– हस्तबहादुर केसी
“धर्म जनताको लागि ‘अफिम’ हो”– कार्ल माक्र्स
“ धर्म ‘फलहीन फूल’ हो” – भी. आई. लेनिन
धर्म के हो ? धर्मको कहिले र कसरी भयो ? धर्म केमा आधारित रहेको छ ? आदिबारे यस लेखमा धर्मकाबारेमा माक्र्सवादी विश्वदृष्टिकोणका आधारमा विश्लेषण गर्ने प्रयत्न गरिनेछ ।

(१) धर्म भनेको के हो ?
धर्म भनेको मानवीय चेतनाको त्यो एउटा रुप हो , जसको विशिष्ट लक्षण मनमा हावी भएको बाह्य शक्तिको भ्रमपूर्ण रुप हो , जसमा पार्थिव शरीरले अलौकिक रुप ग्रहण गर्दछ । धर्म मानिसको दिमागमा परेको भ्रमपूर्ण छाप हो ।
धर्म मानिसको समाज र प्रकृतिप्रतिको भ्रान्त धारणा हो । धर्म भनेको अलौकिक शक्तिमाथि विश्वास गर्नु हो । धर्मकोबारेमा फ्रेडरिक एंगेल्स भन्नू हुन्छ , –“ हरेक प्रकारको धर्म मानिसको दिमागमा ती बाह्य शक्तिशरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन , जसले तिनको दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शरीरहरुले अलौकिक शक्तिहरुक रुप धारणा गरेका हुन्छन् ।“ – माक्र्स – एंगेल्स , धर्म के बारे में , राहुल फाउन्डेसन , लखनउ , पृष्ठ १५० , ई. २००८ । धर्मकाबारेमा एंगेल्सले भनेको कुरा साँचो हो ।

(२) धर्मको उत्पत्ति कहिले भएको हो ?
धर्मको उत्पत्ति आदिम समाजमा भएको हो । अर्थात् धर्मको उत्पत्ति आदिम साम्यवादी समाजमा भएको हो, जुन बेला मानिस जंगली अवस्थामा थियो , त्यतिबेला मानिसको चेतना स्तर कलिलो थियो । त्यस बेला प्रकृति तथा बाह्य संसारकाबारेमा जान्नका लागि उसको ज्ञानको स्तर छिपछिपे थियो । उसले प्रकृतिमा घट्ने घटनाहरुलाई जान्न बुझ्ने क्षमता राख्तैन्थ्यो । आदिम साम्यवादी समाजमा उत्पादक शक्तिको विकासको निम्नस्तरको कारण प्राकृतिक शक्तिका अगाडि मान्छे अबुझ भएको हुनाले धर्मको यत्पति हुने वातावरण बनेको थियो । त्यसै बखत मानव समाजमा मानिसहरुको चेतनामा व्याप्त अज्ञानताको उपजका कारण धर्मको उत्पति भएको हो ।
यहाँनीर एउटा के कुरा जान्न जरुरी हुन्छ भने धर्म एक्कासि आफै जन्मिएको वा उत्पत्ति भएको होइन , यो मानिसद्वारा जन्माइएको हो ।

(३) धर्मको विकास कसरी भयो ?
