भुवन भट्ट, महेन्द्रनगर–सुदूरपश्चिममा कोरोना संक्रमणको दर कुन अवस्थामा रहेको र अझै कति जोखिम रहेको भन्ने यकिन छुट्याउन सरकारी निकायहरूलाई नै मुस्किल पर्दे गएको छ। ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयले अस्पताल, स्वास्थ्य चौकीमा रहेका कोरोना संक्रमितको तथ्याङ्क राख्ने गरेता पनि होमआइसोलेसनमा बसेकाको भने कतै तथ्याङ्क नराखिएको पाइएको हो।
प्रदेश र स्थानीय सरकारको असमझदारीका कारण सुदूरपश्चिममा कति सङ्क्रमित होमआइसोलेसनमै कोरोना सँग लडिरहेका र कतिले ज्यान गुमाएका भन्ने तथ्याङ्क नै राख्न सकिएको छैन।
कोरोना संक्रमितको यकिन तथ्याङ्क नै नराखिँदा सुदूरपश्चिममा कोरोनाको दर कति र जोखिम कति रहेको भन्ने यकिन छुट्याउन सकिने अवस्था नदेखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले बताए। उनले होम आइसोलेसनमा बसेका संक्रमितको तथ्याङ्क मन्त्रालय सँग नरहेको बताए। स्थानियतहले होम आइसोलेसनको जानकारी राखेको हुनुपर्ने उनले बताए। उनले भने,–‘फलो अफ टेस्ट नगर्ने’ नीति लिइएकाले होम आइसोलेसनमा बसेका संक्रमितको यकिन तथ्याङ्क हामी सँग छैन।’
कञ्चनपुरमा कोभिड अस्पतालहरुमा रहेकाको समेत डाटा राखिएन
यता कञ्चनपुरमा भने कोभिड अस्पताल मै रहेका कोरोना संक्रमितको तथ्याङ्क नराखेको पाइएको छ। प्राप्त जानकारी अनुसार जिल्लाको बेलौरी नगरपालिका –९ स्थित कोभिड अस्पताल कुण्डामा आइसोलेसनमा बसेका ३ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्। तर उनीहरूको न त स्वास्थ्य कार्यालयले तथ्याङ्क राख्यो न त जानकारी नै मागियो।
कोभिड अस्पताल कुण्डामा कार्यरत ममता बिस्टका अनुसार वैशाख ३० गते वडा नम्बर ३ का ५० वर्षीय महिला मुना रानाको कोरोनाका कारण निधन भयो, त्यस्तै जेठ ६ गते वडा नम्बर १ की ५८ वर्षीय अक्सिरा शाहीले कोरोना बाट ज्यान गुमाइन, वैशाख २६ गते कैलालीको घोडाघोडीमा उपचाररत ७२ वर्षीय कोरोना सङ्क्रमित कम्ले सुनारलाई थप उपचारका लागी सेती प्रादेशिक अस्पताल भर्ना गरियो। त्यहाँ अक्सिजनको अभाव भन्दै उनलाई बेलौरी स्थित कोभिड अस्पताल कुण्डामा भर्ना गरियो। तर वैशाख २७ गते उनले ज्यान गुमाए।
स्वास्थ्य कार्यालय कञ्चनपुरले ६ जेठमा ३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।
बेलौरी वडा नम्बर ६ की ५० वर्षीय महिलाको जानकारी राखिएको थिएन। त्यस्तै वैशाख ३० र २७ गते मृत्यु भएकाको तथ्याङ्क समेत स्वास्थ्य कार्यालयले रेकर्डमा राखेको पाइएन्। यसरी कोभिडका बिरामीहरूले ज्यान गुमाएको तथ्याङ्क नराखिँदा वास्तविक सङ्क्रमित र महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या यकिन हुन नसकिरहेको हो।
