पप्पु गुरुङ्ग

कञ्चनपुर । विपद्को उच्च जोखिममा रहेको कञ्चनपुरको सीमावर्ती गाँउ कुतियाकबरमा कटानी जारी रहेको छ । महाकाली र जोगबुढा नदीको मिलन बिन्दु कुतियाकर गाँउको पुर्वतर्फ कटानी जारी रहेको छ । यस अघि निर्माण गरिएको अस्थायी तटबन्ध समेत साउने भेलले बनार्ईदिएको छ । सस्तो लोकप्रियताका लागि विभिन्न संघ संस्था, एनजिओदेखि, राजनीतिक दल, तिनका नेता कार्यकर्ता संसद सरकारी अधिकारी लगायतले कुतियाकरमा फोटो खिचाउन जाने तर, समस्या नबुझ्ने प्रकृतिले बर्षनी कटानीको मारमा परिरहेको स्थानीयको दुखेसो छ । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्ती, १८ नम्वर पिलर बस्तीमा महाकाली र जगबुडा नदीले अझै पनि क्षति गरिरहेकै छ ।

उर्बरा जमिनदेखि बस्तीतिर नदीले कटानी जारी राखेपछि स्थानीय त्रसित भएका छन । बस्तीलाई जोगाउन तटबन्ध निर्माण कार्यमा छुट्याएको रकम पनि ठेकेदार र उपभोक्ता समितिले काम गर्न नसक्दा यस वर्ष पनि कटानी र बाढीको पीडा स्थानीयहरुले व्यहोर्नु पर्ने भएको छ । कुतियाकवर बस्तीमा दोधारा चाँदनी लगायतका विभिन्न गैरसरकारी संस्थाहरुको सहयोग र सहकार्यमा अस्थायी तटबन्ध निमार्ण भएको थियो । उक्त तटबन्ध समेत भत्काईदिएपछि स्थानीय थप त्रसित भएका हुन ।

स्थानीयले बिगत लामो समयदेखि बस्ती जोगाउन पक्की तटबन्धको माँग राख्दै आएका छन, उनीहरुको यो आवाज सरोकारवालाले सुने नसुनेजस्तै गरेको पाईयो । वडादेखि संघीय सरकार, तिनका जनप्रतिनिधीलाई उक्त सीमावर्ती गाँउको विपद् समस्या जगजाहेर हुँदा समेत चुनावका बेला जनताको घर चहार्ने जनप्रतिनिधीलाई बलियो तटबन्ध निर्माणको कुनै वास्ता नहुँदा उनीहरु अभिभावक बिहिन जस्तै भएका छन । महाकाली र जगबुडा नदीले बर्षनी खेतीयोग्य जमिन कटान गर्नुको साथै भौतिक तथा मानवीय क्षति गर्दा समेत जनप्रतिनिधीले वास्ता नै राखेका छैनन । नदी कटानी गरेर बस्ती नजिक सोझिन थाले संगै स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारका प्रतिनिधीले समेत कटान क्षेत्रको अनुगमन गरेर ठुलठुला आश्वासन दिएका तर, कटानी नियन्त्रणका लागि दिर्घकालिन योजना ल्याउने भने सकेका छैनन । कमिसन खान नपाईने भएपछि स्थानीय सरकारले समेत सक्दो बजेट नदिएको कुतियाबरका जनताको दुखेसो छ ।

मुलुकमा राजतन्त्रको अन्त्य हुदै, संघीय लोकतन्त्र गणतन्त्र पछि तीन सरकार (स्थानीय, प्रदेश र संघीय) सरकार छन । तर कुनैपनि सरकारले कुतियाकबरको भविष्य बारे योजना अघि सारेको छैन । मात्रै तटबन्ध निर्माण हो, त्यसमा पनि तीनै सरकारको चासो नै देखिएन । छिमेकी मुलुक भारतले छेउमै बलियो तटबन्ध निर्माण गरेर आफ्नो भूमि र जनता जोगाउने काम गरेको छ । हरेक बर्ष मनसुन सुरु भएसंगै जनतालाई निन्द्रा समेत लाग्दैन । जनताले अहिले पनि टालटुले कमसल प्रचारबाजीको तटबन्ध नभई बलियो तटबन्धको माग गर्दै आएका छन । तर, स्थानीयले सरकारले बजेट छैन भन्दै टार्दै आएको छ । प्रदेश र संघीयको चासो नदेखिएको स्थानीय टेक बहादुर सुनारको दुखेसो छ ।

स्थानीय रनराम सुनारले हरेक बर्ष जमिन कटानी गर्दै आएको बताए । ‘कहिले वारी कहिले पारी कटानी गर्दै आएको छ, उनले भने, ‘तटबन्ध निर्माण नहुँदा हामी कटानीका चपेटामा परेका छौँ ।’ काट्दा काट्दै गाँउसम्म आईरहेको बताउँदै स्थानीय सुनारले सरकारले आफ्नो पीडा नबुझिदिएको दुखेसो पोखे । ‘चुनावका बेला भोट माग्न सबै आउँछन, हामीलाई समस्या पर्दा होई आउँदैनन, ‘उनले भने, ‘यो रुखले खेत बचाईदिएको छ ।’

अर्का स्थानीय धनमती सुनारले तटबन्ध निर्माण नहुँदा नै हरेक बर्ष बर्षातका बेला निद्रा समेत नलाग्ने गरेको दुखेसो पोखिन् । ‘यो नदीले बर्षातमा अलि ठुलो वितण्डा मच्चाउँछ, ‘उनले भनिन, ‘हिउँदै समेत कटानी हुन्छ, नेता र जनप्रतिनिधीलाई मतलब छैन ।’ उनले कटानी निरन्तर भईराखे सिङ्गै गाँउ नै विस्थापित हुने चिन्ता व्यक्त गरिन् । विज्ञहरुले समेत उक्त स्थानमा दिर्घकालिन रुपमा विपद् विश्लेषण गर्दै प्रभावकारी पक्की बाँध निर्माणमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस