जिल्ला निर्वाचन कार्यालय बझाङले बिहीबारदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु गरेको छ । स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक सुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेको विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन् । प्राप्त विवरणअनुसार बसाइँसराइ गरेका, मृत्यु भएका, नागरिकता त्यागेकाको नामावली हटाउन थालिएको छ ।

दोहोरो नामावली परेकाको एक ठाउँमा मात्र कायम गर्ने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अप्रेटर प्रेम बोहराका अनुसार गत पुस ५ गतेसम्म ६० हजार ९८७ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका थिए । १८ वर्ष पुगेका तथा मतदाता नामावलीमा नाम लेखाउन छुटेका नेपाली नागरिकले पुनः मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् । बझाङका १२ ओटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता बुङगल नगरपालिकामा १९ हजार ६३ रहेका छन् । सबैभन्दा कम साइपाल गाउँपालिकामा एक हजार २५२ मतदाता रहेको कम्प्युटर अप्रेटर बोहराले बताए । उनका अनुसार जिल्लामा हाल १२५ मतदानस्थल रहेका छन् । रासस

प्रतिक्रिया दिनुस