जसले अझै कोरोना असर कति र कुन दरमा बढिरहेको भन्ने आङ्कलन समेत गर्न मुस्किल हुँदै गएको छ। तर स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार भने यस विषयमा अनविज्ञ छन्। अहिले सम्म जिल्लामा रहेका कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको यकिन तथ्याङ्क आफुहरुकहा राखिएको उनी दाबी गर्छन्। उनले भने,–‘जिल्लामा कोरोना संक्रमितको तथ्याङ्क हामीले नराखे कसले राख्ने, कतिपय कुराहरू गोप्य राख्नुपर्नेमा राखिएका हुनसक्छन, तर मृत्यु भएका र संक्रमितको नियमित तथ्याङ्क भने हेल्थ ग्रुप मार्फत सार्वजनिक गर्ने गरिएको छ।’
हामीले हेल्थ ग्रुपमा राखिएको तथ्याङ्कलाई पनि केलाउँदा मृतकहरूको कुनै जानकारी राखिएको पाएनौ।
होम आइसोलेसनमा रहेकाको अवस्था भने अज्ञात
एकातिर कोभिड अस्पतालमै रहेका संक्रमितको यकिन जानकारी नराखिँदा होम आइसोलेसनमा कति सङ्क्रमित महामारी सँग लडिरहेका छन् भन्ने कुनै निकाय सँग यकिन जानकारी छैन। संस्थागत आइसोलेसन, अस्पतालहरूमा तथा आइसिएच सेन्टरमा रहेका संक्रमितको तथ्याङ्क राखिने गरिएता पनि होम आइसोलेसनको जानकारी भने राख्न नसकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले स्विकारेको छ।
कञ्चनपुरका होम आइसोलेसन सम्पर्क व्यक्ति शिद्धराज भट्टले होम आइसोलेसनमा रहेकाको तथ्याङ्क राख्न नसकिएको बताए। उनले संक्रमितको सङ्ख्या अत्याधीक हुँदा होम आइसोलेसनमै कति जना उपचारारहत छन् भन्ने यकिन नभएको बताए।
कोरोना पोजेटिभ देखिएपछि व्यक्ती कि त हस्पिटल जाने कि त होम आइसोलेसनमै बस्ने भएकाले यकिन हुन सकिने अवस्था नरहेको उनको भनाइ छ।
अहिले कञ्चनपुरमा ८ सय ९० जना पिसीआर पोजेटिभ देखिएका घरमै बसेका होमआइसुलेसन सम्पर्क व्यक्ति भट्टले जनाए। तर उनीहरूको दोस्रो परीक्षणमा पोजेटिभ वा नेगेटिभ रहे भन्ने जानकारी आफुकहा नभएको उनले सुनाए। उनले प्रत्येक दिन वडा अध्यक्ष सँग सम्पर्क हुन नसक्दा समेत तथ्याङ्क राख्न नसकिएको जनाए।
तर होम आइसोलेसनमा रहेका व्यक्तिहरूमध्ये कुनैको ३ पटक समेत पिसीआर पोजेटिभ देखिने र कुनै ९ दिनमै ठिक हुने अवस्था रहेको छ। पहिलो पटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका व्यक्तिको स्वतः १० दिन पछि सक्रिय सङ्क्रमितको तथ्याङ्क बाट हटाउने गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।
पहिलो पटक पोजेटिभ देखिएकाको त्यसपछि लगातार पोजेटिभ वा नेगेटिभ देखाए पनि तथ्याङ्कमा भने १० दिन पछि निको भएको भनी उल्लेख गर्ने गरिएको छ। जसले महिना दिनमा होम आइसोलेसनमै ज्यान गुमाएमा व्यक्तिको तथ्याङ्क समेत नराखेको पाइएको हो।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता स्वास्थ्य महाशाखा प्रमुख कार्कीले होम आइसोलेसनमा रहेकाको तथ्याङ्क यकिन नभए पनि जटिल अवस्थामा पुगेर अस्पताल भर्ना भएकाको भने तथ्याङ्क राख्ने गरिएको जनाए। तर होम आइसोलेसनमा रहेकाको तथ्याङ्क नराखिँदा समुदायमा संक्रमणको दर यकिन हुन नसकिरहेको हो।