीहरु बढ्न थालेका छन् ।
कञ्चनपुरमा रानाथारु भाषामा पढाई हुने पहिलो विद्यालय भएकाले सरकारले यसलाई व्यवस्थित रुपमा सञ्चालन गरी जोगाउनु पर्ने अध्यक्ष रानाको धारणा छ । नयाँ पुस्तालाई भाषामा दक्ष बनाउन पनि विद्यालयलाई जोगाउनु पर्ने अभिभावक रमेश राना बताउँछन् । “विद्यालय खोलेर मात्र हुँदैन,” उनले भने, “त्यही अनुसारको जनशक्ति स्रोत साधन जुटाउनुपर्छ ।”
बहुभाषिक विद्यालयमा हाल स्थायी दरबन्दीका चार शिक्षक, तीन राहत शिक्षक, दुई बालविकास र एक निजी गरी १० जना शिक्षक शिक्षिका छन् । विद्यालयमा ९० प्रतिशत रानाथारु समुदायका तथा १० प्रतिशत अन्य समुदायका बालबालिकाहरु अध्ययन गर्दछन ।
विद्यालयको नाम बहुभाषिक भए पनि १ देखि ३ कक्षा सम्म रानाथारु भाषामा पठनपाठन हुने गरेको प्रअ रानाले बताए । “हामीले विद्यार्थी बढाउन प्रयास गरिरहे पनि नजिकै खोलिएका निजी विद्यालयका कारण विद्यार्थी नबढेका हुन,” प्रअ रानाले भने, “सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुले पनि निजी स्कुलमा पढाउन थालेका छन् ।”

नेपालको संविधान २०७२ ले नेपालका सबै नागरिकलाई आफ्नो मातृभाषामा अध्ययन गर्न पाउने अधिकारको व्यवस्था गरेको छ । संविधानको धारा ३१ उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनी व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) ४ मा पनि मातृभाषामा अध्ययनका लागि व्यवस्था गरिएको छ । यद्यपि कुनै पनि तहका सरकारले यस्ता विद्यालयहरुको विकास र संरक्षणमा ध्यान नदिएको अभिभावकहरुको गुनासो छ ।

अभिभावक भीमराज रानाले विद्यालय खोलेर घोषणा गर्दैमा राना समुदायका विद्यार्थीलाई पढाईप्रति अभिरुची बढाउन नसकिने बताए । “विद्यालयमा मातृभाषा पढाई भएर मात्रै हुदैन,” ‘उनले भने, “भाषा अनुरुप पढाई गर्नका लागि रानाथारु भाषाकै शिक्षक हुनुपर्छ ।”
लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले स्थानीय सरकारले मातृभाषा पढाई हुने विद्यालयको स्तरबृद्धि गर्दै राना सामुदायका बालबालिकालाई विद्यालयप्रति रुची बढाउन विशेष ध्यान दिएको दावी गरे । उनले शैक्षिक रुपमा पछाडी पारेको समुदायको स्तरबृद्धिका लागि गाँउपालिकाले योजना अघि सारेको बताए । “जसरी भएपनि राना थारु समुदायका बालबालिकालाई विद्यालय पु¥याउनुपर्छ,” उनले भने, “यसका लागि हामी एकिकृत योजना बनाउँदैछौं ।” एकिकृत योजना अन्तर्गत राना समुदायका बालबालिकालाई मातृभाषाका विद्यालयप्रति उत्प्रेरित गर्न शिक्षक, अभिभावक र विद्यार्थीविचको सम्बन्ध विस्तार गर्ने तथा बालबालिकाको धारणा, रुची र आवश्यकता अनुसार योजना अघि सारेर मातृभाषाको विकास गरिने बडायकले बताए । लालझाडी गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अधिकांस राना समुदायका बालिबालिका अध्ययनरत छन् ।
मातृभाषामा प्रभावकारी पठनपाठनका लागि विद्यालय खोलेर मात्र पर्याप्त नहुने रहेछ भन्ने कुरा लालझाडीमा अवस्थित यी विद्यालयहरुबाट पुष्टि हुन्छ । विद्यालयमा पठनपाठनसँगै पाठ्यपुस्तकमा समयानुसार परिमार्जन तथा मातृभाषामा पोख्त शिक्षक पनि उत्तीकै जरुरी हुन्छ । त्यसका लागि स्थानिय सरकारले पाठ्यक्रम निर्माण, पठनपाठनको प्रबन्ध तथा मातृभाषामा पोख्त शिक्षकहरुको उत्पादनका लागि विशेष पहल गर्न जरुरी छ । अन्यथा, गुणस्तरिय शिक्षामा रानाथारु समूदायका बालबालिकाहरुको पहुँच कागजी सपना मात्र रहनेछ ।

प्रतिक्रिया दिनुस