कैलाली,२७ भदौ । कैलालीको कैलारी गाउँपालिकामा पर्ने मोहनपुर, हौसलपुर र शिरत्नपुर गाउँका बासिन्दालाई बर्खायाममा आफ्नै देशका अन्य बस्ती पुग्न समस्या हुने गरेको छ । नेपाल–भारत सीमानामा बग्ने मोहना नदी पारी पर्ने यी बस्तीका बासिन्दा बर्खायाममा वारी आउन नपाउँदा भारतमा निर्भर हुनु परेको छ । कैलारी गाउँपालिका–३, मोहनपुरका बीरमल चौधरीले गत साउन २८ गते चार वर्षीया छोरी आयुस्मा गम्भीर बिरामी हुँदा सहज रुपमा धनगढीका अस्पताल ल्याउन पाएनन् । बीरमलले बिरामी छोरीलाई उपचारका लागि नजिक पर्ने धनगढी बजार पु¥याउन निकै सास्ती खेप्नु पर्यो । उनको गाउँबाट धनगढी २५ किलोमिटरको दुरीमा पर्छ । धनगढी आउन भने उनले भारतको पलियाको बाटो भएर करिब ८५ किलोमिटर घुम्नु पर्यो ।

तीनतिर भारतीय सीमाना रहेको सीमावर्ती गाउँ मोहनपुरबाट नेपालतर्फ उत्तरमा मोहना नदी छ । नदी तरेपछि तीन सय मिटरको दुरीमा हुलाकी राजमार्ग पर्छ, जुन धनगढीसम्मै कालोपत्रे छ । तर नदी तर्न नसक्दा धनगढी जान भारतीय बाटो प्रयोग गर्नु परेको बाध्यता बीरमलले सुनाए । गाउँ नजिकको भारतीय बजार चन्दन चौकीबाट भारतीय नम्बर प्लेटको गाडी बुकिङ्ग गरेर बिरामीलाई धनगढीसँगै जोडिएको गौरीफण्टा नाका ल्याइएको थियो । ‘नदीमा अत्यधिक बाढी थियो, त्यसैले डुङ्गा चलेन । नदी तर्न नसकेपछि एक घण्टा लाग्ने धनगढी पुग्न अर्काको देशको बाटो भएर तीन–चार घण्टा यात्रा गर्नु प¥यो ।’ चौधरीले भने, ‘छोरीलाई नाकबाट रगत आउने र पेट अत्यधिक दुख्ने समस्या थियो । समयमै अस्पताल पु¥याउन नसक्दा के पो हुन्छ भनेर आत्तिएका थियौँ, तर दुख पाए पनि भाग्यवश त्यस्तो अप्रिय केही भएन ।’ हुलाकी बाटो जाँदा बढीमा पाँच सय खर्च लाग्नेमा भारतीय बाटो प्रयोग गर्नु परेकाले २५ हजार रुपैयाँ खर्चसँगै सास्ती भएको चौधरीले बताए।

मोहना नदी पारी पर्ने मोहनपुर गाउँका बासिन्दाले भोग्दै आएको सास्तीको यो एउटा प्रतिनिधि उदाहरण हो । नदीमा पुल नहुँदा त्यहाँका बासिन्दा बर्खायाममा निकै कष्टकर जीवन बिताउन बाध्य छन् । बर्खामा बाढीले उर्लने नदी तर्ने बिकल्प नभएपछि उनीहरु नेपाली बस्तीसँग सम्बन्ध विच्छेदको अवस्थामा हुन्छन् । नदी तरेर वारी आउन समस्या हुने भएकाले दैनिक उपभोग्य बस्तु किनमेल, सामान्य औषधी उपचारलगायत कामका लागि भारतीय बजारमा निर्भर हुनुको विकल्प नरहेको स्थानीय बताउँछन् । गम्भीर बिरामी, सुत्केरीलाई भारतीय बाटो भएर धनगढी पु¥याउनुपर्ने अवस्था छ । नदीमा पुल नभएकाले बर्खायामका धेरै दिन गाउँमै थुनिएर बस्नुपर्ने बाध्यता रहेको स्थानीय सैतुराम चौधरीले बताए । नेपालतर्फ आवतजावत बन्द र किनमेलमा भारतीय बजार निर्भर हुनु पर्दा बर्खामा आफ्नै देशका अन्य बस्तीहरु बिरानो लाग्ने गरेको उनले सुनाए । ‘नदीमा बढी बाढी आएको बेला गम्भीर बिरामी र सुत्केरीलाई पनि अस्पताल लैजान सक्दैनौँ ।’ चौधरीले भने, ‘सरकारले सीमाको बस्तीको विकासलाई ध्यान दिएन, त्यस्ता दुखका बेला हामी नेपालीनै होइनौँ कि लाग्छ ।’

