कृष्ण नेपाली ,कञ्चनपुर चैत्र २७ ,चीनको बुहानबाट फैलिएको कोरना भाईरस ९कोडिभ १९० को संक्रमणले विश्व अर्थतन्त्रलाई समेत पछाडी धकेलिदिएको छ । कोरना रोकथामका लागि सरकारले नेपाललाई लकडान गरेको छ । लकडाउन कारण बजार बन्द भएपछि कञ्चनपुरका कुखुरा उत्पादक किसान समेत मारमा परेका छन् ।
यतिसम्मकी एक सय रुपैयामा चार कुखुरा बिक्रि गर्न बाध्य भएका छन् । कतै २५ रुपैया किलो होलसेल दरमा बिक्रि गरिरहेका छन, भने कतै खाल्टोमा पुरिरहेका छन् । यो सम्भवत बोईलर कुखुरा पालेकै ईतिहासमा किसानले यस्तो दुर्दशा भोक्नु परेको छ ।दाना नपाएर भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका पदम नाथले ३ सय र लोक कार्कीले १२ सय २५ दिनका चल्ला खाल्टोमा पुरिदिएका छन् । उनीहरुले कुखुराका लागि आहारा अभावका कारण खाल्टोमा पुरिदिएको बताएका छन् ।

कुखुरा तथा अण्डा उत्पादक संघ कञ्चनपुरका अध्यक्ष बिक्रम नाथले यस अघि दुई किसान कार्की र नाथले चल्ला नष्ट गरेको बताउदै अरु किसानले समेत नष्ट गर्न तयार भएको बताए । आफ्नै फर्ममा रहेका कुखुरा बेच्नका लागि तयार अवस्थामा रहेको बताउदै उनले चल्लाहरु ४५ दिन पार गर्दै मासुका लागि बिक्री गर्न लायक भएका भएपनि कुखुरा बिक्री गर्न नपाएको बताए । देश लकडाउन हुँदा नाथले मात्रै होइन, कञ्चनपुरका कुनै पनि कुखुरा व्यवसायीले आफ्नो फर्ममा तयार भएका कुखुरा बिक्री गर्न पाएका छैनन् । उनले बिहीबार ८सय, दले नाथले ६सय र खेम नाथले ३सय कुखुरा नष्ट गरेका छन् । उनीहरु तीनै जना भीमदत्त नगरपालिका ९का स्थानीय हुन ।

लकडाउनका कारण उद्योग, कलकारखाना, यातायात, बजार लगायत क्षेत्र ठप्प छ । लकडाउनका कारण सुदूरपश्चिम प्रदेशका कुखुरा पालक किसानले दैनिक करोडको घाटा व्यहोर्नु परेको गुनासो गरेका छन् । सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा व्यवसायिक कुखुरा पालन गर्ने गरिएको छ । बजार नखुल्दा तथा कुखुराका लागि आवश्यक दाना तथा औषधी अभाव हुँदा कुखुरा पालक किसानले ज्युँउदै कुखुरा खाल्डोमा गाड्नु परेको छ । ‘लकडाउनले गर्दा कुखुरा पालक किसान धेरै मारमा परेका छौँ, सामाजिक दूरी कायम गरेर मासु बिक्रीका लागि स्थानीय प्रशासनसित समन्वय गरेपनि सुनुवाई भएन’ अध्यक्ष नाथले भने, ‘दाना नपाउँदा नै कुखुरालाई नष्ट गर्नुपर्ने अवस्था आयो।’ अन्य जिल्लाबाट कुखुराको माग भए पनि त्यहाँसम्म ढुवानीका लागि प्रशासनले सहजिकरण नगर्दा किसान झनै मारमा परेको उनको गुनासो छ ।
कञ्चनपुर र कैलालीमा उत्पादन हुने कुखुरा सुदूरपश्चिमको पहाडी जिल्लाका साथै सुर्खेत, नेपालगञ्जसम्म जाने गरेको थियो। तर अहिले भने लकडाउनले गर्दा दानाको अभाव तथा बजार नखुल्दा कुखुरा खाल्डोमा गाड्नु पर्ने अवस्था सृजना भएको छ ।
‘विभिन्न ठाउँबाट कुखुराको माग भएको छ, तर ढुवानीका लागि सहज छैन। प्रशासनले सहजिकरण गरिदिए हामी राति पनि पठाउने थियौँ’ अध्यक्ष नाथले भने, ‘खाल्डोमा गाँड्नु पर्ने अवस्था आएको छ, केही त विकल्प निकाल्नु पर्छ।’ कञ्चनपुर र कैलालीमा हाल सात लाख भन्दा बढी ब्रोइलर कुखुरा मासुका लागि तयार भएका छन्। कञ्चनपुरमा चार लाख र कैलालीमा तीन लाख ब्रोइलर कुखुरा मासुका लागि तयार भएको जनाइएको छ। तर बजार नखुल्दा ती कुखुरा फर्ममै थन्किएका छन्।
अहिले बजारमा तरकारी भन्दा बोईलर कुखुराको मासु सस्तो भएको छ । आलुको मुल्य प्रतिकिलो ५० रुपैया भएपनि बोईलर कुखुराको मुल्य प्रतिकिलो २५ रुपैया भएको छ । मासु भन्दा आलुको मुल्य दोब्बर भएको छ ।
जबकी कुखुरा उत्पादक किसानले जिउँदै कुखुराको मुल्य प्रतिकिलो यस अघि २ सय रुपैया किलो बेच्दै आएका थिए ।
कोरना कारण उत्पादन भएको कुखुरा खोरमै २ देखि ४ किलोसम्मका भएपछि दाना नपाएकै कारण किसानले धमाधम घाटा खाएरै भएपनि २५ रुपैया किलोका दरले बिक्रि गरिरहेका छन् । ५० देखि सय रुपैयामा कुखुरा बिक्रि गर्न बाध्य भएको किसानले बताएका छन् । कुखुरा फर्मका संचालकले बजार नपाउँदा खोरमै होलसेल दर राखेर बिक्रि गरिरहेको बताएका छन् । यस अघि कुखुरा उत्पादक किसानबाट मासु व्यवसायीले २सयमा जिउँदै खरिद गरेर २५०देखि ३सय रुपैयासम्म बिक्रि गर्दै आएका थिए ।कञ्चनपुरका एक हजार कुखुरा उत्पादक किसान मारमा परेका छन् । बजार र दाना अभावका कारण उनीहरु मात्र नभई उपभोक्ता, व्यवसायी लगायत कारोबारमा समेत भारी गिरावट आएको छ ।
महाकाली नगरपालिका २ चाँदनी हिमान्सु पोल्ट्रीफर्मका संचालक भरत भट्टले खोरमा उत्पादन भएका कुखुरा बजार अभावका कारण सस्तोमा बिक्रि गर्न बाध्य भएको बताए । ‘पोल्ट्रीफर्ममै होलसेल दरमा बिक्रि गरिरहेका छौँ, ‘उनले भने, ‘भएका दाना सकियो, अब कुखुरा पाल्न सकिदैन ।’
कुखुराको आहारा दाना नपाएपछि खान नपाएर कुखुरा खोरमै मर्नुभन्दा त सस्तोमै बिक्रि गरिरहेको उनले दुखेसो पोखे । खोरबाटै कुखुरा व्यवसायीले खरिद गर्ने भएपनि अहिले बजार बन्द भएका कारण व्यवसायीले कुखुरा खरिद गर्ने अवस्था नरहेकाले आफैले बेचिरहेको उनले बताए । उनले एक हजार कुखुरा कौडीको भाउमा बेचेको बताए ।
‘सस्तोमा बिक्रि वितरण गर्न थालेपछि स्थानीय लगायतले घरमा पाल्न खानका लागि जिउँदै कुखुरा लगिरहेका छन, ‘उनले भने, ‘दुईदेखि चार किलोसम्मका कुखुरा जिउँदै बिक्रि वितरण गरिरहेको छु ।’ दाना र बजार अभावका कारण खोरमा रहेका कुखुरा बिक्रि गरेर ढुक्क बस्न पाईने भन्दै उनले धमाधम बिक्रि गरिरहेको बताए ।
भएका खोरपनि रित्तिन लागेको बताउदै उनले कुखुरा सप्लार्यसका लागि व्यवस्थापन गरिदिन माग अघि सारेका छन् । किसान पोल्ट्री सप्लार्यसका संचालक किरण साउदले दाना आपूर्ति नहुँदा किसान मारमा परेको बताए । ‘जिल्लामा दुई सातादेखि दाना आएको छैन, ‘उनले भने, ‘कुखुरालाई खुवाउने चारा नै अभाव भएपछि किसान मारमा परेका हुन् ।’ उनका अनुसार कैलाली, दाङ, बुटबल लगायतका स्थानबाट दाना जिल्लामा आउँछन् । पशुपन्छी मन्त्रालयले दाना ढुवानीका लागि आग्रंह गरेपनि कुनैपनि निकायबाट पहल नहुँदा किसान मारमा परेको बताए । समाजिक दुरी कायम हुने हिसाबले किसानको पीडा सम्बोधनमा जोडदिए ।
कञ्चनपुरमा स्थानीय प्रशासनले राती ८बजेपछि दाना ढुवानी गर्न दिने भनेपनि उनीहरुले केही फराकिलो राख्नुपर्ने माग अघि सारेका छन् । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै अहिले नै मासु पसल खोल्न सकिने अवस्था नरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। कुखुरा खाल्डोमा गाडिरहेकोका किसानलाई स्थानीय तहको समन्वयमा मुचुल्का राखेर सो कार्य गर्न प्रमुख जिल्ला अधिकारी खतिवडाले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुस