सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहका सरकारले असार १० गते आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । डोटीको बोगटान फुडसिल गाउँपालिका, बाजुराको बूढीगंगा नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिका बाहेक अरू सबैले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

बाजुराको बूढीगंगा नगरपालिकामा निर्वाचन भएको छैन भने कार्यपालिका समितिमा अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेपछि बोगटान फुडसिल गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेको हो । यसैगरी अछामको पञ्चदेवल विनायक नगरपालिकामा जेठ २० गते किशोर विनोद शाही मृत अवस्थामा भेटिएपछि त्यहाँको अवस्था शान्त हुन सकेको छैन ।

कांग्रेसबाट मेयरमा निर्वाचित अम्बिका चलाउनेविरुद्ध हत्या गरेको आरोपमा किटानी जाहेरी दर्ता गरेका कारण पञ्चदेवल विनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेको हो । मेयर चलाउने प्रहरीको फरार सूचीमा हुुनुहुन्छ ।

यसैविच ९ स्थानीय तह रहेको कञ्चनपुरमा भीमदत्त नगरपालिकाले सबैभन्दा बढी १ अर्ब ८४ करोड रुपैयाको बजेट पारित गरेको छ । वेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाले ७० करोडदेखि १ अर्ब रुपैयाको हाराहारी बजेट पारित गरेका छन् ।कञ्चनपुरका दुई गाउँपालिकाहरु रहेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले ४८ करोड रुपैया र लालझाडी गाउपालिकाले ५३ करोड रुपैयाको बजेट पारित गरेका छन् । यस्तै कैलालीका पनि सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति, कार्यक्रम र बजेट ल्याएका छन् । यसैगरी डडेल्धुराको अमरगढी नगरपालिकाले कुल ६३ करोड ९६ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ । अमरगढी नगरपालिकाले पर्यावरण संरक्षण, नगर सरसफाइ, सुशासन र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ ।

पर्यावरण संरक्षण र डडेलधुरालाई सुन्दर नगर बनाउने योजनाअन्तर्गत बजेट पनि त्यहीअनुसार बनाइएको डडेल्धुरा जिल्लाको सदरमुकाम समेत रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले जानकारी दिनु भयो । परशुराम नगरपालिकाले पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ ।

७८ करोड ४८ लाख ३४ हजार कुल बजेट रहेको परशुराम नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा विगतभन्दा पृथक योजना छैनन् । डडेल्धुराको गन्यापधुरा गाउपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि कुल ३८ करोड ३ लाख रुपैया बजेट ल्याएको छ । बझाङको जयपृथ्वी नगरपालिकाले ५५ करोड २९ लाख ८१ हजार बजेट प्रस्तुत गरेको छ । बैतडीको पुर्चौडी नगरपालिकाले ६५ करोड २२ लाखको बजेट ल्याएको छ ।

नगरपालिकाले मुख्य सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको जनाएको छ । यस्तै बैतडीकै पाटन नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेका छन् । ती पालिकाहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता राखेर बजेट ल्याएका छन् । डोटीको केआईसिंह गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ४० करोड ६३ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

साथै अछामका १० स्थानीय तहमध्ये नौ स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । साँफेबगर नगरपालिकाले १ करोड रुपैयाँ बयलपाटा अस्पताललाई विनियोजन गरेको छ । नगरपालिकाभित्रकै अस्पताल भएको र लामो समयदेखि अस्पतालमा आर्थिक अभाव हुन थालेपछि साँफेबगर नगरपालिकाले १ करोड रुपैया बजेट विनियोजन गरेको हो । यसैगरी दार्चुलाका सबै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट ल्याएका छन् । दार्चुला जिल्ला सदरमुकामको महाकाली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

कृषिको विकासका लागि कोल्ड स्टोर निर्माण र यसबाट बेरोजगारी समस्या समाधानका लागि विशेष ध्यान दिइने उल्लेख छ । अन्य स्थानीय सरकारले पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता राखेर बजेट ल्याएका छन् । ९ स्थानीय सरकार रहेको बाजुरामा बूढीगंगा नगरपालिका बाहेक अरू स्थानीय सरकारले बजेट ल्याएका छन् । बाजुराको त्रिवेणी नगरपालिका, बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, गौमूल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाले बजेट ल्याएका छन् ।

प्रतिक्रिया दिनुस