महेन्द्रनगर– ध्वस्त अछाम दरबार निर्माणमा १३ वर्ष बितिसक्दा समेत ३० प्रतिशत निर्माणकार्य अझै बाँकी नै रहेको छ । तत्कालीन विद्रोही माओवादीले सदरमुकाम आक्रमणका क्रममा २०५८ फागुन ४ को राति जिल्लाको प्रमुख प्रशासकीय केन्द्र अछाम दरबार ध्वस्त पार्‍यो । ध्वस्त दरबारको पुनर्निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

दरबार पुनर्निर्माणको काम २०६५ मै सुरु भएको हो । तर पटक–पटक निर्माण कार्य अवरुद्ध हुँदा हालसम्म भौतिक प्रगति ७० प्रतिशत मात्रै गरिएको जनाएको हो । ‘अछाम दरबारसंँग हाम्रा पुर्खाको इतिहास जोडिएको छ,’ स्थानीय देवेन्द्र केसीले भने, ‘दरबार बनाउँछौं भनेर पटक–पटक अल्मल्याएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै यसका विरुद्ध उत्रिने छौं ।’ पुनर्निर्माण समयमै सक्न पटक–पटक आफूले ध्यानाकर्षण र चासो दिए पनि अपेक्षित प्रगति नभएको बताउँछन्, जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर ।

‘ठेकेदारसँग कुरा गर्दा काठको समस्या अहिले पनि छ भन्छन् । हामीले पनि सोधीखोजी गरिरहेका छौं । पहिलेभन्दा अहिले काम अलि अघि बढेको छ,’ कुँवरले भने, ‘आफ्नै कार्यकालमा दरबार पुनर्निर्माणको काम सकिन्छ कि भन्ने लागेको थियो । तर अझै समय लाग्ने देखिन्छ ।’२०६७ मै निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र–साउद–तुल्छिदुर्गा–बडिमालिका–कुँवर जेभीले २ करोड २५ लाख रुपैयाँमा ठेक्का पाएको थियो । सुरुमा मीनबहादुर कुँवरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरिएका थिए ।

हाल निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएका छन् । जिल्लाका अन्य सरकारी कार्यालय पुनर्निर्माणमा तोकिएको समयसीमा नाघेमा जिल्ला पुनर्निर्माण समितिले ठेकेदारलाई हर्जाना तिराए पनि दरबार राष्ट्रिय महत्त्वको क्षेत्र भएको भन्दै हालसम्म हर्जाना लगाइएको छैन । पुरानै शैलीमा दरबार निर्माण गर्नुपर्ने भएकाले आवश्यक सालको काठ सजिलै उपलब्ध नहुँदा निर्माण कार्य ढिलो भइरहेको साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउद बताउँछन् । काठ उपलब्ध भए आगामी कात्तिकसम्म निर्माण सकिने उनले दाबी गरे । अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसैनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ मा सम्पन्न भएको हो ।

सरकारले २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा उक्त दरबार किनेको अछामी इतिहासका जानकार सुरतबहादुर शाह बताउँछन् । योगेन्द्रका भाइ तपेन्द्र शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको उनको भनाइ छ । तीनतले उक्त दरबारमा ३० कोठा थिए ।

प्रतिक्रिया दिनुस