संसारका १२ देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट फैलिसकेकाले नेपालमा पनि सतर्क हुनुपर्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन्।
कोभिड १९ भाइरसको डेल्टा भेरियन्टको क्षति बिर्सन नपाउँदै दक्षिण अफ्रिकामा भाइरसको म्युटेशन भएर बी.१.१.५२९ को नयाँ भेरियन्ट देखियो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले २६ नोभेम्बरमा उक्त म्युटेशनको नाम ओमिक्रोन राख्दै भेरियन्ट अफ कन्सर्न घोषणा गर्यो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ मंसीरमा प्रेस विज्ञप्ति जारी गर्दै यसबाट आम नागरिकलाई विदेश भ्रमण नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। विश्वभर १२ वटा देशमा यो भेरियन्ट फैलिसकेकाले नेपालमा पनि सतर्क हुनुपर्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन्।
डेल्टा भेरियन्टको क्षति नजिकबाट देखेका जनस्वास्थ्य वैज्ञानिकहरू नयाँ भेरियन्टसँग सतर्क हुनुपर्ने बताउँछन्। तर, हालसम्म उक्त भेरियन्टको सङ्क्रमण विस्तार गर्ने क्षमता, कोभिड–१९ विरुद्धको एन्टीबडी भएकाहरूमा सङ्क्रमण हुन सक्ने सम्भाव्यता र क्षति विषयमा धेरै कुरा बाहिर आइसकेको छैन।
डेल्टाभन्दा ओमिक्रोन के फरक छ ?
डेल्टामा भन्दा ओमिक्रोनमा अत्यन्तै धेरै म्युटेशन देखिएको भाइरोलोजिस्ट डा। सुदीप खड्का बताउँछन्। भाइरसको स्पाइक प्रोटिनमा डेल्टा र अल्फा भेरियन्टमा देखिएकासँगै थप नयाँ म्युटेशन देखिएको कारणले गर्दा सङ्क्रमणदर बढ्ने र कोभिड–१९ विरुद्धको एन्टीबडीले काम नगर्ने हो कि भन्ने शङ्का रहेको उनको भनाइ छ। “धेरै तथ्यहरू अहिले सार्वजनिक भइसकेका छैनन्, तर केही कारण छन् जसले गर्दा डर भने बढाउँछ,” डा।खड्का भन्छन्।
उनका अनुसार, पुरानो भेरियन्ट हराएर नयाँ भेरियन्ट धेरै देखिनु भनेको सामान्यतया भाइरस धेरै सङ्क्रामक र पुरानो एन्टीबडीले काम नगर्ने अवस्थामा पुगेको हो। यसअघि डेल्टा भेरियन्टको प्रकोप भएका ठाउँमा अहिले ओमिक्रोन भेरियन्ट फैलिंदै गएको हुँदा डेल्टाभन्दा यो अझै सङ्क्रामक हो कि भन्ने शङ्का गर्न सकिने डा. खड्का बताउँछन्।