बैतडी फागुन ३० , विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न भारतसँग सीमा जोडिएका बैतडीका ५ नाका बन्द गरिएको छ । जिल्लाका शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका गरी १० नाकामध्ये ५ ओटा नाका बन्द गरिएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले जानकारी दिनुभयो ।

उनका अनुसार भारतबाट आवतजावत गर्ने मानिसबाट कोरोना फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी हाललाई ५ ओटा नाका मात्र सञ्चालन गरिएको छ । ‘जिल्ला समन्वय र सम्बन्धित स्थानीय तहसँग छलफल गरी नाकाबन्द गर्ने निर्णय गरेका छौं । खुला रहने नाकामा पनि हेल्थ डेस्क राख्छौं,’ उनले भने ।

जिल्लाका खुल्ला नाकामध्ये सबैभन्दा बढी आवतजावत हुने दशरथचन्द नगरपालिकाको जुलाघाट नाकामा स्वास्थ्यकर्मी सहितको हेल्थडेस्क स्थापना गरिएको छ । बाँकी नाकामा पनि २÷३ दिनभित्रै स्वास्थ्यकर्मीसहितको हेल्थडेस्क स्थापना गरिने जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । ‘हामीले स्थानीय सरकार प्रमुखसँग छलफल गरेका छौं । उहाँहरूले आ–आफनो स्थानीय तहका नाकामा हेल्थडेस्क स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
हेल्थडेस्क स्थापना गर्न सकिने तर चेकजाँच गर्ने उपकरण नभएको स्थानीय तहका स्वास्थ्यकर्मीको गुनासो छ । स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण मगाइसकिएकाले केही दिनमै आइपुग्ने स्वास्थ्य कार्यालय, बैतडीले जनाएकोछ ।

प्रतिक्रिया दिनुस