लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिक हिंसा भनिन्छ । खासगरि यो लिङ्गका आधारमा गरिने हिंसा हो ।यो एक प्रकारको सामाजिक रोग हो जसलाई रोकथाम गर्ने चिकित्सकको रुपमा परिवार र औषधीको रुपमा शिक्षा वा सचेतनाको भुमिका रहन्छ। यस प्रकारको हिंसाले व्यक्ति मात्र नभई परिवार, समाज, र समग्र राष्ट्रलाई समेत नकारात्मक असर पार्दछ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, बहुबिवाह, महिलालाई सिमित कार्यमा मात्र राख्नु, जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ । लैंगिक हिंसा न्यूनीकरणका लागि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिन्छ। नेपालको सन्दर्भमा “घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान संचालन गरिएको छ । जसको अर्न्तराष्ट्रिय नारा ‘Orange the World-End Violence Against Women now’ नारा गरिएको छ।
यसै सर्न्दभमा बर्तमान नेपाली समाज बिभिन्न रुपमा लैंगिक हिंसाको सिकार हुन पुगेको छ, जसमा:
शारिरीक हिंसा: कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, सिमित कार्यमा मात्र महिलालाई जिम्मेवारी दिनु, शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरि गरिने कुनै पनि प्रकारका हिंसा यस अन्तर्गत पर्दछन् ।
मानसिक हिंसा: शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौच गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छा विपरित काम गर्न लगाउने साथै बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई समेत जनाउँदछ ।
सामाजिक साँस्कृतिक हिंसा: सामाजिक संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसाहरु जस्तै बालविवाह, बोक्सिको आरोप, झुमा, देउकी, वादी, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार इत्यादि सामाजिक साँस्कृतिक हिंसा भित्र पर्दछन् ।
यौनिक वा यौन हिंसा: काम गर्ने स्थान, , सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसा भित्र पर्दछन् ।
आर्थिक हिंसा: यसले आर्थिक श्रोत साधनको पहुंच वा प्रयोगमा बञ्चित गर्ने कार्यलाई जनाउँदछ ।
नेपालको परिप्रेक्ष्यमा उप्त लैंगिक हिंसा न्यूनीकरणका लागि व्यक्ति-व्यक्ति देखि लिएर घर, परिवार, समाज, समुदाय हुदै सरकारी एवं गैरसरकारी निकायहरुले तपसिलका हिंसा न्यूनीकरणका उपाय अवलम्वन गर्नु आजको आवश्यकता हो।
सरकारको अग्रसरता: तीन नै तहको सरकारले समाजमा यस्ता आपराधिक घटना हुन नदिन र जनताको जीवन रक्षाको जिम्मा लिनुपर्छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा बलात्कार घटना मिलापत्र हुने गरेकोमा यस्ता आपराधिक क्रियाकलापहरुमा जनप्रतिनिधिहरुले समेत कानुन बिपरित मिलापत्र गराउने कार्य रोक्नुपर्ने देखिन्छ। त्यसैले राज्यको बलियो उपस्थिति बिना यौनजन्य हिंसाको न्यूनीकरण हुँदैन ।
लैङ्गिक समनताको अनुभूति: नेपालको संविधानको प्रस्तावनामा नै लैङ्गिक विभेदको अन्त्य भनिएको छ । तर व्यवहारमा कार्यान्वयन भएको छैन । राज्यका हरेक निकायमा अझै लैंगिक समानता देखिँदैन । त्यसैले लैङ्गिक समानताको अनुभूति राज्यले गर्न सक्नुपर्छ ।
द्रुत न्यायिक प्रणाली: बलात्कारपछि महिलाको हत्या गर्ने र प्रमाण नष्ट गर्ने प्रवृत्ति बढ्दो छ । पीडितको न्यायमा पहुँच नभएको र न्याय प्रणाली मौद्रिक रुपमा जोखिने गरेको देखिन्छ। जसलाई निराकरण गर्दै अपराधीलाई डण्ड र पीडितलाई न्याय दिनुपर्दछ । कानुनमा तर्जुमा भएका नीति नियमको कार्यान्वयन पक्षलाई व्यावहारिक तवरले कार्यान्वयन गरि समाजमा हुने लैङ्गिक हिंसा रोक्नुपर्दछ । त्यसैले आजको आवश्यकता सक्षम निष्पक्ष र द्रुत न्यायिक प्रणालीको विकास गर्नु हो ।
कानुनको कार्यान्वयन : नेपालको संविधान र कानुन तथा विभिन्न आयोग र प्रतिवेदनहरुले प्रतिपादन गरेका कानुनी मान्यता प्राप्त विषयलाई कार्यान्वयन गरी लैंगिक हिंसालाई शुन्यमा झार्नु पर्दछ । संविधानले नै लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुत अन्त्य गरी समानुपातिक, समावेशी, सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्न सङ्कल्प राखेकोले यसको कार्यान्वयन गर्न सरोकारवाला सबैले एकजुट भई सफल समाज निर्माण गर्नु पर्ने देखिन्छ ।
अनुसन्धान प्रक्रियामा सुधार : अनुसन्धान गर्ने निकायले यस्ता घटनालाई विशेष प्राथामिकतामा राखि अनुसन्धान गर्नु पर्दछ । विभिन्न प्रललोभनमा परि घटनालाई मोड्ने प्रवृती हावी हुदै गरेको परिवेसमा यसलाई निराकरण गर्नु सम्बन्धित निकायको अहम भुमिका रहन्छ । त्यसकारण अनुसन्धान प्रक्रियामा सुधार गरिनु जरुरी छ ।
महिला सशक्तीकरण : महिला आफूमा नै कसरी सुरक्षित रहने भन्ने चेतना जाग्रित भएन भने हत्या हिंसाको घटना भइरहन्छन् । वर्तमान परिवेशमा राज्यले निर्धारण समुदायस्तरमा मात्रै नभई हरेक निकायमा महिला ससक्तिकरणमा वृद्दि गरि महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै क्षेत्रमा सशक्तीकरण गर्न जरुरी छ ।
परिवार र समाजको दायित्व : महिला हिंसा न्यूनीकरणका लागि चिकित्सकको रुपमा परिवारका सदस्य र अस्पतालको रुपमा घर परिवारको भूमिका रहेकोले महिला हिंसा न्यूनीकरण गर्न घर परिवार र समाजको उत्तिकै दायित्व हुन्छ । जबसम्म सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित हुँदैनन् तबसम्म यस्ता घटना न्यूनीकरण गर्न सम्भव छैन । त्यसकारण न्यूनिकरणका लागि परिवार र समाजले विशेष भुमिका निर्वाह गर्नु पर्दछ ।
पुरुष केन्द्रित जनचेतना अभियान: महिला र पुरुष यही समाजका उपज हुन् । यही समाजबाट नै महिलामाथि हिंसा भइरहेको छ । यौन जघन्य अपराध हत्या, हिंसाका विरुद्ध पुरुषकै नेतृत्वमा जनचेतना अभियान सञ्चालन गर्न। जसले गर्दा समाजमा हुने लैंगिक हिंसा अधिकतम रूपमा न्यूनिकरण हुन पुग्दछन ।
अन्त्यमा लैंगिक हिंसा महिलाहरुलाई मात्र नभई पुरुषहरुलाई नि हुने गरेको परिवेशमा यसको निराकरण गर्न सरोकार सबैले आ-आफ्नो क्षेत्रबाट विशेष भुमिका निर्वाह गरि समाजमा हुने गरेका र भईरहेका लैंगिक हिंसालाई शुन्यमा पुर्याउनु हामी सबैको कर्तव्य हो ।
लेखक
दिलेन्द्र प्रसाद पन्त
लेकम ४, दार्चुला