दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले लट्ठा खुस्काइदिएको थियो । तुइनबाट खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् । सुरुको १० दिन र त्यसपछि थप गरिएको ७ दिनमा संकलित तथ्य र प्रमाणले ‘घटनामा भारतीय पक्षको संलग्नता देखिएको’ उच्च स्रोतले बतायो ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानका आधारमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएकै कारण नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको हो । यस्ता घटना दोहोरिन नदिन तुइन विस्थापन तथा पक्की पुल बनाएर आउजाउ सहज बनाउने, नेपालतर्फको भूभागबाटै सहज बाटो निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेट्न लागिएको छ ।
छानबिन समितिले यसलाई नै प्रमुख आधार बनाएर सरकारलाई रायसुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । घटना हुँदा मालघाटमै रहेका नेपाली प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइनको लट्ठा काटेपछि धामी भेलमा खसेको बताएका थिए । धामी बेपत्ता भएको पर्सिपल्ट साउन १७ मा सहसचिव गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सम्मिलित पाँच सदस्यीय समिति गठन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको थियो ।
भारतीयले लट्ठा खुस्काएको स्थान भारतीय भूभाग गस्कु हो । नेपालकै भूमिबाट सदरमुकाम खलंगा आउजाउ गर्न कठिन भएका कारण नेपालतर्फका मानिस तुइनबाट गस्कु हुँदै भारतीय बाटोबाट खलंगा जाने गर्थे । त्यही क्रममा साउन १५ मा धामीसहितका नेपाली तुइन तर्दै थिए । अरू बेला पनि तुइन तर्दा एसएसबीका जवान आएर कुटपिट गर्ने, मान्छे नभएको मौकामा लट्ठा काटिदिने गरेका थिए ।
गस्कुमा रहेका ती मानिस को हुन् भन्ने अनुसन्धान गर्न छानबिन टोलीले भारतीय पक्षसँग सहयोग मागेको थियो । घटनाको सत्यतथ्य पत्ता लगाउन पनि नेपालले आग्रह गरेको थियो । तर, पिथौरागढस्थित भारतीय जिल्ला प्रशासन (डिस्ट्रिक मजिस्ट्रेट कार्यालय) ले एसएसबीको संलग्नतालाई इन्कार मात्रै गरेन, अनुसन्धान एवं बेपत्ताको खोजबिन गर्न महाकाली किनारैकिनार दुवै देशतर्फ ड्रोन क्यामेरा उडाउन पनि उसले अनुमति दिएन । सहसचिव गौतम नेतृत्वको सुरक्षा टोली साउन १९ बाटै दार्चुला सदरमुकाम खलंगालाई मुकाम बनाएर अनुसन्धानमा जुटेको थियो ।
त्यही क्रममा धामीको खोजीमा प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको प्राविधिक टोली घटनास्थल पुग्यो । टोलीलाई महाकाली नदीको दुवै देशका किनाराबाट ड्रोनसहित खोजबिनमा परिचालन गर्ने योजना भारतीय असहयोगकै कारण पूरा हुन पाएन । त्यसपछि घटनास्थलबाट नेपालतर्फको भाग हुँदै करिब ४५ किमि क्षेत्रका शंका लागेका ठाउँमा ड्रोनबाट खोजी गर्दासमेत धामीको अत्तोपत्तो लागेन ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार साउन २३ मा महाकाली नदीपारि किनारैकिनार ड्रोन उडाउन पिथौरागढस्थित जिल्लाधिकारीलाई पठाइएको पत्रको जवाफ अहिलेसम्म आएको छैन । त्यसअघि साउन १६ मा दार्चुला प्रशासनले अनुसन्धानका लागि सहयोग माग्दा पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरूपले जवाफ नै दिएनन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानबिन समितिको प्रतिवेदनका आधारमा मात्रै घटनाबारे विस्तृतमा जानकारी गराइने बताए । समिति संयोजक गौतम केही दिनअघि दार्चुलाबाट स्थलगत निरीक्षण एवं प्रमाण संकलन गरी फर्किसकेका छन् । समितिका अन्य सदस्यहरू पनि केही दिनभित्रै काठमाडौं आउने तयारीमा रहेको पोखरेलले बताए ।
सुरुको १० दिन र त्यसपछि थप गरिएको एक साताको समय अपुग भएर प्रतिवेदन बुझाउने समय पुनस् एक साता थप गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबारबाट लागू हुने गरी समितिको म्याद दोस्रो पटक एक साता थपेका हुन् ।