महेन्द्रनगर–कञ्चनपुरको महाकाली अस्पतालाई प्रादेशीक अस्पताल बनाइने भएको छ। बुधबार सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो। यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो।

कञ्चनपुर प्रदेशसभा २ (क) का सांसद लालबहादुर खड्का सामाजिक विकास मन्त्री भएपछि महाकाली अस्पताललाई प्रादेशिक बनाइको हो। मन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रादेशिक बनाउने निर्णय गरेको हो। अघिल्लो हप्ता मन्त्री भएका खड्काको महाकाली अस्पताल बनाउने यो पहिलो निर्णय हो। ‘मन्त्री भएपछि महाकाली अस्पताल बनाउने पहिलो निर्णय गरिएको छ’ मन्त्री खड्काले भने, ‘अब महाकाली पनि सेती अस्पतालकै हैसियतमा आएको छ।’

महाकाली अस्पताललाई प्रादेशिक बनाउन महाकाली अस्पताल व्यवस्थापन समितिले सुरुदेखि प्रदेश सांसदलाई दबाब दिँदै आएको थियो। ‘महाकाली अस्पताललाई प्रादेशिक बनाउन सुरुदेखि नै आवाज उठ्दै आएको थियो। आज त्यसलाई सम्बोधन गरिएको छ’ मन्त्री खड्काले भने। महाकाली प्रादेशिक अस्पताल भएपछि सेती अस्पतालझै सेवा सुविधा विस्तार, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माणलगायत कार्य हुनेछन्। प्रदेश सरकारको निर्णयपछि सुदूरपश्चिममा महाकाली र सेती दुई प्रादेशिक अस्पताल भएका छन्। यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीका टीकापुरलाई उप–प्रादेशिक अस्पताल बनाएको थियो। महाकाली अस्पताललाई टीकापुर सरह उप–प्रादेशिक बनाउन प्रदेश सरकार इच्छुक देखिएको थियो।

महाकाली अस्पताल व्यवस्थापनले उप–प्रादेशिकमा विमति राखेपछि महाकाली अस्पताल बनाइएको थियो। उप–प्रादेशिक बनाउन सेती र महाकालीको असमान हैसियत हुने व्यवस्थापन समितिको तर्क थियो। सुदूरपश्चिमको महाकाली र सेतीमा भएका दुवै अस्पताललाई प्रादेशिक बनाउनु पर्नेमा समितिको जोड थियो। समितिले महाकालीलाई प्रादेशिक बनाउन दबाब दिन अनौपचारिक रूपमा प्रादेशिक अस्पताल भन्ने गरिएको थियो। प्रदेश सरकारले निर्णय गरेपछि औपचारिक रूपमै प्रादेशिक अस्पताल हुने भएको छ। महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले प्रादेशिक बनाउनुपर्ने माग सम्बोधन गरिएको बताए। चिकित्सक नहुने अस्पतालमा अहिले विशेषज्ञसहित २८ जना कार्यरत छन्। विसं २०३४ मा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्थापना गरिएको महाकाली अस्पताल विसं २०४३ मा अञ्चल अस्पताल बनेको थियो।

प्रतिक्रिया दिनुस