भारतमा कोरोना महामारी चलेका बेला नेपाल फर्किने नेपालीको संख्या ह्वात्तै बृद्धि भएको थियो । नाका बन्द गरिएको अवस्थामा समेत भारतबाट लुकिछिपी जोखिम मोलेर नेपाली स्वदेश फर्किदै थिए । ११ चैत्रदेखि ११ जेठसम्म औपचारिक रुपमा पश्चिम नेपालको (नेपाल–भारत) प्रवेस द्वार गड्डाचौकी नाका आवागमनमा रोक लगाईएको थियो । तैपनि कञ्चनपुरका अन्य नाकाहरुबाट नेपाली घर फर्किरहेका थिए । स्थानीय प्रशासनले भारतमा अलपत्र परेका नेपालीको उद्दारका लागि भनेर १२ जेठदेखि गड्डाचौकी नाकाबाट प्रवेस अनुमति दिएकै दिन भारतबाट दुई हजार ३ सय ३७ जना नेपालीले स्वदेश प्रवेस गरेका थिए, भने ३ सय ५३ जना भारतीयले भारत प्रवेस गरेका थिए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको वेवसाईटमा राखिएको तथ्याङ्क अनुसार जेठ महिनामा गड्डाचौकी नाका भएर २८ हजार ३ सय ७३ ले नेपाल प्रवेस गरेका छन, भने चार हजार ४८ जनाले भारत प्रवेस गरे । असारमा ५ हजार ४६ ले नेपाल र एक २ सय ४५ जनाले भारत प्रवेस गरेका छन् । साउनमा २ हजार ४ सय ९५ र एक हजार २ सय ४१ र भदौँ तेस्रो सातासम्म एक हजार ७१ ले प्रवेस र ८ सय १८ जनाले भारत प्रवेस गरेका छन् । तथ्याङ्क अनुसार १२ जेठदेखि ९ भदौँ सम्म गड्डाचौकी नाकाबाट भारत प्रवेस गर्नेभन्दा नेपाल प्रवेस गर्नेको संख्यामा उल्लेख्य भएपछि १० भदौँदेखि भारत प्रवेस गर्नेको संख्या बृद्धि भईरहेको छ । १० भदौँमा २६ जना नेपाल र ५४ जनाले भारत प्रवेस गरेका छन् । ११ मा ४३ नेपाल १८ भारत, १२ मा ४३ नेपाल ४५ भारत, १३ मा ४२ नेपाल ५९ भारत, १४ मा २४ नेपाल ४० भारत, १५ मा १७ नेपाल ३९ भारत, १६ मा ६० नेपाल ४३ भारत, १७ मा ३४ नेपाल ३० भारत, १८ मा ७३ नेपाल ४६ भारत, १९ मा ७१ नेपाल ४५ भारत, २० मा ८० नेपाल ५० भारत, २१ मा ८६ नेपाल ६७ भारत, २२मा ५९ नेपाल, ६७ भारत, २३ मा १९ नेपाल र ७१ जनाले भारत प्रवेस गरेका छन् । कोरोना कहरका बेला भारतबाट फर्किएका नेपालीहरु अहिले धमाधम भारत गईरहेका छन् ।

भारतको आधार र राशन कार्ड देखाएर उनीहरु पुन ः रोजगारीका लागि गड्डाचौकी नाका भएर भारत गईरहेका हुन् । नेपालमा रोजगारी नपाएपछि उनीहरु पुनः भारतमै पुरानै रोजगारीका फर्किन लागेका छन् । नेपालमा रोग भन्दा पनि भोकका कारणले समस्यामा परेको भन्दै उनीहरु महामारीकै विचमा भारत जान लागेका छन् । बेदकोट नगरपालिका १० चतहरीका सिद्धार्थ आउजीले लकडाउनका कारण नेपालमा रोजगारी नपाएपछि भारत बस्न लागेको बताए । ‘म गत फागुनमा घर आएको हुँ, ‘उनले भने, ‘पाँच महिनादेखि घरमा बेरोजगार भएर बसेको थिए, काम नपाएपछि फेरी भारत फर्किए ।’ भारतको दिल्ली एक होटलका कार्यरत सिद्धार्थ बेरोजगार भएर बसेपछि बाध्य भएर भारत पसेको बताए । निधारमा दहीटिका लगाएर भारत पस्न लागेका भीमदत्त नगरपालिका ६ ऐठपुरका राज भट्टले नेपालमा महामारी चलेपनि खान लाउन समस्या भएकाले बाध्य भएर भारत जान लागेको बताए । ‘६ महिनादेखि बेरोजगार बसेको थिए, ‘उनले भने, ‘दैनिक घरबार चलाउन मुस्किल भयो, भारत नगई नहुने भयो ।’ नेपालका नेताहरु भाषणमा रोजगारी भनेपनि व्यवहारिक रुपमा कुनै योजना ल्याउन नसक्दा महामारीकै विच विदेशीन बाध्य भएको उनको दुखेसो थियो । झोलाझिम्टी बोकेर सात महिना अघि गड्डाचौकी नाका भएर शुक्लाफाँटा नगरपालिका ४ पिपलाडीका स्थानीय नवराज जोशी आएका थिए ।

‘भारतमा महामारी तिव्र चलेको थियो, उतिबेला सुरक्षित बस्नका लागि घर आए, ‘उनले भने, ‘लामो समयसम्म गाँउमा रोजगारी पाईएन, दैनिक घर गुजारा चलाउन बाध्य भएर फेरी भारत फर्किदैछु ।’ महाकाली नगरपालिका ४दोधाराका धन बहादुर सुनार पनि महामारीका विचमै फेरी भारत पसेका छन् । ‘नेपालमा कुनै रोजगारी छैन, घरधन्दा चलाउन मुस्किल भयो, ‘उनले भने, ‘घरमा बसेर कोरेना भन्दा भोकले मर्नुभन्दा बाध्य भएर विदेशीदैछु ।’ कैलाली टीकापुर नगरपालिका ९का बल बहादुर नेपालीले नेपालमा लकडाउनका बेला आर्थिक समस्या भएकाले घरमा बसेर ऋणमा पर्नुभन्दा बाध्यताबस भारत गईरहेको बताए । उनले उताबाट मालिकले काममा फर्किन कर गरिरहेको भन्दै घरमा बेरोजगार भई खाली बस्नुन्दा विदेशीन लागेको बताए । भारतबाट मालिकले काममा फर्किन बारम्बार टेलिफोन गरिरहेको बेलडाँडी गाँउपालिका १ झर्नासागरका दिपक राज जोशीले बताए । ‘म गत फागुनमै घर विवादमा आएपछि चैत्रमा लकडाउन नै भईसक्यो, जान पाईन्, ‘उनले भने, ‘उताबाट मालिकले काममा फर्किन टेलिफोन गरिरहेको छ, तर जाने कि नजाने भन्ने दोधारमा छु ।’ आधार र राशन काड भएका सबै साथीभाई भारत गईरहेको बताउदै उनले आफु घरयासी कामले जान नसकेको उनले बताए । ‘घर आएदेखि बेरोजगार भएर बसेको छु, ‘उनले भने, ‘न नेपालमा काम छ, न खान पाईन्छ, अब बाँच्नका लागि जोखिम मोलेरै भएपनि भारत जानुपर्ने देखियो ।’ आफुहरुसंगै काम गर्ने केही साथिभाई भारत गईरहेको बताउदै उनले बाध्यताले फेरी विदेशीन लागेको बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समाजशास्त्रका विद्यार्थी कैलाशचन्द गिरीले भारतबाट फर्किएका नेपालीलाई स्वदेशमै रोजगारीका कार्यक्रम सृजना नहुँदा बाध्य भएर महामारीकै विचमा भारत जान लागेको बताए । ‘महामारीकै विचमा विदेशबाट फर्किएका युवालाई सीप अनुरुप रोजगारी वा उत्पादनका काममा लगाउन नसक्दाको परिमाण हो, ‘उनले भने, ‘देशमा तीन तहका सरकारले विदेशबाट स्वदेश फर्किएकालाई उत्पादनमुलक क्षेत्रमा लगाउन सकेनन् ।’ निजी क्षेत्रले पनि महामारीकै विच युवा जनशक्ति भारत बस्नु दुखत भएको बताएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले भारतबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगारीका योजना ल्याउन नसक्दा विदेशिन लागेको बताए । ‘कोरोना कहर कतिन्जेल लम्बिने, हो थाहा छैन, ‘उनले भने, ‘यसको विकल्पमा स्वदेशमै रोजगारीका कार्यक्रम संचालन हुनुपर्छ ।’

भएका उद्योग संचालन र रोजगार सृर्जना गर्ने कार्यक्रम संचालनमा उनले जोडदिए । सरकारले स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्न नसक्दा महामारीकै विचमा नागरिक विदेशीन लागेको उनले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले आधार र राशन कार्ड भएकालाई भारत जान दिन लागेको बताए । ‘हामीले सीमा क्षेत्रमा नेपाल भारत प्रवेसका लागि प्रमाण हेछौँ, ‘उनले भने, ‘त्यही अनुसार जाने आउनेक्रम चलेको छ ।’ प्रमाण भए नेपाली हौँ, भनेर रोक्न नमिल्ने उनको भनाई छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले महामारीका बेला मातृभूमि पुगेर पुन विदेशीन बाध्य भएका युवालाई स्वदेशमै रोजगारी दिलाउनका लागि स्थानीय तहका प्रमुखसंग समन्वय गरेर अघि बढ्ने बताए । ‘यो विषयमा जिससले सबै मेयर ज्यूसंग एक पटक गम्भिर छलफल गरेर अघि बढ्छ, ‘उनले भने, ‘युवाका लागि स्थानीय स्तरमै रोजगारी दिनुपर्छ ।’ महामारीकै विचमा गुजाराका लागि विदेशीने बढेको विषयमा लज्जा र दुखत विषय भएको बताईरहेका छन् ।

प्रतिक्रिया दिनुस