गजल, धर्मानन्द भट्ट,
अस्त व्यस्त ध्वस्त भएको छ, पुनः बनाउनु छ।
मात्तिएका सम्हाल्नु छ, आत्तिएका मनाउनु छ।
महाभारत अर्जुन लडे तर विजयी कृष्ण नै हो
भनेर, गुरु मान्छु विवेक नगुमाउ सम्झाउनु छ।
सानो झुपडी भित्र ठूलो सपना अटाउदैन बुझ
सोच्दै छौ, बस्नु राम्रो सोचेर यसैमा रमाउनु छ।
शीर ठाडो पारेर बस्ने स्थान बनेको छ समाज,
पुग्यो मलाई अब के त्याग्नु वा के कमाउनु छ।
म जत्तिकै बनेर आऊ,बसौंला, हिसाब गरौंला
कसको के बनाउनु छ, कसको के बचाउनु छ।
चेतनशील छ, यो समाज विवेक प्रयोग गरिन्छ ।
सारा दुनियाँ सामु किन झुक्नु किन लजाउनु छ।
प्रतिक्रिया दिनुस