कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो। परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले पहिलो चरणमा लक्षित समूहमध्ये ८३ दशमलब ८० प्रतिशतले खोप लगाएको बताए।

सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमान १०७ प्रतिशतले खोप लगाएका छन्। दोस्रोमा सुदूरपश्चिम प्रदेशका व्यक्तिले खोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशतले खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका प्रदेश १ मा ७२ प्रतिशत, प्रदेश २ र बागमती र लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले खोप लगाएका छन्। कर्णाली प्रदेशमा हालसम्म ७३ प्रतिशतले खोप लगाएको मन्त्रालयले जनाएको छ। हालसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सरकारी कार्यालयका कर्मचारी,पत्रकार, स्थानीय निर्वाचित जनप्रतिनिधि, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीले खोप लगाइसकेका छन्।

सरकारले माघ ४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान संचालन गरेको थियो। अहिले पहिलो चरणको तेस्रो प्राथमिकतामा परेका औषधि पसलमा कार्यरत कर्मचारी, ल्याब कार्यरत कर्मचारी र सफाइकर्मीलाई खोप लगाउने कार्य भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सन् २०२१ को जुन सम्म सबै लक्षित ७३ प्रतिशत नेपालीलाई खोप लगाइसक्ने बताएका छन्। मन्त्रालयले आगामीले फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न लागेको छ।

कोभिड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा ८ हप्तापछि दिइने भएको छ। स्वास्थ्य मन्त्रालयले कोभिड(१९ प्राविधिक सल्लाहकार समितिको सिफारिसमा यो निर्णय गरेको हो। समितिले खोप दोस्रो मात्रा ८ देखि १२ हप्ताको बीचमा दिनका लागि प्रस्ताव गरेको थियो। नेपालमा अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग गरेको छ। पहिलो चरणमा भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप प्रयोग गरिएको थियो।

दोस्रो चरणमा सरकारले सोही कम्पनीबाट २० लाख डोज खोप खरिद गरेको छ। २० लाख डोजमध्ये पहिलो चरणमा १० लाख डोज खोप आइतबार मात्र नेपाल आइपुगेको छ।

प्रतिक्रिया दिनुस