नदी वारी गाउँपालिका केन्द्रसमेत रहेको हसुलिया बजार पर्छ । धनगढी पनि धेरै दुरीमा छैन । तर स्थानीय बासिन्दा बिरामी हुँदा उपचारका लागि यी बजार सहज रुपमा आउन पाउँदैनन् । बिरामी तथा कतिपय अत्यावश्यक काम पर्दा गाउँपालिका कार्यालय र अन्यत्र जानका लागि स्थानीयले नदीमा एउटा डुङ्गा राखेका छन् । तर नदीमा बाढी कम भएको बेलामात्र डुङ्गा चल्छ, अरुबेला बन्द हुन्छ । ‘नदीमा बाढी प्राय घट्दैन । चुरेमा पानी पर्दा पनि मोहनामा बाढी उर्लिन्छ ।’ बीरमलले भने, ‘डुङ्गा पल्टने डर हुने भएकाले नगइ नहुने कामबाहेक जोखिम मोलेर वारीपारी गर्दैनौँ ।’ मोहना नदीको बाढीले गाउँ डुवान भएपछि स्थानीय भारतीय जंगलमा पुग्छन् ।

मोहनपुरबासीजस्तै सास्ती भोग्न बाध्य छन्, कैलारी–३, कै शिवरत्नपुरका गाउँका बासिन्दा पनि । मोहना नदी पारी पर्ने यो गाउँ पनि तीनतिर भारतीय दुधुवा नेशनल पार्कको जंगलले घेरिएको छ । वारी नेपालतर्फ आउन नदीमा पुल छैन । मोहना नदीमा बाढी बढेकाले स्थानीयले गत बुधबारबाट वारी आउन पाएका छैनन् । बाढी आएकाले आवतजावत पूर्ण बन्द रहेको स्थानीय कमल चौधरीले बताए । ‘बर्खाको अधिकांश समय यस्तै समस्या भोग्नु पर्छ । उनले भने । नेपालतिर आउन नपाएपछि खाद्यान्न, उपभोग्य बस्तु किनमेल गर्न स्थानीय सीमावर्ती भारतीय बजार जान्छन् । अत्यावश्यक काम पर्दा नदीमा बाढी घटेको बेलामात्र वारी आउँछन् । गाउँदेखि नदीसम्म र नदी तरेपछि हुलाकी राजमार्गसम्म पुग्ने बाटो हिलाम्य भएकाले डुङ्गा चल्दा पनि स्थानीयलाई वारीपारी गर्न कठीन छ । शिवरत्नपुरका भल्मन्सा राजु चौधरी सरकारको व्यवास्ताले आफूहरु भारत निर्भर हुनुपर्ने बाध्यता रहेको बताउँछन् । वर्षौँअघि बस्ती बसे पनि सरकारले झोलुङ्गे पुलसमेत नबनाइदिएको उनको गुनासो छ । ‘बर्खामा त हरेक कुरामा भारत निर्भर हुनुपर्छ । झोलुङ्गे पुल भए धेरै सुविधा हुने थियो ।’ उनले भने, ‘नदी तर्न डुङ्गाको विकल्प छैन । बाढीले डुङ्गा नियमित चलाउन सकिदैन ।’

वडा तथा गाउँपालिका कार्यालय नदी वारी पर्छन् । वडा र गाउँपालिका कार्यालयमा काम परिरहने भए पनि जान सहज नरहेको स्थानीय कमल चौधरीले बताए । ‘पल्टिने डरले बालबालिका, महिला, वृद्धवृद्धा बर्खामा प्राय पारी जाँदैनन् ।’ उनले भने । नदी तरेपछि करिब दुई किलोमिटर सडक हिलैहिलो छ । बर्खाबाहेक अरुबेला नदीमा पानीको सतह घट्ने भएकाले ओहोरदोहोरका लागि काठेपुल बनाइन्छ । किनमेलका लागि भारतीय बजारमा ओहोरदोहोर गर्न पनि सहज नरहेको स्थानीयको भनाइ छ । ‘सीमावर्ती बजार चन्दनचौकी जाँदा भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गर्ने, सामान ल्याउन नदिने, सीमा पोष्ट सफा गर्न र दाउरा चिर्न लगाउँछन् ।’ शिवरत्नपुरका एक स्थानीयले भने, ‘गाउँमा आएर कुटपिट गर्ने, महिलालाई नराम्रो नजरले हेर्न खोज्छन् । किनमेल गर्न भारतीय बजारमै जानुपर्ने भएकाले ज्यादति सहेर बस्नुपर्ने बाध्यता छ ।’ नेपालतिर आवतजावत सहज भए भारतको निर्भरता घट्ने भएकाले ज्यादति कम हुने उनले बताए ।

मोहनपुरमा ८८ र शिवरत्नपुरमा ८४ घरधुरी छन् । यी गाउँमा न स्वास्थ्य चौकी छ न खोप केन्द्र । आधारभूत तहमाथिको विद्यालय छैन । बर्खायाममा स्वास्थ्यचौकी गएर बालबालिकालाई नियमित खोप लगाउन समस्या हुने गरेको शिवरत्नपुरकी सीता चौधरीले बताइन् । ‘आधारभूत तहमाथि पढ्ने विद्यार्थी बर्खायाममा नियमित विद्यालय जान पाउँदैनन् ।’ शिक्षिका समेत रहेकी उनले भनिन्, ‘हामी आधारभूत सुविधाबाटै वञ्चित छौँ । बर्खामा त हामीलाई आफ्नै देश बिरानो भइदिन्छ ।’ कैलाली जिल्लामा मोहना नदीले नेपाल–भारत सीमाना छुट्याएको छ । कैलारी गाउँपालिकाका तीन गाउँ भने नदी पारी पर्छन् । यी गाउँको तीनतिर भारतीय सीमाना र नेपालतर्फ उत्तरमा मोहना नदी पर्छ । नदी पारीको अर्को सीमा बस्ती हौसलपुरको अवस्था भने मोहनपुर र शिवरत्नपुरभन्दा फरक छ । हौसलपुर भारतीय गाउँसँगै जोडिएको छ । दशगजा आसपास छिमेकमै भारतीयका घर छन् ।

त्यहाँ थारु समुदायका २८ घरधुरी बसोबास गर्छन् । उनीहरु उपचार, अध्ययन, किनमेललगायत सबैजसो कारोबार र व्यवहारमा पूर्णतः भारत निर्भर छन् । नेपाली बस्ती र बजार प्रायः आउँदैनन् । गाउँमा विद्यालय नभएपछि बालबालिका भारतीय विद्यालय जान्छन् । भारतीय विद्यालयमा पढ्ने भएकाले उनीहरु हिन्दीमा पोख्त छन् । घरमा थारु भाषा बोल्ने उनीहरु नेपाली भाषा बोल्न र बुझ्न सक्दैनन् । सानैदेखि हिन्दी भाषा र भारतीय राष्ट्रिय गानमा अभ्यस्त उनीहरु नेपालीपन र नेपाली भाषासँग टाढा छन् । ‘आफ्नो भाषा नेपाली बोल्न रहर लाग्छ । नेपालीमै पढ्ने मन छ ।’ भारतीय बेलापरसवा गाउँस्थित सरस्वती शिशु विद्यामन्दिरमा कक्षा १० मा अध्ययनरत गीता कठरियाले भनिन्, ‘सानैदेखि हिन्दी भाषामा पढेकाले नेपाली भाषा थाहा थिएन ।’

बालबालिकामात्र होइन, उनीहरुका अभिभावक पनि नेपाली भाषा बोल्न जान्दैनन् । गाउँका भल्मन्सा टीकाराम चौधरीका अनुसार २८ परिवारका दुई सय पाँचमध्ये नेपाली भाषा बोल्न जान्ने तीन जनामात्र छन् । उनीहरुसँग नेपाली नागरिकता छ तर सरकारी सुविधाबाट वञ्चित छन् ।हौसलपुरको पूर्वमा भारतीय बेलापरसवा गाउँ तथा दक्षिण र पश्चिममा भारतीय दुधुवा नेशनल पार्क पर्छ । नेपालतिर उत्तरमा पर्ने मोहना नदीमा पुल छैन । त्यसैले त्यहाँका बालबालिकाहरु नदी पार गरेर नजिकको नेपाली बस्तीमा पढ्न जान सक्दैनन् । वर्षायाममा नदीमा बाढी आउने भएकाले नेपालसँग सम्बन्धविहीन हुन्छ । मोहना नदी तरेर करिब पाँच किलोमिटरको दुरीमा नेपाली रामपुर गाउँ पर्छ । त्यहाँ विद्यालय पनि छ तर नदीमा पुल छैन र विद्यालयसम्म पुग्ने राम्रो बाटो छैन । त्यसैले बालबालिका भारतीय विद्यालयमा पढाउनु परेको बाध्यता स्थानीय सुनाउँछन् । बर्खामा हिलाम्य हुने बाटोसमेत डुवानमा पर्छ । गाउँमा विद्यालय, स्वास्थ्य चौकीलगायत कुनै पनि सरकारी निकाय छैनन् ।

स्थानीय राजकुमार चौधरीले नेपाली भएर पनि आफूहरुले नेपाली हुनुको महसुस गर्न नपाएको बताए । सरकारले आफूहरुलाई कुनै पनि सुविधा नदिएको गुनासो उनले गरे । ‘गाउँमा ३–४ कक्षासम्मको विद्यालय बनाइदिएको भए पनि बालबालिकालाई भारतीय विद्यालय पढाउनु पर्थेन ।’ राजकुमारले भने, ‘मोहना पारीबाट गाउँसम्म आउने बाटो ग्राभेलसमेत गरिएको छैन । बर्खामा हिलो र अरुबेला धुलोले बाटोमा साइकिल पनि चलाउन मिल्दैन ।’ बर्खायाममा आफूहरु नदी पारी आफ्नो खेतबारीमा पनि जान नसक्ने उनले बताए । ‘बोर्डर र नदीबीचको टापुमा छौँ । न इण्डिया जानसक्छौँ न नेपालतिर ।’ चौधरीले भने । नेपाली भूमिको रक्षा गरेका बसेका तीनै बस्तीका बासिन्दासँग जग्गाधनी प्रमाणपूर्जासमेत छैन ।

शिवरत्नपुर गाउँ जोड्न मोहना नदीमा प्रदेश सरकारको बजेटमा झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ तर कोरोनाको कारण देखाउँदै निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ । गत वर्षनै पुल बनिसक्नु पर्ने भए पनि ठेकेदारको लापरबाहीले काम सुरुमात्र भएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताए । हौसलपुर जोड्ने पुल निर्माणका लागि संघ सरकारलाई आग्रह गर्दै आएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष चौधरीले हौसलपुरमा बालकक्षा सञ्चालन गर्ने तयारी रहेको बताए । डुवान र कटानको समस्या रहेकाले मोहनपुर भने बस्ती स्थानान्तरण आवश्यक देखिएका उनले बताए । ‘कि ठूलो बजेटमा तटबन्ध बनाइनु पर्छ, नभए बस्ती सार्नुको विकल्प छैन ।’ अध्यक्ष चौधरीले भने, ‘के गर्ने भनेर संघ र प्रदेशसँग समन्वय गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुस