यस पटक जनताको न्यून सहभागितामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन कार्य सम्पन्न भएको छ । नेपाली कांग्रेसका थिङ्क ट्यांक मानिने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले विगत ३१ वर्षयताकै निर्वाचनप्रति जनतामा निकै कम उत्साह देखिएको टिप्पणी गरेका छन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विगतमा भन्दा यसपटक निर्वाचनमा जनताको सहभागिता निकै कम देखिएको बताएका छन् ।

सयभन्दा बढी बुथमा विवाद र झडपका कारण मतदान स्थगित भएको छ । देशैभर प्रहरीले ५० राउण्डभन्दा बढी हवाइ फायर गरेको छ । प्रहरीकै गोली लागेर आधा दर्जनभन्दा बढी घाइते भएका छन् । सयभन्दा बढी ठाउँमा बम भेटिएको छ । कतिपय ठाउँमा बम विष्फोट हुँदा मतदाताहरुको भागाभाग भएको छ । यसबीच, भएको मतदानमा दिउँसो साढे ३ बजेसम्म ४६ प्रतिशत मत खसेको निर्वाचन आयोगले दावी गरेपनि मतदान अत्यन्तै न्यून भएको छ ।

मतदान अत्यन्तै न्यून भएपछि यतिखेर निर्र्वाचनको वैधानिक हैसियतमाथि नै प्रश्न उठ्न सक्ने टिप्पणीहरु हुन थालेका छन् ।
जनसंख्याको आधा जति मात्र मतदाता हुने । ती मतदातामध्ये पनि आधा मात्र भोट हाल्ने स्थिति देखिएपछि निर्वाचन बहिस्कार (नो भोटको) पक्षमा बहुमत देखिने टिप्पणी पनि सुरु भएको छ ।

काठमाडौँ सहित देशका मतदान केन्द्रमा मतदान गर्ने मतदाताको संख्या विगतका निर्वाचनमा भन्दा निकै कम देखिएको छ । विगतका निर्वाचनमा भिडभाड हुने मतदान केन्द्रहरू १२ बजेसम्म खाली थिए । काठमाडौँ जस्तै प्रदेश नम्बर १, मधेश प्रदेश तथा अन्य प्रदेशहरूमा समेत मतदाताहरू मतदानका लागि निकै कम संख्यामा मतदान केन्द्रमा पुगेको हाम्रा सहकर्मीहरुले जानकारी दिएका छन् ।
२०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा ६८.६६७ प्रतिशत मत खसेको थियो । त्यसैगरी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ६५.०७४ मत खसेको थियो ।

२०७० सालमा भएको दोस्रो संविधानसभामा ७८.७४ प्रतिशत मत खसेको थियो ।त्यस्तै २८ चैत २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ६१.७० प्रतिशत मत खसेको थियो ।
त्यसैगरी २०५६ वैशाख २० गते र जेठ ३ गते दुई चरणमा सम्पन्न भएको निर्वाचनमा ६५.७९ प्रतिशत मत खसेको थियो। करिब १ करोड ३५ लाख १८ हजार ८३९ मतादाता रहेकोमा ८८ लाख ९४ हजार ४४ मतदाताले मात्र मतदानमा सहभागिता जनाएका थिए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत मत खसेको थियो । करोड २३ लाख २७ हजार ३२९ मतदाता रहेकामा करिब प्रतिशतले मात्रै मतदान गरेका थिए ।

३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४८ वैशाख २९ गते नेपालको इतिहासमा भएको निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो । उक्त निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए ।

नेपालकै इतिहासमा पहिलो पटकको आम निर्वाचन २०१५ फागुन ७ गते शुरू भएर विभिन्न चरणमा ४५ दिन लगाएर सम्पन्न भएको निर्वाचनमा ४२.१८ प्रतिशत खसेको थियो । ४२ लाख ४६ हजार ४६८ मतदाता रहेकोमा १७ लाख ९१ हजार ३७२ ले मात्र मतदान गरेका थिए ।
यसपटक मत कम खसेपछि विहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिए पनि कतिपय ठाउँमा साँझ ७ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
समग्रमा यस पटकको निर्वाचनले पुनः पुष्टि गरेको छ कि जनता संसदीय व्यवस्थाको विकल्प चाहन्छन् । संसदीय व्यवस्था, संसदवादी राजनीतिक पार्टीहरुप्रति जनतामा तीव्र घृणा र आक्रोश छ । जनता व्यक्तिको विकल्प मात्र होइन, व्यवस्थाकै विकल्प चाहन्छन् । तसर्थ, जनताले यसपटक संसदवादी पार्टीका भ्रष्ट र दलाल नेताहरुलाई गतिलो सबक सिकाउने गरी आफ्नो मतको बहिस्कार गरेका छन् ।

प्रतिक्रिया दिनुस