म यो निर्वाचन मा मेरो जिवनको लगभग ३० औँ बर्षमा छु । मैले मताधिकार प्राप्त गरेको समयबाट अहिले सम्म कुनै वेला मगज त कुनै बेला मनको भरपुर उपयोग गर्दै विभिन्न पार्टी र तिनका अगुवा कार्यकर्ता लाई मत प्रदान गरेको छु।

यसका अलावा बिशाल मन बोकेर दिल खोलेर झण्डा बोक्दै तिनका खातिर मष्तिस्कले भ्याए सम्म रातदिन को प्रवाह नगरी चुनावी अभियानमा भकारीको मकै धान र गहु सम्म वेचेर खर्च जुटाउदै आत्मीयता को खातिर मत माग्न मलाई पत्याउनेको दैलोमा गएर भरपुर गफगाफ गर्दै अनुनय बिनय गर्दै सामाजिक रुपान्तरण का निम्ति आफु साक्षी बसेको छु। बुढी औलाको नङको चेपमा राखिएको कालो मसीमा आफू र आफ्नो समाजको रङ देख्नु लाई मैले जिवनको ठुलो उपलब्धि मानेको सम्झना ताजै छ । आफ्नो दाजु भाई र निकटतम मान्छे हरु संग सम्बन्धको जुवा खेल्दै राम्रो असल कर्तव्यनिष्ठ उमेद्वार लाई जिताउनु पर्छ भन्दै चुनावी रण भुमी मा प्रतिपक्ष संग ढुङ्गा मुडा प्रहार हुदाँको बखत पनि आफु पछाडी नहटेको जोशिलो अनुभव म संग छ। अर्धकाँचो मानसिकता बोकेर राजनितिक दल र त्यसको भातृ संगठन को सिद्धान्त लाई हदयङ्गम गरेर चैत बैसाख को चर्को घाममा पेन्टका बाल्टीन हरू हातमा झुण्ड्‌याउदै खाली भित्ता र पुलका छातीहरू भरी सपना र आश्वासन बाट जन्मिएका हृदयका मिठा कहावत हरुलाई पोतेर रङ्गीन बनाएका यादहरू म संग छन्।

हामी आफु पुच्छर भयौँ त्यसकारण गलत दिशा मा अग्रसर टाउको को पुच्छर भएर कदापी सही ठाउँमा पुग्न सकिदैन भन्ने मेरो विचार लाई भरपुर मलजल गर्ने एक तप्काले मलाई देखाएको अपनत्व ले मलाई साचिक्कै प्रभावित पारेको र म त्यतै तिर अग्रसर भएर खटेको निमुखा र सर्वहारा अनुभव म सँग छ। दिनभरी को खटन पटनको पश्चात भात खान पाउनु पर्छ भन्ने मानसिकताले खाएको भात नितान्त मेरो आफ्नै थियो । यसका साथै अन्य निरिह र गाई चरित्रे अनुभव पनि म संग छन्। जिवनको उत्तरार्धमा मेरा बुवा आमाले के खालान र मैले भविष्य मा कसरी अगाडी बढौँला भन्ने जस्ता अति महत्वपूर्ण सोचलाई दोश्रो दर्जाको संज्ञा प्रदान गर्दै सम्पुर्ण रुपले उ र उसकै खातिर होमिएको एकदमै दिलदार अनुभव पनि म सग छ । प्रजातन्त्र , लोकतन्त्र अनि समाजबाद को सैद्धान्तिक पक्षको समेत प्रयाप्त ज्ञान नभएको म गरिब पारिवारिक पृष्ठभुमीका कारण उनैलाई आफ्नो भाग्य विधाता ठान्दै आँखा चिम्लेर उनको पथ पछ्‌याएको र चुनावको भोलीपल्ट आफन्त र आसे पासे लाई काखी च्यापेर मेरो मुलभुत र ब्यबहारीक भलाकुसारीको लागी पनि एक पटक फोन नउठाएको तितो अनुभव म संग छ।

मेरी आमाको अस्मिता जतिक्कै प्यारो लाग्ने त्यो पार्टीको चुनावी अस्तित्व लाई बचाएकै दिन देखि म उसको निम्ती बिरानो भएको क्षण अहिले पनि मेरो मनसपटलमा ताजै छ। कुनै पनि राजनितिक दल गठन हुदाँ रणनिती र भावी कार्यदिशा कागजमा चित्रण गर्न नैतिकता हैन शाब्दीक ज्ञान भए पुग्छ भन्नेकुरा अब बुझ्नै पर्छ । तसर्थ कुनैपनि पार्टी र संगठनको आचार संहिता घोषणा र कार्यनीती नराम्रो हुदैन तर कालान्तरमा त्यसको प्रयोग तहमा को पुग्छ भन्ने कुराले ठुलो अर्थ राख्छ । बर्तमानमा प्रतिपक्ष का कारण उद्वेलित सोचका परिणाम स्वरूप फल्याकिएको चर्को र चिप्लो भाषण को पछाडी लागीए फेरी अर्को ५ वर्ष पुर्पुरो मा हात लगाउनु पर्ने अबस्था नआउला भन्न सकिन्न । गणेशमान , गीरिजा, पुष्पलाल होस् वा कुनै अन्य नेताका अवशेष का रूपमा आफुलाई प्रमाणित गर्न खोज्दै बर्तमानमा सत्ताको बागडोर सम्हालन खोज्ने प्रपन्च रचिरहेका महोदय हरुलाई समयमै चिन्न सक्नुपर्छ । हामी धेरै पटक झुक्याइएका छौँ । कतै जातियता का नाम मा त कतै लैड्गीकता का नाममा , कतै क्षेत्रियताका नाम मा त कतै धर्मको नाममा तर अव हामी झुक्किनु हुदैन ।

अप्रान्त त्यस्ता मनगडन्ते, कपोलकल्पित र भ्रमात्मक उर्दीका पछाडी पटक्कै नपर्नु हाम्रो बुदीमानी होला।५ वर्षमा हामी केवल हामी एक पटक सार्वभौम बन्छौँ तर त्यति खेरै हामी मासु को चोक्टो र रक्सी को प्याला मा बिक्छौं । अनि त्यसरी चुनिएको नेतृत्व वाट हामी देश र समाज रुपान्तरणको आस गर्छौँ ।

अबको निर्वाचन मा विगत्‌को जस्तो नहोस् , समाज र समयले जन्माएको युवाले चुनाव जितोस भन्नका लागी सर्वप्रथम तपाई हामी सचेत हुनु जरूरी छ । चुनाव लगत्तै अनेक थरी नाटक गर्दै सस्तो लोकप्रियता को लागी जनता सँगै छु भन्ने तर बास्तविक सर्वहारा जनताको प्राप्यता भित्र नअटाउने ठालु हरू लाई अवको निर्वाचन मा पाखा लगाउनु को विकल्प छैन । लोकतान्त्रीक गणतन्त्र को सफल प्रयोग पछि हामीले आफ्नो हित अनुकुल मान्छे छान्नु पर्छ । एक पटक गहिरो संग विचार गरेर मात्रै आफ्नो अमुल्य मतको सदुपयोग गर्ने प्रतिवद्धता का साथ मेरा सुभचिन्तक हरुमा पनि अनुरोध गर्न चाहन्छु ।

नरेन्द्र जोशी ,शुक्लाफाँटा – १ ,गणेशपुर कञ्चनपुर

प्रतिक्रिया दिनुस