काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपाने बुधबार रिहा भएका छन् । झुठा मुद्दा लगाइए थुनामा आखिएका अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई बुधबार जिल्ला अदालत काठमाडौंले दश दश हजार धरौटीमा रिहा गरेको हो ।
महानगरीय प्रहरी वृत महाराजगंज चक्रपथले जबर्जस्ती चन्दा ऐन लगाएर अदालतमा दायर गरेको मुद्दामा बुधबार भएको थुनछेक बहसमा न्यायधिश कमलप्रसाद पोखरेलले विद्यार्थी नेताहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनीहरुलाई अदालतले तोके बमोजिम धरौटी लिएर बुधबार साँझ रिहा गरिएको अधिवक्ता फडिन्द्र कार्कीले जानकारी दिए ।

बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ताहरु फडिन्द्र कार्की, देवकुमार मोक्तान, पेमा लामा लगायतले मुद्दाको विपक्षमा बहस गरेका थिए ।रिहा भएपछि विद्यार्थी नेताहरुलाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल, पीवीएम दसनेश शर्मा, पीवीएम सुरेश श्रेष्ठ, केस तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, केस गाविन्द पौडेल, अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल लगायतका नेताहरुले भव्य स्वागत गरेका थिए ।

विद्यार्थी नेताहरु गजुरेल र न्यौपानेलाई संगठनको कामको सिलसिलामा गएको बेला बुढानिलकण्ठको यूरो किड्सबाट गिरफ्तार गरिएको थियो । प्रहरीले झुठा मुद्दा लगाएर विद्यार्थी नेताहरुलाई फसाउन खोजेको भन्दै संगठनले विनाशर्त रिहाईको माग गर्दै विभिन्न दबाबमूलक संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । रिहाईको लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, अखिल क्रान्तिकारी सहित चार विद्यार्थी संगठनले पनि वक्तव्य निकालेर रिहाईको माग गरेका थिए ।

प्रतिक्रिया दिनुस