सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने सांस्कृतिक पर्व भुवा सुरु भएको छ । महाभारतको कथा तथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयवासीले भस्सो पर्व पनि भन्ने गर्छन् । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । भुवा पर्व पुसेऔँसीका दिनबाट सुरु हुन्छ । दसैँ तिहारपछि भुवा पर्वलाई नै विशेष महत्त्वको पर्वका रूपमा मनाउने गर्छन् । आफन्तसँगको भेटघाट, आपसी रमाइलो र सत्यको जित तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ । यो पर्व तीनदेखि पाँचदिनसम्म मनाइने गरिन्छ ।

बाजुराका जुगाडा, मार्तडी, आटीचौर, बाह्विस, ब्रह्मतोला, कुल्देवमाडौँसहितका क्षेत्रमा भव्यरूपमा यो पर्व मनाउने गरिन्छ । ब्रह्मतोलामा यो वर्ष हरिनो जात्रा पनि परेको छ । यो उत्सव मनाउँदा गरेका झाँकीसहित लाखे नाचहरु प्रर्दशन गर्ने गरिन्छ । पौराणिककालमा पाण्डव र कौरवबीच भएको लडाइँको सम्झना स्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको भुवा पर्वका जानकार बताउँछन् । यस पर्वलाई असत्यमाथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ ।

भुवा पर्वको अवधिभर पुरुष हातमा तरबार र खुकुरी लिएर युद्धकलाको प्रदर्शनी गरी आत्मियता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत्कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको ज्योतिष गोविन्द्रराज शास्त्रीको भनाइ छ । भुवाको सुरुको दिनको राति राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्धकला प्रदर्शन गर्ने प्रचलन रहेको छ । भूक्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ । जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रूपमा पनि विश्लेषण गरिएको छ ।

पुरुषहरुको पर्वका रूपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाले पनि हातमा तरबार र ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा जिल्लावासीले दसैँतिहारभन्दा बढी महत्त्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ । होरिनुकमा पाण्डवले प्रयोग गरेका हुलिया जस्तै वस्तुको प्रर्दशनसँगै त्यो अवस्थामा साथ दिने जङ्गली जनावरका तस्बिर पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ ।

पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरालगायत सुदूरपश्चिमका अछाम, डोटी, बझाङलगायत जिल्लामा पनि मनाउने प्रचलन रहेको छ ।

अन्तिम अपडेटस् पुस १९, २०७८

प्रतिक्रिया दिनुस