सुदूरपश्चिम प्रदेशमा नेपाल आयल नियमको भण्डार क्षमता बढाइने भएको छ। तीन महिनाका लागि इन्धन भण्डार गर्न सकिने गरी ३० बिघा क्षेत्रफलमा भण्डार केन्द्र निर्माण हुन लागेको नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ। निगमको क्षमता विस्तारका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा गोदावरी नगरपालिका–८ स्याउलेमा रहेको शिवशक्ति सामुदायिक वन परिसरमा भण्डारण केन्द्र सञ्चालनमा आउने प्रादेशिक प्रमुख चिरञ्जन दासले बताए।

यसको आवश्यक प्रक्रियाका लागि उद्योगमन्त्री भट्ट नेतृत्वको टोलीले आइतबार उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीमा आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र आयल निगमका कर्मचारीहरूको सहभागिता रहेको थियो। गोदावरीको स्याउलेमा भण्डार केन्द्र सञ्चालनमा आए ९० दिनसम्म भण्डारण गर्न सकिने जनाइएको छ ।

धनगढीमा रहेको प्रादेशिक कार्यालय परिसरभित्रका ट्याक्करमा हाल २ हजार ५५० किलोलिटर पेट्रोलिय पदार्थ मात्र भण्डारण गर्न सकिन्छ। भण्डारण क्षमता बढाउन चालु आर्थिक वर्षदेखि नै काम सुरु गरिने केन्द्रीय आयल निगमले जनाएको छ। पेट्रोलियम पदार्थको आयात र खपत बर्सेनि बढ्दै गए पनि भण्डारण क्षमता नहुँदा बेलाबेलामा पेट्रोलिय पदार्थको अभाव हुने गरेको छ । भण्डारण क्षेत्र बढाउनका लागि निगमले योजना बनाए पनि जग्गा प्राप्त नहुँदा समस्या देखिएको नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ ढुवानीमा हाल ६८ वटा ट्यांकर छन्। प्रादेशिक कार्यालय निगमको डिपोमा पेट्रोल ९० किलोलिटर र डिजेल १ हजार ५९० किलोलिटर क्षमता छ ।

आयल निगम केन्द्रीय कार्यालयले धनगढीमा पूर्वाधार विस्तारका लागि कार्यक्रम अघि सारेकोमा आइतबार आपूर्तिमन्त्रीले गोदावरीमा भण्डार गृह निर्माणका लागि जग्गा अवलोकन गरेका हुन्। सुदूरपश्चिम डिपो विस्तारका लागि कम्तीमा ३० बिघा जमिन आवश्यक पर्ने आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख दासले बताए।

दैनिक खपत हुने पेट्रोलको तुलनामा भण्डारण क्षमता झन्डै १० हजार लिटर कम छ । आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा स्थापनाकालमै निर्माण गरिएको पेट्रोल भण्डारण ट्यांकी ७० हजार लिटर क्षमताको छ । पछिल्लो एक वर्षयता दैनिक पेट्रोलको माग ८० हजार लिटर रहेको छ । प्रादेशिक कार्यालयको भण्डार क्षमता कम भएकै कारण भारतबाट आउने ट्यांकरलाई सोझै वितरक संस्थामा पठाउने गरिएको छ ।

एक दिनमात्र पेट्रोल आयात नभए वितरणमै समस्या हुने गरेको छ । भण्डारण क्षमता मात्र होइन भारतबाट पेट्रोलियम पदार्थ ओसार्ने ट्यांकरको समेत अभाव छ । हाल ६८ ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आए पनि त्यो पर्याप्त नभएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थ ढुवानीका लागि थप २० वटा ट्यांकर आवश्यक देखिएको निगम प्रमुख दासले बताए ।

प्रतिक्रिया दिनुस