धर्मको विकासको इतिहास ज्यादै लामो छ । आदिम समाजमा उत्पन्न भएको धर्म प्रारम्भमा गणसमाजमा गणचिन्हवाद , जीवात्मवाद तथा देवताहरु मान्ने चलन चलाएपश्चात बहुलदेवतावाद ( ३३ कोटी देवता भनेर स्थापित गरिएको पाइन्छ ) का रुपमा र त्यसपछि एकेश्वरवादका रुपमा विकास भएको पाइन्छ ।
जब दाससमाज सामन्ती समाजमा विकासित भयो त्यसपछि धर्म धेरै विकसित हुदै गएको पाइन्छ । दास समाजको विकाससंगै वर्गीय समाजको विकास भयो । वर्गीय समाजमा धर्मले हुर्कने र विकसित हुने मौका कसरी पायो भने त्यहाँ वर्गीय उत्पीडन , अन्यायपूर्ण सामाजिक सम्बन्ध , गरीबी जनता अधिकारबाट बञ्चित भएको अवस्था सृजना भयो अवस्था थियोे , त्यसले गर्दा सर्वसाधारण जनतामा निराशा बढ्यो र उनीहरूका आशाहरु अलौकिक शक्ति , ईश्वरमा केन्द्रित हुन पुग्यो । विश्वमा र कुनै खास खास देशका सन्दर्भमा पनि स्थानीय रुपमा अनेकौं धर्महरु देखिने गरेको पाइन्छ ।
तर संसारमा धेरै किसिमका धर्महरु देखा पर्दै आएको भए पनि विश्व धर्मका रुपमा तीन किसिमका धर्म विकसित भएका छन् । ती हुन् :
(१) बौद्ध धर्म
(२) ईसाई धर्म
(३) इस्लाम धर्म ।
यी तीन धर्ममध्ये :
(१) बौद्ध धर्म : बौद्ध विश्वमा पहिलो धर्मका रुपमा विकसित भएको हो । बौद्ध धर्मको जननी नेपाल हो । नेपालका गौतम बुध्द बौद्ध धर्मका प्रवर्तक हुन् । बौद्ध धर्मको जन्म ई. पू. २६०० वर्षको आसपासमा भएको पाइन्छ । दर्शनशास्त्रको मौलिक प्रश्नमा बुध्द तटस्थतावादी थिए । बौद्ध धर्म अर्थात् बौद्ध दर्शन तटस्थतावादमा आधारित रहेको छ। बौद्ध धर्म आज अन्तर्राष्ट्रिय धर्मका रुपमा विकसित भइसकेको छ ।
(२) ईसाई धर्म : ईसाई धर्मको जन्म ईसा मसिहको नामबाट इसाई सम्वतको प्रारम्भमा भएको पाइन्छ । यो रोमन (हालको इटली) साम्राज्यको पूर्वी क्षेत्र मध्यपूर्व (हालको इजरायल) मा भएको थियोे ।
ईसाई धर्मका संस्थापक ईसामसिह हुन् । यस धर्मको मूल धर्म ग्रन्थ बाइबल हो ।
(३) इस्लाम धर्म : स्लाम धर्मको जन्म सातौं शताब्दीमा मध्यपश्चिम एशियामा भएको थियो । स्लाम धर्मका संस्थापक पैगम्बर मुहम्मद ( ई. ५७०) हुन् ।
इस्लाम धर्म एकेश्वरवादमा आधारित छ । यो धर्ममा अल्लाह अर्थात् ईश्वरलाई न्यायदाता , संरक्षक , सर्वशक्तिमान , ज्ञानमय र पूज्य मानिन्छ । इस्लामको अर्थ हो– अल्लाहप्रति आत्मसमर्पण । यश धर्ममा अनगिन्ती शाखा – उपशाखाहरु छन् । जसमा शुन्नी , शिया र सूफी संप्रदाय प्रमुख रहेका छन् । स्लामको पहिलो धर्म ग्रन्थ “ कुरान “ र त्यस पछिको “ शुन्ना “ हो । शुन्नीहरु यी दुबैलाई मान्दछन् ।
यस अतिरिक्त दक्षिणी एशिया क्षेत्र विशेष गरि भारत, नेपाल लगायतका देशहरूमा विभिन्न धर्मका मिलनका रुपमा हिन्दु धर्मको विकास भएको छ । वेद, पुराण , उपनिषद हिन्दु धर्मका मूल ग्रन्थ हुन् ।
लोक, प्रलोक, स्वर्ग, नर्क, जन्म, पुनर्जन्म, भाग्य, कर्म, काल्पनिक ईश्वर, देवी, देवता, मठ– मन्दिर, पूजापाठ, कोरा कल्पना, अलौकिक प्रति विश्वास, अन्धभक्तता , पूण्य , अन्धविश्वास आदि हिन्दु धर्मका आधार हुन् ।
दार्शनिक रुपले हिन्दु धर्म आदर्शवादी (अध्यात्मवादी) दर्शनमा आधारित छ । आदर्शवादी दर्शनले सामन्तवर्ग, शोषक र शासकवर्ग तथा प्रतिक्रियावादी वर्गको सेवा गर्दछ ।

धार्मिक आस्थाको प्रश्न :
धार्मिक विचार , धार्मिक आस्था र पूजापाठ गरी हरेक धर्ममा मूख्यतः तीन तत्व हुन्छन् । यहाँनीर ध्यान दिनु पर्ने मुख्य कुरा के हो भने धार्मिक विचार सम्बन्धित धर्मको एक निश्चित प्रणाली हो , जुन कुनै अलौकिक शक्ति वा ईश्वरमा आधारित निश्चित विचार , आस्था , आचार र आदर्शमा आधारित हुन्छ ।
अतः धार्मिक आस्था भनेको कुनै अलौकिक शक्ति वा काल्पनिक ईश्वरमा विश्वास गर्नु हो । साथै धार्मिक पूजापाठ भन्नाले सम्बन्धित धर्मका कर्मकाण्ड , विधिवपधान आदिलाई लिने गरिन्छ ।
सामन्तवादी युगमा उक्त सबै धर्महरुले राजा – महाराजा, गुरु – पुरोहित , साहु – महाजन, जमिनदार, ठूला – ठालु, फटाहा, जाली – झेली, सिल्ली, ठग आदि सहितको सिंगो सामन्तवादको सेवा, चाकडी गरे र यी साँस्कृतिक उत्पीडनका समेत बलिया साधन बन्दै आएका छन् ।
राज्यहरुले विश्वका विभिन्न देशहरूमा यी मध्ये कुनै एक धर्मलाई आश्रय दिने गरेकोले धर्मसापेक्ष राज्यहरुको निर्माण हुन गएका हुन् । जस्तो कि नेपाललाई वर्षौंसम्म हिन्दु अधिराज्य घोषणा गर्दै आएका थिए सामन्तवादका मठाधिशहरु।
धर्म आदर्शवादमा आधारित भएकोले भौतिकवादी विश्वदृष्टिकोण र विज्ञानको हमेसा विरोधी रहिआएको छ । धर्मका पठ्ठा ठेकेदारहरुबाट तर्कको पक्षपोषण गर्ने , दार्शनिक तथा वैज्ञानिकहरुलाई दण्ड दिने , हत्या समेत गर्ने र उनीहरूका रचनाहरु जलाउने वा ध्वस्त पार्ने जस्ता घृणित तथा पाशविक कार्य हुदै आएका दृष्टान्तहरु छन् ।
तर समाज विकासका क्रममा मानव समाज आइपुग्दा पुँजीवादी समाजमा वर्गसंघर्ष , विज्ञान र भौतिकवादी विश्वदृष्टिकोणको , माक्र्सवादको प्रतिपादनका कारण धर्म कम्जोर बन्दै गएको छ ।
धर्म के हो भन्ने विषयमा कार्ल माक्र्स भन्नु हुन्छ , –
“धर्म जनताको लागि अफिम हो ।”
– माक्र्स – एंगेल्स धर्म के बारे में, राहुल फाउन्डेसन लखनउ, पृष्ठ १५०, सन २००८ ।
धर्म जनताका लागि वास्तविक अर्थमा अफिम नै हो । धर्म एक प्रकारको नसा मात्र हो । यसले मानिसलाई दुः ख वा उत्पीडनबाट मुक्ति प्रदान गर्न सक्तैन ।

धर्मका बारेमा विश्वदृष्टिकोणको प्रश्नः
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद धर्मको विरोधी रहेको छ । यसले कुनै काल्पनिक ईश्वर वा अलौकिक शक्तिमा विश्वास गर्दैन । तर यसले धर्मको विरोध यान्त्रिक रुपमा होइन द्वन्द्वात्मक भौतिकवादी तरिकाद्वारा गर्दछ ।

धर्मकाबारेमा माक्र्सवादी दृष्टिकोणः
धर्मबारे माक्र्सवादी दृष्टिकोण के हो ? भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्न हो । माक्र्सवाद एक वैज्ञानिक सिध्दान्त हो र विश्व सर्वहाराको क्रान्तिको विज्ञान हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । माक्र्सवादको सिध्दान्त भौतिकवाद हो र यश दर्शनको पध्दति द्वन्द्ववाद हो ।
माक्र्सवाद धर्मसापेक्ष होइन ,धर्मनिरपेक्षताको पक्षमा छ । धर्म निरपेक्षताको खासअर्थ सबै धर्मलाई समान हैसियत प्रदान गर्नु वा धर्महरुको बीचमा समन्वय कायम गर्नु भन्ने होइन । बरु धार्मिक उत्पीडन , अन्धविश्वास र हस्तक्षेपबाट मुक्त हुनु हो । माक्र्सवाद धार्मिक उत्पीडन , अन्धविश्वास र हस्तक्षेपको विरोधी मात्र होइन , अन्ततः धर्मकै विरोधी रहेको छ ।
माक्र्सवादले आज लेनिनवाद – माओवादमा विकास गरिसकेको छ । माक्र्सवाद – लेनिनवाद – माओवाद विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिध्दान्त बनेको छ ।
आज मालेमावादको आलोकमा विश्व सर्वहारावर्गले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण अनुरुप ठोस परिस्थितिको ठोस विश्लेषण गरि वर्गसंघर्षलाई आधार बनाउदै धर्मको विरोध गर्नुपर्ने दायित्व विश्व सर्वहारावर्गको ऐतिहासिक दायित्व बन्न पुगेको छ । वर्गसंघर्ष र क्रान्तिकाबीचबाट जनसमुदायलाई शिक्षित तुल्याएर नै खास अर्थमा धर्मको विरोध गर्न आवश्यक छ ।
कम्युनिस्ट क्रान्तिकारीहरुले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणद्वारा जनसमुदायलाई वैचारिक रुपमा समृद्ध बनाउदै गएपछि नै धर्म जस्तो भ्रान्त कल्पनाको अन्त्य हुदै जानेछ ।

हिन्दुधर्म :
यहाँनिर थोरै भए पनि हिन्दुधर्मका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ः
हिन्दुधर्मलाई आर्य धर्म संस्कृतिबाट विकसित भएको पाइन्छ । यो विश्वका विभिन्न देशमा मानिने धर्ममध्ये एक हो । यो धर्म विभिन्न मत मतान्तरमा बाँडिएर रहेकोले हिन्दुधर्मलाई अन्य धर्म जस्तो प्रतिपादन गरेको धर्म नभएर संस्कृति, परम्परा र सनातनका आधारमा कर्मकाण्ड र संस्कृतिक रुपमा अपनाइएको धर्म हो ।
नेपाललाई लामो समयसम्म एक मात्र विश्वको हिन्दु राष्ट्र मानिन्थ्यो । हिन्दुधर्म बहुदेववादी धर्म हो र यसमा वैष्णव , बौद्ध , शैव , जैनलगायतका धर्म रहेको पाइन्छ । र यसको जरो वैदिक धर्ममा रहेको पाइन्छ । हिन्दुधर्मले परत्र , परब्रह्म , पूर्वजन्म, स्वर्ग , नर्क र कर्मवाद आदिमा विश्वास गर्ने र पूजापाठ , यज्ञ – याज्ञादी , व्रत र तीर्थलाई महत्व दिन्छ
वर्तमानमा पनि देवीदेवताहरु समेतलाई पूजा उपासना गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । तर हिन्दुधर्मको कुनै खास सिध्दान्त नभएकोले के कुरा हिन्दुधर्ममा पर्छ वा पर्दैन भनी छुट्याउन नसकिने अवस्था यसमा रहेको पाइन्छ ।
हिन्दुधर्मको आधार वैदिक सभ्यतामा निर्मित मनुस्मृति आदिको वर्णाश्रम व्यवस्थालाई मानिन्छ । हिन्दुधर्मले समाजलाई खण्डिकृत गर्ने र ब्राह्मणलाई उच्च पद र विशेषाधिकार प्रदान गर्ने र क्षेत्रीलाई शासन , वैश्यलाई व्यवसाय र शुद्रलाई सेवा गर्ने तहमा राखी वर्ण विभाजन गरिएको छ । यश धर्मले अवतारवादलाई पनि मानेको छ र ईश्वरले अवतारको माध्यमबाट संसारको सृष्टि र व्यवस्थापन गर्दछ भन्ने मान्दछ ।
लामो समयदेखि नेपाल हिन्दु धर्मले जगडिएको देश हो । नेपाल बहुधार्मिक मुलुक रहदै आयो । नेपाल लामो समयसम्म हिन्दु धर्मलाई राज्यको धर्म मान्दै आएको स्थिति रहयो र नेपाललाई लामो समयसम्म हिन्दु अधिराज्य घोषित गर्दै आएको स्थिति हो । अहिले नेपाल धर्मनिरपेक्ष राज्य घोषित भएको छ । तर पुनरुत्थानवादीहरुले अहिलेसम्म पनि हिन्दु राज्यको आवाज उठाउने गरेको पाइन्छ ।
माक्र्सवादी (मालेमावादी) हरुले धर्मबारे कस्तो दृष्टिकोण र नीति अबलम्बन गर्ने भन्ने प्रश्न ज्यादै महत्वको प्रश्न हो । यस प्रश्नमा विशेष ध्यान दिन जरुरी हुन्छ । यस प्रश्नका बारेमा चर्चा गरिरहदा के कुरा भुल्नु हुदैन भने माक्र्सवादीहरु अर्थात् क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु विचारमा ठिक ठाउँमा रहेको बेला भौतिकवादी भएको र धर्मको विरोधी रहेको, तर विचारबाट गलिसकेपछि आध्यात्मवादी भएका थुप्रै उदाहरण छन् । जस्तो कि नेपाल मै झापा विद्रोहका मुख्य कमान्डर मोहनचन्द्र अधिकारीले “गेरु वस्त्र” पहिरिएर हिडेको र महान् दस वर्षे जनयुद्धको मुख्य नेतृत्व गरेका प्रचण्डले “भैंसी पूजा” गर्दै हिडेको नेपाली जनताले भुलेका छैनन् ।
यसो हुनुको मुख्य समस्या भनेको विश्वदृष्टिकोणका विषयमा स्पष्ट नहुनु नै हो । माक्र्सवादीहरु, क्रान्तिकारी कम्युनिस्टहरु विश्वदृष्टिकोणमा रुपान्तरण हुनै पर्छ । यदि विश्वदृष्टिकोणमा रुपान्तरण हुन जसकेकाहरु प्रचण्ड जस्तै “भैंसी पूजा” गर्न पुग्नुलाई नौलो मानिदैन । त्यसैले क्रान्तिकारी माक्र्सवादीहरुले माक्र्स – एंगेल्सबाट पाठ सिक्नुपर्ने हुन्छ । माक्र्सले हेगेलको आदर्शवादी द्वन्द्ववाद , फायरवाखको अधिभूतवादी भौतिकवाद , काण्टको अज्ञेयवादी आदर्शवाद र प्रुँधो – बाकुनिनको अराजकतावादी व्यक्तिवाद विरुद्ध भीषण संघर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरेर मात्र सन १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्नु भएको थियोे । अर्थात् विश्वदृष्टिकोणमा स्पष्ट भए पछि मात्र माक्र्स – एंगेल्सले सन १८४७ मा कम्युनिस्ट लिगको तर्फबाट कम्युनिस्ट घोषणापत्र लेख्ने जिम्मा लिनुभएको थियो ।
यस भन्दा पहिले नै माक्र्सले आफ्नो विद्यावारिधि नै “एपिक्युरियन र डेमोक्रेटियन दर्शन बीच भिन्नता” लेखेर गर्नु भएको थियोे । त्यस पछि माक्र्सले धर्म र दर्शनबारे बहस चलाउनु भएको थियोे । साथै सन १८४४ मा माक्र्सले “हेगेलको कानुन दर्शनमा आलोचनाको योगदान” शीर्षकको प्रसिद्ध आलेखमा धर्मको आलोचना गर्दै संश्लेषण गर्नु भएको छ “धर्म जनताको लागि अफिम नै हो ।” उक्त आलेखमा माक्र्सले अगाडि लेख्नुभएको छ ,– “ईश्वरले मानिसको सृष्टि गरेको होइन, बरु मानिसले ईश्वरको सृष्टि गरेको हो ।” साथै लेनिनले धर्मलाई “फलहीन फूल” भन्नुभएको छ ।
यसर्थ यहाँ यो भन्न खोजिएको छ कि “धर्मरुपी कालो बादल” आफ्नो मनभित्रबाट हटाउनका निम्ति क्रान्तिकारी कम्युनिस्टहरू (माक्र्सवादीहरु) पहिले विश्वदृष्टिकोणमा रुपान्तरण भएको हुनु पर्दछ ।
अन्त्यमा धर्म अज्ञानता, अन्धविश्वास र रुढिवादमा अडिएको छ । यसले तर्क, तथ्य, अनुसन्धान र विश्लेषणको कुनै आवश्यकता महसुल नगरी केवल अन्ध परम्परामा चलिरहने हठ गर्दछ आजको वैज्ञानिक युगमा पनि धर्मले तर्क, तथ्य र अनुसन्धानलाई महत्व दिदैन । धर्मको सारतत्व यही हो ।
( लेखकः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुस