दिपकराज भट्ट डडेल्धुरा फागुन २३, जिल्ला प्रशासन कार्यालय डडेल्धुराले होली नखेल्न आग्रह गरेको छ। बिहीबार जिल्ला प्रशासनले सूचना जारी गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि होली नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको हो।

प्रशासनले सार्वजनिक स्थानहरूमा भीडभाड, भेला, जमघट, मेला–महोत्सव नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बिहीबार एक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र जोखिमबाट पानी, अविर रंग प्रयोग गरी होली नखेल्नरनखेलाउन आग्रह गरेका हुन्।

जिल्लाभित्र सार्वजनिक स्थानहरूमा धेरै भीडभाड नगर्ने, अति आवश्यक कामको लागि मात्र बाहिर जान, हात मिलाउनुको साटो नमस्कार गर्ने, भेला, जमघट तथा मेला महोत्सवजस्ता कार्यक्रमहरू नगर्न नगराउनका साथै स्वास्थ्य अवस्थाबारे सचेत रही अग्रिम सतर्कता अपनाउन सरोकारवालाहरूलगायत सर्वसाधारणलाई प्रशासनले अनुरोध गरेको हो।

कोरोना भाइरसको संभावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि डडेल्धुरा अस्पतालमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको प्रशासनले जनाएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको स्मरण गराउँदै प्रशासनले धेरै भीडभाड हुने ठाउँमा नजानसमेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुस