बैतडी : बत्ती बाल्ने महिना सुरु भएसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुँइचो लागेको छ। भगवान शिवको महिनाको रुपमा चिनिने साउन सुरु भएसँगै यहाँका विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीहरुले पूजाआजासंगै बत्ती बाल्न थालेका हुन्।
साउनलाई सुदूरपश्चिममा ‘कालो महिना’ भनिन्छ। साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए। ‘साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्,’ उनले भने, ‘हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्।’ शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास छ।
बिहानै उठेर नुहाइ धुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास छ। साउनभरि मन्दिरमा राति जाग्राम बस्ने, भजनकिर्तन गर्ने र बत्ती बाल्ने चलन छ। बसाइँ सरेका गएकाहरु पनि साउन सुरु भएसँगै ईष्टकुल देउवाको मन्दिरसम्म धुप बत्ती गर्नका लागि गाउँ आउन थालेका छन्। शक्तिपीठहरुमा पूजाआजका लागि एक सातादेखि नै माछा, मासु, लसुन, प्याज नखाएर शुद्ध रहनु पर्ने परम्परा छ।
बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन्। त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिरमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन्। सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम,देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन्। साउन सुरु भएसँगै दोगडाधाममा भक्तजनहरुको घुइँचो लागेको पण्डित गणेशदत्त भट्टले बताए। उनले भने, ‘साउन महिना सुरु भएयता दैनिक ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेका छन्।’