उत्तरी मोरङको पहाडी बस्तीमा मंगलबार एक प्राथमिक विद्यालयका प्रधानाध्यापकको हत्या भएको छ । घटनाको जिम्मा लिँदै नेत्रविक्रम चन्द समूहले प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
मंगलबार साँझ चन्द समूहको मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गर्दै आफ्ना नेता–कार्यकर्तालाई पक्राउ गराउन प्रहरीमा सुराकी गरेकाले उनीमाथि ‘कारबाही’ गरिएको जनाएको छ । मंगलबार बिहान श्रेष्ठलाई ४–५ जनाको समूहले घरैबाट अपहरण गरी करिब एक किलोमिटर टाढा पुर्याएर हत्या गरेपछि शव छाडेको पाइएको प्रहरीले जनाएको छ ।
दुवै हात अगाडि बाँधेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको जानकारी दिँदै प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले भने, ‘हत्यामा संलग्नको खोजी भइरहेको छ । संदिग्धको पहिचान हुन सकेको छैन ।’ गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यका अनुसार बिहान घरमा पुगेका पाँच जनाको समूहले श्रेष्ठलाई ओछ्यानबाटै अपहरण गरेर लगेका थिए । अपहरणको हल्ला गाउँमा फिँजिएपछि गाउँलेले खोज्दै जाँदा घरदेखि करिब एक किलोमिटर टाढा बर्खे र सेलेलिङबीचको जंगलमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनका अनुसार घटनास्थलमा भाँचिएका दुईरतीनवटा लट्ठी पनि फेला परेका छन् ।
घाँटी रेट्नुअघि श्रेष्ठलाई लट्ठीले हिर्काएको हुन सक्ने उनले बताए । मिक्लाजुङ क्षेत्रबाट विभिन्न समयमा सुरक्षा निकायले चन्द समूहका आधा दर्जनभन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।
उनीहरूको पक्राउमा श्रेष्ठले सुराकी गरेको समूहको आरोप छ । श्रेष्ठ नेपाल शिक्षक संगठन मोरङका साधारण सदस्य हुन् । प्रहरीले केही साताअघि त्यही क्षेत्रको उर्लाबारीबाट चन्द समूहका प्रदेश सेना प्रमुख भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको थियो । उनी द्वन्द्वका बेला तत्कालीन माओवादी सेनाको प्रथम डिभिजनअन्तर्गतको छिन्ताङ स्मृति ब्रिगेडको कमान्डर थिए । बोहरा पक्राउ परेपछि उनका कार्यकर्ताले श्रेष्ठलाई पटक–पटक धम्की दिएको स्रोतको दाबी छ ।
चन्द समूहले जारी गरेको विज्ञप्तिमा श्रेष्ठले पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएको र चेतावनी दिँदा पनि नसच्चिएको उल्लेख गरेको छ । विज्ञप्तिमा गत कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अपरेसन गराई काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको आरोप लगाएको छ ।
श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको चन्द समूहका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । हालको मिक्लाजुङ गाउँपालिका–१ साबिकको सिंगो रमिते खोला गाविस हो । रमितेको सिमाना इलाम र धनकुटासँग जोडिएको छ । भौगोलिक बनावट र सुरक्षा निकायको उपस्थिति नजिकै नभएकाले मिक्लाजुङको माथिल्लो भाग रमिते क्षेत्रमा चन्द समूहको गतिविधि बढ्दो छ ।
रमितेमा सुरक्षाकर्मी करिब ३० किलोमिटर टाढा उर्लाबारीबाट पुग्नुपर्छ । आसपासमा सुरक्षा निकायको उपस्थिति नभएकाले मंगलबारको घटना भएको हुन सक्ने त्यस क्षेत्रका प्रदेश सांसद कुलप्रसाद लिम्बूको भनाइ छ । करिब ३० किलोमिटर टाढा विकट क्षेत्रमा रहेको रमितेमा प्रहरी बिट राख्न आफूहरूले पटक–पटक गृह मन्त्रालय धाउँदा पनि सुनुवाइ नभएको उनले बताए ।
रमितेमा सुरक्षा निकाय र सरकारको उपस्थिति नभएकै कारण चन्द समूहको गतिविधि हरेक दिन बढ्दै गएको एक जनप्रतिनिधिले बताए । उनीहरूले यस क्षेत्रका हरेक जनप्रतिनिधि र विकास निर्माणका ठेकेदारसँग चन्दा माग्ने र नदिए धम्की दिने गरेको उनको भनाइ छ । उनका अनुसार मिक्लाजुङ क्षेत्र चन्द समूहका कार्यकर्ताको ‘सेल्टर’ नै बनेको छ । चन्दका कार्यकर्ताले गत वर्ष माघमा रमितेमा तीन दिन ‘सैन्य अभ्यास’ गरेको त्यस क्षेत्रका जनप्रतिनिधि बताउँछन् । उक्त अभ्यास सकिएलगत्तै शर्मा एन्ड भीमेश्वर निर्माण कम्पनीका तीनवटा एक्स्काभेटरमा उनीहरूले आगजनी गरेका थिए । कान्तिपुर